काठमाडौं उपत्यकामा शृङ्खलाबद्ध सिरिन्ज आक्रमणमा संलग्न एक युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको विशेष टोलीले ती युवालाई पक्राउ गरेको हो।
रामेछाप घर भइ महाराजगंजमा बस्दै आएका ३० वर्षका सन्तोष कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए। प्रहरीले निकै अनुसन्धान गरेर र आक्रमण भएका स्थानहरुको सिसिटिभी फुटेजका आधारमा कार्कीलाइ पछ्याएको थियो। कार्की बिहीबार राति महाराजगञ्जबाट पक्राउ गरेका हुन्।
काठमाडौंसहित भक्तपुर र काभ्रेमा समेत यस्तै प्रकृतिको घटना भएपछी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानका लागि मातहतको निकायलाई निर्देशन दिएका थिए।
पक्राउ परेका कार्कीले आफुले सिरिन्ज नभइ किलाले युवतीलाई घोचेको वयान दिएका छन्।
अहिलेसम्म पाँच जना युवतीले आफुमाथि आक्रमण भएको उजुरी प्रहरीमा दर्ता गराएका छन् । पक्राउ परेका युवाले हानेको वस्तु सिरिञ्ज नै हो वा अन्य केही हो भन्नेबारे प्रष्ट हुन बाँकी रहेको अनुसन्धानमा खटिएको प्रहरी टोलीले जनाएको छ। ती युवाले किन आक्रमण गरे भन्नेबारे पनि केही खुल्न सकेको छैन।













































































































































































































