२५ बैशाख २०८१, मंगलवार

 

नेपाली भाषा अध्ययन गर्न भारत आउनुपर्ने अवस्था छ

प्राध्यापक, डा. दिवाकर प्रधान, नेपाली भाषा
(काशी हिन्दु विश्वविद्यालय, वाराणासी ) ।

‘भारतमा केही नाम मात्रका विश्वविद्यालयले नेपाली भाषालाई मान्यता दिएर उपाधि बाँडिरहेका छन् । उनीहरूले नेपाली विद्यार्थी भर्ना गरेर व्यापार चलाइरहेका छन् । नेपालीभाषी प्राध्यापक र विभागविनै दिइने डिग्री आफैंमा विश्वसनीय छैन । ती विश्वविद्यालयका डिग्री शंकास्पद नै छन् ।

भारतमा नेपाली भाषा अध्ययन–अध्यापनको अवस्था कस्तो छ ?
भारतमा नेपाली भाषाको अध्ययन–अध्यापनको कुरा गर्दा विगतमा फर्किन कर लाग्छ । त्यसो त नेपालका विश्वविद्यालयमा भन्दा पहिले नै भारतका विश्वविद्यालयमा नेपाली भाषाको अध्ययन–अध्यापन सुरु भएको हो । पहिलोपटक सन् १९१८ मा कलकत्ता विश्वविद्यालयले नेपाली भाषा अध्ययन-अध्यापनको अनुमति दिएको पाइन्छ । विश्वविद्यालयले स्नातक तहमा पहिलोपटक नेपाली भाषा अध्ययनको अवसर दिएको हो ।

सन् १९१५ मा प्रथम विश्वयुद्ध सुरु भइरहँदा विश्वविद्यालयमा वार्षिक कार्यक्रम थियो । त्यतिन्जेल भारतमा नेपालीभाषीले हिन्दीमा अध्ययन गर्नुपर्ने बाध्यता थियो । ब्रिटिस कालमा पनि भारतका विश्वविद्यालयमा सबै भाषीलाई एक विषय मातृभाषा अध्ययन गर्न पाउने अधिकार थियो । त्यति बेला पारसमणि प्रधान कलकत्ता विश्वविद्यालयमा स्नातक (बिए) अध्ययनरत छात्र हुनुहुँदो रहेछ । अन्य भाषाभाषीले मातृभाषामा अध्ययन गरिरहेको देखेका प्रधानले नेपाली भाषामा पनि पाउनुप¥यो भनेर माग गर्नुभएछ ।

पश्चिम बंगालका दार्जिलिङ, कालिम्पोङलगायत क्षेत्रमा नेपालीभाषीको बाहुल्य थियो । असम र डुअर्स क्षेत्रमा पनि नेपालीभाषी थिए । त्यसो त सन् १९०५ मा मात्र पश्चिम बंगालले छुट्टै राज्यको दर्जा पाएको थियो । दार्जिलिङमा कादम्बरी नामक कविको ‘वीर’ कविता पाठ गरेर नेपाली साहित्य समाज गठन भइसकेको थियो । त्यसैको जगमा नेपाली भाषाको विकास गर्न केही भाषाप्रेमी तम्सिए । त्यो उत्साहले मूर्तरूप पायो । समाज पनि गठन भयो ।
भारतमा नेपाली भाषा विकासमा सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधान (सूधपा) को उल्लेख्य योगदान पाइन्छ ।

सन् १९१६ तिर विश्वविद्यालयले नै विद्यालय शिक्षासमेत नियमन र सञ्चालन गथ्र्याे । कलकत्ता विश्वविद्यालयका उपकुलपति र प्रशासक शर्मा अधिकारी दार्जिलिङमा अनुगमनमा आएका बेला प्रधानसहितका केही विद्यार्थी र नेपाली समाजका अगुवाहरूले विद्यालयका प्रधानाध्यापकलाई थाहै नदिई उपकुलपतिलाई सिधै लिखित निवेदन गरेछन्, नेपाली भाषामा पनि अध्ययन–अध्यापन हुन प¥यो भनेर ।

उनीहरूको निवेदनउपर विद्यालय प्रशासनले नेपाली भाषा कुल्ली र दरवानको भाषा हो भनेर सुझाएछ । साथै साँझ विद्यालयका छात्रावास निरीक्षण गर्ने क्रममा आउँदा एक नेपालीभाषी विद्यार्थीले कुल्लीको भाषा भन्ने प्रअलाई कुहिनाले हिर्काएर लडाइदिएछन् । स्थिति अस्वाभाविक बन्न पुग्यो । तर पनि छात्रावासका निरीक्षक (सुपरिटेन्डेन्ट) ले ती विद्यार्थीलाई माफ गरिदिए । कारण, अघिपछि नेपाली विद्यार्थी इमानदार कहलिएका थिए ।

त्यसै बखत कलकत्ताबाट आएका उपकुलपतिले नेपाली विद्यार्थीलाई भनेछन्– ‘तिमीहरूले आफ्नो मातृभाषाको मायाले गर्दा त्यसो गरेका हौं । म बुझ्छु तिमीहरूको भावना ।’ साथै क्षमा पनि गरिदिएछन् । नेपाली विद्यार्थीलाई थप हौसला दिँदै भाषा अध्ययनको छलफलका लागि कलकत्ता बोलाएछन् ।

त्यति बेला को–को कलकत्ता पुगे ?
नपुग्ने कुरै भएन । प्रधानसहितको टोली केही दिनपछि कलकत्ता पुग्यो । नेपाली भाषा अध्यापनको अनुमति दिनेबारे पूर्वसर्तअनुसार छलफल सुरु भयो । त्यस क्रममा उपकुलपतिले जिज्ञासा गरेछन्– तिमीहरूसँग नेपाली भाषामा व्याकरण छ ?
विद्यार्थीसहितको प्रतिनिधिमण्डलले श्री ६ हेमराज गुरुले चन्द्रिका व्याकरण निकाले देखाएछन् । त्यो ठूलो थियो, उनले हुँदैन भनिदिएछन् । तत्कालै अर्काे सोमनाथ सिग्देलको मध्यचन्द्रिका व्याकरण देखाएछन् । फेरि सोधेछन्– तिमीहरूसँग नेपाली भाषाको पत्रिका छ ? टोलीले छ भन्दै झोलामा रहेको ‘जन्मभूमि’ मासिक पत्रिका देखाएछन् ।

त्यो पत्रिका पूर्ण साहित्यिक सामग्रीको थियो । रस, रंग र मायाप्रेमका सामग्री मात्र थिए । उपकुलपतिले यस्तो पत्रिका त विद्यार्थीले पढ्ने होइन भनिदिएछन् । विद्यार्थीले पढ्ने पत्रिका त नीति तथा उपदेशसहितको हुनुपर्छ भनेर सुझाएछन् । पठन–पाठनको कुनै सामग्री नै छैन, कसरी अध्ययन÷अध्यापनको अनुमति दिनु भन्दै सम्भावनाको ढोका बाँकी राखेर फर्काएछन् । पहिलोपटकको प्रयास सफल हुन सकेन । प्रधानलगायतले भाषा अध्ययनको अनुमति पाउन प्रयास भने जारी नै राखेछन् । त्यत्तिकैमा पहिलो विश्वयुद्ध सुरु भएछ । त्यति बेला नेपाली सेनाले ब्रिटिसका तर्फबाट जापानमाथि जाइलागेको निहुँमा वर्षौंदेखि बस्दै आएका नेपालीलाई बर्माबाट निकाला गरिदिएको रहेछ । त्यस्ता परिवार सिक्कम आएर बसेका रहेछन् । तीमध्ये एक जना शिक्षित व्यक्ति रहेछन् । उक्त बस्तीको नाम नै बर्मा थियो । थापा थरका एक व्यक्ति खर्साङमा आएर बसेका रहेछन् । उनले पत्रिका निकाल्न सम्पादक खोजी गरिरहेका रहेछन् । त्यति बेला नेपाली भाषामा पत्रिकामा काम गर्न सक्ने पारसमणि प्रधान मात्र छन् भन्ने जानकारी पाएछन् ।

प्रधानलाई बोलावट भएछ । उनै थापाको सहयोगमा प्रधानले चन्द्रिका नामक पत्रिका ६ अंक निरन्तर निकालेछन् । त्यही ६ अंक पत्रिका लिएर फेरि पारसमणि कलकत्ता पुगेछन् । पत्रिका उपकुलपतिलाई बुझाएछन् । त्यति बेलासम्म पनि उपकुलपतिलाई नेपाली पाले, कुल्ली हुन् भन्ने छाप नै परेको रहेछ । तर नेपाली केटाहरूले जे भन्यो त्यही गरेको देख्दा उनी प्रभावित भएछन् । एकपछि अर्काे काम गरेर प्रामाणिकता पेस गर्दै गएकाले उनी सोच्न बाध्य भएछन् ।
अंग्रेजी पनि राम्रोसँग बोल्छन् । नेपालीमा पत्रिका निकाल्छन् । त्यो सबै देखेपछि उपकुलपतिको बुझाइमा परिवर्तन आएछ । पारसमणिले पत्रिका बुझाउँदा विश्वविद्यालय सञ्चालक समिति (सिन्डिकेट) सदस्य श्यामाप्रसाद मुखर्जी र सुनीतकुमार चटर्जी पनि साथै रहेछन् ।

मुखर्जी भारतको वर्तमान सत्तासीन पार्टी भाजपाको मातृ संगठन संघका संस्थापकमध्येका एक हुन् । उनीहरूले उपकुलपतिलाई मान्यता दिन सुझाएछन् । त्यसपछि उपकुलपतिले तत्काल नेपाली भाषामा अध्ययनको स्वीकृति दिएछन् । सन् १९१८ जुनमा स्वीकृति प्राप्त भएछ । जुलाईमा कलकत्ता विश्वविद्यालयले पहिलोपटक बिए (स्नातक) तहमा नेपाली भाषा अध्ययनको मान्यता दिएको विगत छ ।

विद्यालयशिक्षामा नेपाली भाषा कहिलेबाट समेटियो ?
विद्यालयतहमा त्यति बेलादेखि नै दार्जिलिङको कालिम्पोङबाट नेपाली भाषा अध्ययन–अध्यापन सुरु भएको पाइन्छ । पहिलो शिक्षक हुने अवसर पनि पारसमणि प्रधानलाई जुरेको पाइन्छ । प्रधानको शिक्षकमा नियुक्तिले यता चन्द्रिका पत्रिकाले पनि जीवन पाइरह्यो । हरिप्रसाद आले नाम गरेका एक जना नेपालीभाषीले प्रधानलाई पत्रिका निकाल्न सघाएका थिए । यता दार्जिलिङमा विद्यालय शिक्षकका रूपमा धरणीधर शर्माको नियुक्ति भयो । १ अप्रिल १९१९ मा धरणीधर शर्माको नियुक्ति भएको पाइन्छ । त्यसरी भारतमा विद्यालय तहमा नेपाली भाषाको अध्ययन–अध्यापन सुरु भएको छ । तर अवसर सबै स्थानमा पर्याप्त रहेन ।

पाठ्यपुस्तक उपलब्धताको अवस्था कस्तो थियो ?
पाठ्यपुस्तक उपलब्धताका बारेमा पनि रमाइलो कथा छ । पारसमणि शिक्षक भएका बेला अंग्रेजी पाठ्यपुस्तक छाप्ने छापागृहका मालिक (ब्रिटिस प्रकाशक) मिस्टर पार्कर र मिसेस पार्कर पश्चिम बंगाल भ्रमणमा आएका रहेछन् । उनीहरू अन्य स्थान भ्रमण गरेपछि दार्जिलिङ आएका रहेछन् । उनीहरूलाई दार्जिलिङ घुमाउने उपयुक्त पात्र खोजी भइरहँदा उनै पारसमणिको नाम सिफारिस भएछ ।

त्यतिखेर दार्जिलिङमा बिजुलीबत्ती विस्तार भइसकेको थियो । झलमल्ल बिजुली देख्दा उनी पनि दंग परेछन् । किनकि भारतका सीमित स्थानमा त्यो सुविधा उपलब्ध थियो । सडक, बाटो अहिलेजस्तो सुविधासम्पन्न थिएनन् । तर पनि बंगाल सरकारले दिएको गाडीमा उनीहरू सम्भवीय स्थान घुम्न सुरु गरेछन् । पहाडी घुम्ती बाटोमा पार्करलाई उल्टी भएछ । त्यसै बखत प्रधानले आफ्नो शिरको टोपी निकालेर पार्करले गाडीमै उल्टी गर्दा थापेछन् ।

त्यो विनम्रताले पार्कर दम्पतीलाई नेपालीको स्वभावबारे जानकारी हुन पुग्यो । गोर्खा मूर्ख सिपाही मात्र हुन् भन्ने बुझाइमा परिवर्तन भएछ । फर्किने बेला प्रकाशक पार्करले प्रधानलाई सोधछन्– ‘तिमी के चाहन्छौ ?’ प्रधानले पनि उनी महसुर प्रकाशक हुन् भन्ने बुझिसकेका रहेछन् । अरू केही नमागी तत्काल ‘पुस्तक लेखेको छु, प्रकाशन गरिदिनुभए आभारी हुने थिएँ’ भनेछन् । पार्करले तत्काल ल्याऊ भनेछन् । उनले आफूले लेखेको पाण्डुलिपि नै बुझाएछन् ।

पार्करले लिएर गए । सन् १९२१ मा नयाँ सत्र सुरु हुँदा पुस्तक प्रकाशनका लागि स्वीकृति (एप्रुभल) नेपालस्थित दरबार हाइस्कुलमा पुगेको रहेछ । दरबार स्कुलका तत्कालीन प्रअ शारदाप्रसाद मुखर्जी र शिक्षा अधिकारी मृगेन्द्रशमशेरले ठीक छ भनेर स्वीकृति दिएछन् ।

कलकत्तास्थित पाठ्यक्रम विकास केन्द्र (डिपिआई) ले पनि स्वीकृति दिएपछि प्रधानको पुस्तक जर्मन प्रकाशनगृहबाट प्रकाशित भएछ । त्यही नै भारतमा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक बन्न पुग्यो । पुस्तक प्रकाशनसँगै सन् १९२१ बाट विद्यालयतहमा समेत विधिवत् रूपमा नेपाली भाषामा अध्यापन सुरु भएको पाइन्छ । पछि सिक्किममा त्यही पाठ्यपुस्तक लगेर पठनपाठन थालिएको पाइन्छ । त्यसो त सन् १८९४ मा हर्षध्वज आलेले नेपाली अध्यापन सुरु गरेका रहेछन् तर त्यहाँका भोटे राजाले मान्यता नदिँदा स्थगित हुन पुगेको रहेछ । सिक्किममा नेपाली पढाउने पहिलो शिक्षक आले हुन् । तर अहिले उनको नाम कुनै साहित्यिक संस्थाले उच्चारण गरेको पाइँदैन । त्यहाँ आलेको कुनै सालिक नै बनेको छैन ।

सन् १९३५ सम्म विद्यालय स्तरमा नेपाली भाषाको अध्ययन विस्तार भएको छ । सन् १९४७ को परिवर्तनपछि सन् १९५२ बाट नेपाली भाषालाई मान्यता दिएर भारत सरकारले नेपालीभाषी भएका क्षेत्रमा छुट्टै अध्यापनको व्यवस्था मिलाएको छ ।

वर्तमानमा भारतका कति विश्वविद्यालयमा नेपाली भाषालाई मान्यता छ ? कतिमा अध्ययन–अध्यापन भइरहेको अवस्था छ ?
संख्या यकिन भएन । भारतमा सबैभन्दा पहिला नेपाली भाषालाई मान्यता दिने इलाहाबाद विश्वविद्यालय हो । सन् १९११ मा नेपाली भाषामा परीक्षाको मान्यता दिएको थियो । कलकत्ता विश्वविद्यालयले सन् १९१८ बाट स्नातक (बिए) तहमा अध्ययन–अध्यापन सुरु गरेको हो । त्यसपछि गुवाहटी विश्वविद्यालयले पनि सुरु ग¥यो । सन् १९४३ बाट काशी हिन्दु विश्वविद्यालयले (वाराणासी) नेपाल–पीठ सञ्चालनमा ल्याएर नेपाली भाषामा अध्यापन सुरु गरेको हो ।

भारतमा ब्रिटिस सरकार रहेको अवस्थामा नै नेपाली भाषाको अध्ययन हुनुलाई कतिपयले शंकाको दृष्टिले हेर्छन् । त्यो शंका भनेको नेपालको राणाशासनविरुद्ध गतिविधि गर्नेहरूलाई पहिचान गर्न नेपाली भाषाको अध्यापन सुरु गराएर राणा सरकारले एक शिक्षकको व्यवस्था समेत गरेको हो भन्ने गरिन्छ ।

जे होस् विश्वविद्यालयमा नेपाल–पीठ सुरु हुनु आफैंमा गौरवको विषय हो । भारतका अन्य भाषामा अध्ययन–अध्यापन हुँदै आएकोमा नेपालीमा पनि हुनुमा नेपाली विद्यार्थी खुसी हुनुपर्छ । त्यसले अध्ययन सहज भएको छ । त्यति बेला काशीमा नेपालीभाषी समाज पनि ठूलो थियो ।

अहिलेसम्म पनि नेपाली भाषाको अध्यापन र अध्ययनलाई विश्वविद्यालयले निरन्तरता दिएको छ । साथै पाँचवर्षे कार्यकालका लागि एक जना अतिथि प्राध्यापक (गेस्ट लेक्चरर) नेपालबाटै नियुक्त गर्दै आएको छ जसले नेपाली भाषाका अतिरिक्त संस्कृतिका बारेमा समेत अध्यापन गराउँछन् ।

