साताको दोस्रो दिन केही उकालो लागेको सेयर बजारमा तेस्रो दिन भने गिरावट आएको छ । साताको तेस्रो दिन आज मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ८ अंकको गिरावट आएको हो ।
मंगलबार नेप्से ८.४३ अंकले घटेर १२१३.६३ अंकमा पुगेको हो । त्यस्तै सेन्सिटिभ इन्डेक्स्ट १.७६ अंकले घटेर २६३.१९ अंकमा पुगेको छ ।
मंगलबार १ सय ६५ कम्पनीका ११ लाख ७३ हजार ५ सय १० कित्ता सेयर २७ करोड २५ लाख ९ हजार २० रुपैयाँमा कारोबार भयो । बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये ट्रेडिङ समूह र म्युच्युल फण्ड समूह उकालो लागेका छन् भने बाँकी सबै समूह ओरालो लागेका छन्।
कारोबार रकमका आधारमा आज सबैभन्दा अगाडि सोल्टी होटल रह्यो। कम्पनीको मंगलबार चार करोड ३५ लाखको सेयर प्रतिकित्ता २ सय ३१ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीको १ करोड ६५ लाखको, एनआईसी एसिया बैंकको १ करोड ३२ लाखको र नेपाल बैंकको १ करोड ३ लाखको सेयर कारोबार भएको छ।
आज कमाउनेमा भने विशालबजार कम्पनी अगाडि रह्यो । कम्पनीको प्रतिकित्ता सेयर मूल्य ५.६२ प्रतिशतले बढ्दा ७८ रुपैयाँ खुद आम्दानी भएको छ। त्यस्तै ग्रीन डेभलपमेन्ट बैंक ३.७७, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.४७, गुह्येश्वरी मर्चेन्ट बेंक एण्ड फाइनान्स २.५९, सपोट माइक्रोफाइनान्स २.४३ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले २ प्रतिशतले कमाए ।
त्यस्तै, पाँचथर पावरको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । मंगलबार पाँचथर पावर कम्पनीको शेयरमूल्य सबभन्दा धेरै ९.५६ प्रतिशतले घटेर १०४ मा झरेको छ। दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशतले घटेको छ। त्यस्तै हिमालयन पावर पार्टनर, गुँरास लघुवित्त, अरुण कावेली पावर र नाडेप लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ।













































































































































































































