
यस वर्षको म्यागासेसे पुरस्कार भारतीय पत्रकार रवीश कुमारलाई दिइने भएको छ । रोमन म्यागासेस अवार्ड फाउन्डेसनले शुक्रबार उनको नाम घोषणा गरेको हो ।
म्यागासेसे एसियाको नोबेल पुरस्कार भनेर चिनिन्छ । भारतका क्रियाशील पत्रकार रवीश इन्डिया टीभीका वरिष्ठ कार्यकारी सम्पादक हुन् । पुरस्कारका लागि मनोनयनमा परेका पाँचमध्ये दक्षिण एशियाबाट उनीमात्र छनोट भएका छन् ।
भारतीय सत्ताका बारेमा मिडियामा निर्धक्क विश्लेषण गर्न सक्ने पत्रकारमा उनी अग्र पंक्तिमा पर्छन् । निर्वाचनका क्रममा उनले भारतका मिडियामा एकतर्फी अतिवाद रहेको भन्दै २ महिना समाचार च्यानल नहेरे पनि फरक नपर्ने टिप्पणी गरेका थिए । भाजपा सरकारका कट्टर आलोचक रवीशलाई पुरस्कारले थप मनोबल दिएको हुनुपर्ने मिडिया विश्लेषकको भनाइ छ ।
विगतमा नेपालबाट पनि पत्रकार भारतदत्त कोइराला, नेत्रचिकित्सक सन्दुक रुइत र सामाजिक अभियन्ता महावीर पुनले यो पुरस्कार पाइसकेका छन् ।