राजधानीमा इन्डोनेसियाली बाटिक कपडाहरूको मेला सुरु भएको छ । इन्डोनेसियाली दूतावास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्वारा आयोजित मेला दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबार आरम्भ भएको हो ।
इन्डोनेसियाली राजदूत रिना पी सोएमर्माे र अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा मेला उद्घाटन गरे ।
कार्यक्रममा राजदूत सोएमर्माेले द्विदेशीय सम्बन्धको चर्चा गरिन् । ‘इन्डोनेसिया नेपालको एक हितैषी राष्ट्र हो,’ उनले भनिन्, ‘यी दुई देशबीच धार्मिक, सांस्कृतिकलगायत धेरै क्षेत्रमा असल सम्बन्ध रहिआएको छ ।’
अवैतनिक महावाणिज्यदूत ढकालले पछिल्लो समय इन्डोनेसिया र विशेष गरी त्यहाँको बाली टापु नेपाली पर्यटकको आकर्षक गन्तव्य बनेको बताए । ‘दुई देशबीचका सांस्कृतिक समानतालाई जनस्तरमा पु¥याउन र एकले अर्काे देशका पर्यटकलाई स्वागत गर्न केही वर्षयतादेखि यस्ता सांस्कृतिक आदानप्रदानका कार्यक्रम जारी छन्,’ उनले भने ।
दुई देशका नागरिक एकअर्काे देशमा पर्यटकका रूपमा भित्रिने संख्यामा उल्लेख्य वृद्धि भएकाले आगामी दिन नेपालमा इन्डोनेसियाली लगानी आकर्षित गर्न मद्दत पुग्ने ढकालले बताए ।
उद्घाटनमा इन्डोनेसियाली कला–संस्कृति झल्किने खालका विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेसियाली बाटिकबाट निर्मित पहिरनको ‘फेसन शो’ पनि प्रस्तुत गरिएको थियो ।
आइएमई ग्रुप र यसअन्तर्गत सञ्चालित आइएमई ट्राभल सहआयोजक रहेको मेलामा इन्डोनेसियाली बाटिकद्वारा निर्मित पहिरन प्रदर्शनमा राखिएको छ ।
मेलामा बाटिक कपडाका सौखिनका साथै नेपालमा रहेका इन्डोनेसियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेसियाका ट्राभल एजेन्सीको पनि सहभागिता छ ।
मेला २० गते शुक्रबार साँझ ५ बजेसम्म सञ्चालनमा आउने अयोजकले जनाएको छ ।
















































































































































































