साताको चौथो दिन बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक २.७५ अङ्कले बढेर १२४८.४८ अंकमा उक्लिएको छ। गएको चार कारोबार दिनमा बजारले १९.८५ अङ्क गुमाएको थियो।
नेप्से बढेको दिन सिन्सिटिभ इन्डेक्स पनि ०.८६ अंकले बढेर २ सय ६९.९६ अंकमा पुगेको छ तर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ९ करोड रुपैयाँले खुम्चिएको छ ।
बुधबार १७२ वटा कम्पनीको ११ लाख ३८ हजार कित्ता शेयर ३६ करोड ८६ लाख रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन मंगलबार ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज कुल १२ वटा समूहको सेयर कारोबार भएकामा ९ समूहका सूचक बढेका छन् भने बाँकी ३ समूह तल झरेका छन् । व्यापार समुहकाे शेयरमूल्य सबैभन्दा धेरै २.७५ प्रतिशतले बढेको छ भने सबैभन्दा बढि हाइड्रोपावर समुह १.८ प्रतिशतले घटेको छ।
कारोबार रकममा कृषि विकास बैंक अग्रस्थानमा छ । यसको २ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । खरिदबिक्री रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी बैंक र नेपाल बैंक रहेका छन्।
नेपाल एग्रो लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयरमूल्य पनि ९.८८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा रसुवागढी र साञ्जेन हाइड्रोपावरका लगानीकर्ता छन् । दुबै हाइड्रोपावरको शेयरमूल्य झण्डै १० प्रतिशतले घटेको छ ।














































































































































































































