नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले देशका कयौँ स्थानमा बम आतंक मच्चाएको छ। विप्लवका कार्यकर्ताले देशका प्रमुख सहरी क्षेत्रमा रिमोट कन्ट्रोल बम, टाइम बमदेखि कुकर बमसम्म राखेर जनजीवन प्रभावित बनायो । सर्लाहीका इन्चार्ज कुमार पौडेललाई प्रहरीले इन्काउन्टर गरेको विरोधमा आज देशभर बन्दको आबहान गरेको थियो ।
विप्लवका कार्यकर्ताले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शक्तिशाली कुकर बमसमेत राखे तर यो पटक अघिल्लो पटकको बन्दका क्रममाझैँ अप्रिय घटना भएनन्। अघिल्लो पटकको बन्दको अघिल्लो दिन टाइम बम बनाउँदै गर्दा काठमाडौंमा ५ जनाले ज्यान गुमाएका थिए।
बन्दका क्रममा कहाँ के भयो ?
बर्दियामा कुकर बम बन्दका क्रममा विप्लवका कार्यकर्ताले राखेका दुईवटा कुकर बम सुरक्षाकर्मीले फेला पारे। सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्तर्गत डिभिजन वन कार्यालयनजिक एउटा कुकर बम भेटियो।
त्यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गगत कर्तनिया चोकमा अर्को कुकर बम भेटिएको छ । यी दुवै बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनायो। बम भेटिएका स्थानमा कडा सुरक्षा दिएर सेनाको टोलीमार्फत् निष्कृय पारेको छ ।
अर्घाखाँचीमा पनि बम आतंक प्रदेश नम्बर ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पनि चार ठाउँमा बम भेटिए। ती बम नेपाल बन्दलाई लक्षित गरेर जनजीवन त्रसित बनाउन राखिएको थियो । छत्रदेव गाँउपालिका–५ र ७ र मालारानी गाँउपालिका–१ को वडा कार्यालयमा सकेट बम फेला परेको हो ।
तीनवटा वडा कार्यालयसहित छत्रदेव गाउँपालिका–७ को मडेलचौरमा लु १ क २२३८ नम्बरको एक्साभेटरमा भेटिएको सकेट बमलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ ।
यस्तै, जावलाखेलमा बम बन्दका क्रममा राजधानीमा त्रास फैल्याउन ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै बम राखिएको थियो। मंगलबार विहान ७ बजे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले छोडेको प्रेसर कुकर बम भेटिएको हो । प्रहरीका अनुसार खेल मैदान अगाडि होटलको सटरमा भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
यता, काभ्रेका ठाउँ ठाउँमा बम नेपाल बन्दका क्रममा विप्लवका कार्यकर्ताले काभ्रेका विभिन्न ठाउँमा बम राखेका थिए। पनौती र धुलिखेलमा बम भेटिएका हुन्। दुवै ठाउँमा नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्कृय बनाएको छ।
पोखराका पनि बम आतंक पोखराको चाउथेस्थित रचना मस्म खाजा घर नजिकै प्रेसर कुकर बम भेटियो। बिहान करिब ७ बजे यो बमलाई सेनाले डिस्पोज गरेको छ। सोमबार नै प्रेसर कुकर बम भेटिएपछि सुरक्षाकर्मीले उक्त स्थानलाई निगरानी गरेका थिए। पोखराको तालचोक र डाँडाको नाक चोकको बीचमा भेटिएको सकेट बम डिस्पोज गरिएको छ ।
हमाल चोकनजिकै पोलमा तार बेरेर राखेको अवस्थामा भेटिएको सकेट बम सेनाले डिस्पोज गरिसकेको छ ।
कुकरमा बासी भात विप्लव समूहका कार्यकर्ताले झापाको भद्रपुरमा राखेको प्रेसर कुकरमा बासीभात भेटिएको छ। विप्लवका कार्यकर्ताले बम राखेको खबर पाएपछि सेनाको टोली निष्कृय पार्ने क्रममा बासी भात भेटिएको हो। नगरपालिकामा बम झापाको भद्रपुर नगरपालिकाको कार्यालयमा रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको छ। नगरपालिकामा फेला परेको रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम नेत्र विक्रम चन्दनेतृत्वको समूहले राखेको बताइएको छ। मेयर(उपमेयरको कार्य कक्ष चढ्ने सिँढीको तल कालो ब्यागभित्र रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम राखिएको प्रहरी जनाएको छ ।
भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर बजारमै रहेको नगरपालिकाभित्र बम फेला परेपछि स्थानीयमा खैलाबैला मच्चिएको थियो।
उर्लाबारीमा कुकर बम मोरङको उर्लाबारीमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले डिस्पोज गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको क्रममा मंगलबार बिहान उर्लाबारीमा प्रेसर कुकर बम भेटिएको थियो । सेनाको बम डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको छ।
मन्थलीमा सिलिन्डर बम पड्कियो नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले मन्थली बजार क्षेत्र नजिकै ग्यासको सिलिण्डर विस्फोट गरेका छन्। सोमबार राति २ बजे सिलिण्डरमा आगो लगाई विस्फोट गराएको प्रहरीले जनाएको छ। विष्फोटस्थलको निरीक्षण गर्दा टायरमा आगो बालेर ग्यासको सिलिण्डर राखेर पड्काइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मेयरको घरमा बम नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको विदुर–९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो । बन्दको पूर्वसन्ध्यामा विप्लवका कार्यकर्ताले प्रेसर कुकर बम राखेको अुनमान गरिएको छ । बम राखिएपछि मेयरको घर आसपासका बासिन्दा त्रसित भएका थिए। मंगलबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ।
मोरङको बूढीगंगा नगरपालिका बम भेटिएको छ । कैलालीमा पनि बन्दका क्रममा बम विस्फोट भएको छ । गौरीगंगा नगरपालिकाको कार्यालयमा मंगलबार बिहान ४ बजे बम विस्फोट भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। त्यसैगरी नुवाकोटको विदुर नगरपालिकामा पनि बम विस्फोट भएको छ । क्याम्पसमा पड्कियो बम पाल्पाको रामपुरस्थित सहिद क्याम्पस हाताभित्र सोमबार राति अज्ञात समूहले सिलिण्डर बम विस्फोट भएको छ ।
सिलिण्डर विस्फोटमा विप्लवका कार्यकर्ताको हात रहेको अनुमान गरिएको छ। सोमबार राति साढे १० बजे मोटरसाइकल र स्कुटरको टायर बालेर सिलिण्डर विस्फोट गराएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। विस्फोटबाट क्याम्पसको पर्खालमा क्षति पुगेको छ।
अछाममा वडा कार्यालय जलाइयो बन्दका क्रममा अछाममा दुईवटा वडा कार्यालयमा आगजनी भएको छ। पञ्चदेवल विनायक नगरपालिका –३ को वडा कार्यालय र ढकारी गाउपालिका–५ को वडा कार्यालयमा आगजनी भएको हो। पञ्चदेवल विनायकमा आगजनिबाट कार्यालयका सामाग्री जलेर नस्ट भएका छन्। मंगलबार विहान २ बजेको समयमा आगजनी भएको हो। आगजनी भएको करिब १५ मिनेट भित्र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।
बझाङमा पनि आगजनी विप्लवका कार्यकर्ताले बझाङका २ वडा कार्यालयमा आगजनी गरेका छन्। जयपृथ्वी नगरपालिका–३ पडेस र मष्टा गाउँपालिका–१ को वडा कार्यालयमा आगजनी भएको हो। आगजनीबाट जयपृथ्वी नगरपालिका–३ को वडा कार्यालयको ढोका र मष्टा गाउँपालिका(१ को वडा कार्यालयको झ्याल जलेको छ । बुंगल नगरपालिका–११ को वडा कार्यालयमा बम फेला परेको छ। फलामे पाइपमा फिट गरेको अवस्थामा वडा कार्यालयमा बम भेटिएको हो।
उपमेयरको गाडी जलाइयो बन्दका क्रममा विप्लवका कार्यकर्ताले नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी गरेका छन्।
कति परे पक्राउ ?
नेपाल बन्दका क्रममा र अघिल्लो दिन देशभरबाट प्रहरीले विप्लवका कयौँ कार्यकर्तलाई पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले देशभरबाट विप्लवका ७ जना कार्यकर्तालाई पक्राउ गरिएको बताए।
उनका अनुसार राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता भागिराज राई पक्राउ परेका छन् । प्रहरीले नेत्रविक्रम चन्द विप्लवका लागि चन्दा असुलीमा संलग्न एक ट्याक्सी चालकलाई पक्राउ गरेको छ। काठमाडौंको बौद्ध बस्दै आएका खोटाङको मंगलटार गाउँपालिका–६ घर भएका २९ वर्षीय भविराज राईलाई प्रहरीले सुकेधारबाट सोमबार पक्राउ गरेको हो।
रुकुम पश्चिमबाट चारजना पक्राउ रुकुम पश्चिममा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेकपा ४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका(१ सिन्तुबाङबाट उनीहरू मंगलबार पक्राउ गरेका हुन्।
पक्राउ पर्नेमा गाउँपालिका सेक्रेटरीसमेत रहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१, का ४७ वर्षीय, छविलाल घर्ती, युवा संगठन नेपाल रुकुमका उपाध्यक्ष आठबीसकोट नगरपालिका–११ चौरका २२ वर्षीय विवेक विक, पार्टीको जिल्ला समिति सदस्य सानिभेरी गाउँपालिका ३ गरायलाका ३१ वर्षीय दीर्घराज गहतराज र पार्टीको राप्ती ब्यरो सदस्य आठबिसकोट नगरपालिका–११ गोइरीका ४१ वर्षीय गोर्खे कामी (गम्भीर सिर्पाली) रहेका छन्। कास्कीमा लमजुङ सेक्रेटरी समातिए त्यसैगरी कास्कीबाट १ जना कार्यकर्ता पक्राउ परेका छन् ।
नेत्रविक्रम चन्द विप्लव समूहका लमजुङका जिल्ला नेता कास्कीमा पक्राउ परेका छन्। लमजुङ सेक्रेटरी विनोद सोनाम कास्की पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। त्यसैगरी मकवानपुरबाट विप्लवका एकजन कार्यकर्ता पक्राउ परेका छन्।
कति भेटिए शंकास्पद वस्तु र बम ?
प्रहरीका अनुसार देशका विभन्न ४० बढी स्थानमा शंकास्पद बस्तु फेला परेका छन्। जसमा ९ वटा शंकास्पद वस्तु आतंक फैल्याउन होक्स (नक्कली बम) राखेको पाइएको छ। अरु बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको छ। देशका तीन स्थानमा ग्यास सिलिन्डर बम भेटिएका छन्। तीन ठाउँमा सकेट बम भेटिएका छन्।
















































































































































