त्यसो त पछिल्ला वर्ष भारतमा शिक्षा व्यापारको साधन भएको छ । नेपालका विद्यार्थीलाई लक्ष्यित गरेर उच्चशिक्षा अध्यापन गराउने कतिपय निजी विश्वविद्यालयले विद्यावारिधि तहको अध्यापन नेपाली भाषामै सञ्चालनमा ल्याएका छन् । खास गरी उत्तराखण्ड र राजस्थानसहितका केही विश्वविद्यालयमा त्यो अवसर रहेको जानकारी हुन आएको छ ।

केही नाम मात्रका विश्वविद्यालयले नेपाली भाषालाई मान्यता दिएर उपाधि दिइरहेका छन् । साथै उनीहरूले नेपाली विद्यार्थी भर्ना गरेर व्यापार चलाइरहेका छन् । ती विश्वविद्यालयले कतिपय अवस्थामा नेपालीमा लेखिएका थेसिस जाँच्न अनुरोध गरेर दिने गरेका छन् । तर मैले अस्वीकार गर्दै आएको छु । किनकि नेपालीभाषी प्राध्यापक र विभागविना नै नेपाली भाषामा दिइने डिग्री आफैंमा विश्वसनीय होइन भन्ने मेरो मान्यता छ । ती विश्वविद्यालयका डिग्री शंकास्पद नै छन् ।

भारतमा नेपाली भाषाको अवस्था कस्तो छ ?
भारतमा नेपाली भाषाको अवस्था राज्यअनुसार फरक–फरक छ । पश्चिम बंगालका दार्जिलिङ, सिक्किम, उत्तराखण्डको देहरादुन र पूर्वी राज्यहरू असम, मणिपुरलगायतमा पहिचान र मान्यता प्राप्त छ ।

त्यहाँका विश्वविद्यालयदेखि विद्यालयतहसम्म अध्ययन–अध्यापन हुँदै आएको छ । भाषाले नै नेपाली परिवार बनाएको छ । भारतमा बस्ने नेपाली परिवारले आपसमा पनि नेपाली भाषामै बोली–व्यवहार गर्छन् । तर दुर्भाग्य, नेपालबाट अध्ययन वा रोजगारीमा आएकाहरू नेपाली भाषा जान्दाजान्दै पनि हिन्दीमा बोली–व्यवहार गर्छन् ।

भारतमा नेपाली भाषा अध्यापन गराउने अग्रजहरूलाई स्मरण गर्नुपर्दा ?

भारतमा नेपाली भाषा अध्यापन गराउने अग्रजहरूमा सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, धरणीधर शर्मा अग्रपंक्तिमा आउनुहुन्छ । पछिल्लो समय तुलसी क्षेत्री, लक्ष्मीप्रसाद शर्मा, रघुलाल प्रधान, कुमार प्रधानलगायतको नाम आउँछ । अन्य गुरुजन पनि हुनुहुन्छ । सबैको नाम यति बेला सम्भव भएन ।

नेपाली भाषाको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
नेपाली भाषाको अवस्था कस्तो छ भनेर नेपालका चलचित्र र पत्रपत्रिका हेर्दा जानकारी हुन्छ । दुःखका साथ भन्नुपर्छ नेपाली भाषा वर्तमान समयमा पश्चिमीकरणभन्दा अरबी र उर्दूकरण भइरहेको छ । मौलिक शब्द विस्थापन गरेर अरू भाषाका शब्दलाई नेपालीकरण गर्ने क्रम वृद्धि भइरहेको छ । नेपाली चलचित्र र पत्रपत्रिका अध्ययन गर्न बस्दा उर्दू र अरबी भाषाका शब्दकोश पनि सँगै राख्नुपर्ने अवस्था छ । नेपालमै नेपाली भाषा प्रयोगको अवस्था विकराल र चिन्ताजनक छ ।

अन्य भाषिक समुदायले चाहिँ हाम्रा मौलिक शब्द कत्तिको प्रयोग गर्छन् ?
गर्दैनन् । त्यो अवस्था देख्दा दुःख लाग्छ । नेपाली भाषाको मौलिकता हराउँदै गएको छ । साँच्चै भन्नुपर्दा अहिले नेपाली भाषा अध्ययन गर्न भारतका विश्वविद्यालय आउनुपर्ने अवस्था छ । नेपालमा नेपाली भाषाको अवस्था दयनीय बन्दै गएको छ । पछिल्ला वर्ष नेपालका विद्यालय र विश्वविद्यालयका पाठ्यपुस्तकमा भाषा र नेपाली मौलिक ज्ञानको अभाव देखिएको छ । कारण के–हो, थाहा भएन ।

प्रतिक्रिया दिनुहोस्