२६ असार २०८२, बिहीबार

 

वैंकटेश मन्दिरमा प्रवेशद्वार बनाउन राजभण्डारीले सघाउने

युवा व्यवसायी अशोककुमार राजभण्डारीले बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको वैंकटेश मुक्तिनारायण मन्दिरमा प्रवेशद्वार बनाउन आर्थिक सहयोग गर्ने भएका छन् । उनले बुबा सिंहजंग र आमा दुर्गादेवीको स्मृतिमा प्रवेशद्वार बनाउन लागेका हुन् ।

‘धार्मिक गन्तव्यका रूपमा विकास हुन थालेको नारायण मन्दिरमा बुबाआमाको नाममा केही काम गरौं भन्ने लाग्यो,’ उनले भने । बागलुङ बजार, भोलाटोलमा जन्मघर रहेका राजभण्डारी अहिले राजधानी बस्छन् । मन्दिरका सञ्चालक स्वामी ऋषिले विभिन्न दाताको सहयोगमा पूर्वाधार निर्माण अघि बढिरहेको बताए । ‘पूर्वाधार बनाउँदै जाँदा नेपाली कलात्मक प्रवेशद्वार आवश्यक देखियो, हामीले यसबारे मन्दिरका मुख्य दाता काठमाडौंनिवासी आनन्दप्रकाश राजभण्डारीलाई भनेका थियौं, उहाँले आफ्नो मिल्ने साथी अशोक राजभण्डारीलाई प्रवेशद्वार निर्माणका लागि भनेपछि मन्दिरले यो अवसर पायो,’ उनले भने, ‘हामी धेरै खुसी छौं ।’

प्रवेशद्वारको डिजाइन तयार भएपछि मात्र लागत यकिन गर्न सकिने भएकाले त्यसैअनुसार दातासँग परामर्श गरेर अघि बढ्ने स्वामी ऋषिले जनाए । मन्दिरमा सञ्चालित श्री मुक्तिनाथ वेद विद्याश्रम विद्यालयमा अहिले विद्यार्थीहरू आवास सुविधासहित अध्ययन गरिरहेका छन् । मन्दिरमा शालिग्राम गुफा पनि तयार हुँदै छ ।

उक्त मन्दिरमा समाजसेवी आनन्दप्रकाश राजभण्डारी र श्रीमती कल्पना राजभण्डारी छोराछोरीहरु आकाश राजभण्डारी ,अनुपमा राजभण्डारी र आइसा राजभण्डारीको एक करोड सहयोगमा विभिन्न पूर्वाधार निर्माण भएको छ । उनीहरूले बुबाआमा टीकाबहादुर र विद्यालक्ष्मी तथा काकाकाकी भीमबहादुर र कुलदेवीको स्मृतिमा गरुडको मूर्ति, मण्डप, तामाको छाना, सिंहको मूर्ति निर्माण गराउनुका साथै आँगनमा ढुंगा बिच्छ्याउने काममा सघाइरहेका छन् । यो दम्पतीले वेद विद्याश्रमका विद्यार्थीका लागि दस लाखको अक्षयकोष पनि व्यवस्था गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung