२३ भाद्र २०८३, मंगलवार

 

रहिनन् भारतीय पूर्वविदेशमन्त्री स्वराज

भारतकी पूर्वविदेशमन्त्री सुषमा स्वराजको मंगलबार राति निधन भएको छ । ६७ वर्षीया उनलाई दिल्लीस्थित निवासमै हृदयघात भएको हो ।

उनी नेपाललाई एक छिमेकी मात्र नभएर आफ्नो आस्थाको घर बताउँथिन् । मन्त्री पदमा रहँदा पनि पटकपटक नेपाल आएकी थिइन् । यहाँ आउँदा हरेक पटक पशुपतिनाथको दर्शन गर्न छुटाउँदैनथिन् ।  निधारमा रातो ठूलो मखमली टीका, सिउँदोमा सिन्दूर, ढाकाको गेरु रंगको धोती उनको पहिचान थियो ।

स्वराज मृगौला प्रत्यारोपण गरिएकी बिरामी भए पनि आफ्नो बिरामीपनलाई कहिल्यै बाहिर देखाइनन् । उनी सधैं सामाजिक सञ्जालमार्फत नागरिकका समस्या समाधान गर्न तत्पर रहन्थिन् । पछिल्ला विदेशमन्त्री एस जयशंकरले पदासीन भएको दोस्रो दिनमै ट्विटरबाट भारतीय नागरिकलाई विदेशमा परेको समस्या समाधान गर्न तत्परता देखाएपछि स्वराजको शैली अपनाएको भनेर चर्चासमेत भएको थियो ।

स्वराजको निधनबाट नेपालले सच्चा शुभचिन्तक गुमाएको छ । ०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला उनले आन्तरिक बैठकमा नेपालसँगको सम्बन्ध बिग्रिएको भन्दै चिन्ता जताएकी थिइन् । नेपाल अरू देशजस्तो ‘गिभ एन्ड टेक’ छिमेकी नभएको उनको भनाइ हुन्थ्यो ।

भाजपाका एक नेताका अनुसार उनी नेपालमा आइपरेका समस्यामा चासो व्यक्त गर्थिन् । नेपालमा ०७२ वैशाख १२ मा भूकम्प आउँदा तत्काल बसेको क्याबिनेटमा उनले नै उद्धार र राहतका लागि प्रस्ताव गरेकी थिइन् । प्रधानमन्त्रीले उनको प्रस्तावमा सहमति जनाउँदै तत्काल एक विमानमा राहत सामग्री पठाएका थिए ।

स्वराज अन्तिम समयसम्म पनि राजनीतिक भागीदारी र पार्टीप्रतिको बफादारीमा क्रियाशील रहिन् । निधनको केही घण्टाअघि उनले ट्विटरमार्फत पछिल्लो जम्मु–कश्मीर मामलाबारे प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै समर्थन जनाएकी थिइन् । उनले लेखेकी थिइन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभारी छु । तपाईंमा अभिनन्दन छ । म आफ्नो जीवनमा यो दिन देख्न प्रतीक्षारत थिएँ ।’ केही समयअघि मात्र भारतको लोकसभाबाट जम्मु–कश्मीरमा केन्द्रीय शासन लगाउने भाजपा नेतृत्वको सरकारको प्रस्ताव पारित भएको थियो ।

स्वराजले मन्त्री रहेकै बेला निर्वाचन तयारी भइरहँदा आगामी निर्वाचनमा प्रतिस्पर्धी नबन्ने घोषणा गरेकी थिइन् । उनका लागि पार्टीले मध्य प्रदेशस्थित विदिशा जिल्लाको निर्वाचन क्षेत्र पहिल्यैदेखि तय गरेको थियो । तर उनले सक्रिय राजनीतिबाट विश्राम लिने जनाउँदै उक्त क्षेत्रमा अरूलाई उठाउन आग्रह गरेकी थिइन् ।

समन्वयकारी भूमिका निर्वाह गर्दै राजनीतिमा स्थापित भएकी स्वराजले कहिल्यै विवाद र झुटो आरोप सामना गर्नुपरेन । उनको निधनमा प्रधानमन्त्री मोदीले दुःख व्यक्त गर्दै भनेका छन्, ‘भारतीय राजनीतिको गौरवशाली अध्याय सकिएको छ । एक असाधारण व्यक्तिको निधनले भारत आज शोकमा छ जसले जीवनभर जनसेवा र गरिबको जीवनस्तर उकास्न जीवन समर्पित गरिन् । स्वराज आफ्नो मार्गमा एक्लै हिँडिन् र अरूका लागि प्रेरणास्रोत बनिन् ।’

कांग्रेस नेता राहुल गान्धीले पनि स्वराजको निधनमा शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सुषमा स्वराजको निधनको खबरले मर्माहत भएको छु । जो असाधारण नेता र स्वाभाविक वक्ता थिइन् । विरलै स्वभावकी नेता थिइन् । उनको अन्य पार्टीका नेतासँग पनि मित्रवत् व्यवहार रहन्थ्यो । दुःखको यस घडीमा समवेदनासहित परिवारजनको साथमा रहेको जानकारी गराउँछु ।’

दिल्लीले गुमायो एक वर्षमा आफ्ना तीन मुख्यमन्त्री

सुषमा स्वराजको निधनसँगै दिल्ली आफ्ना तीन पूर्व मुख्यमन्त्री यसैवर्ष गमाएको छ । दिल्लीकी पूर्व मुख्यमन्त्री समेत भएकी स्वराजको गएराती निधन भएको छ । त्यसअघि गत जुलाईमा मात्र अर्की मुख्यमन्त्री तथा कांग्रेस नेता शिला दिक्षितको पनि निधन भएको थियो । उनी तीन पटकसम्म सन् १९९८ पछि २०१३ सम्म दिल्लीकी मुख्य मन्त्री बनेकी थिइन् ।

दिक्षितले कुल १५ वर्ष अर्थात ३ कार्यकाल दिल्लीको मुख्यमन्त्री भएर कार्यभार चलाएकी थिइन् । उनलाई पछिल्लो पटक दिल्लीको मुख्यमन्त्री बनेका आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले सन् २०१३ मा विस्थापन गरेका थिए । स्वराज एक पटक सन् १९९८ मा तीन महिनाका लागि मात्र दिल्लीकी मुख्य मन्त्री बनेकी थिइन् ।

त्यसैगरी दिल्लीका मुख्यमन्त्री रहेका मदनलाल खुरानाको पनि यसैवर्ष मात्र निधन भएको थियो । उनी सन् १९९३ देखि १९९६ सम्म दिल्लीका मुख्यमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung