नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वाणिज्य बैंकका सहायक कम्पनीलाई तत्कालका लागि धितोपत्र व्यवसायी इजाजत अनुमति (ब्रोकर लाइसेन्स) वितरण गर्ने प्रक्रिया स्थगित गरेको छ ।
नेप्सेको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।
संघीय संसद्को अर्थसमितिले साउन ३० गते पठाएको पत्रका आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेले जनाएको छ ।
धितोपत्र बोर्डको निर्देशनका आधारमा नेप्सेले साउन १७ गते वाणिज्य बैंकहरूलाई सहायक कम्पनी खोली ब्रोकर लाइसेन्स लिन आह्वान गरेको थियो ।
संघीय संसद्को अर्थ समितिले वाणिज्य बैंकको सहायक कम्पनीलाई धितोपत्र व्यवसाय इजाजत अनुमति दिनेसम्बन्धमा अनुसन्धानका लागि भन्दै साउन २९ गते सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा पाँचसदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो । उक्त उपसमितिलाई प्रतिवेदन पेस गर्न दुई महिनाको समयावधि दिइएको छ ।
सोही प्रतिवेदनका आधारमा निर्णय गर्ने गरी तत्काललाई लाइसेन्स वितरण प्रक्रिया रोकिएको नेप्सेले जनाएको छ । यसअघि ब्रोकर लाइसेन्सका लागि करिब एक दर्जन बैंकका सहायक कम्पनीले नेप्सेमा आवेदन दिएका थिए ।














































































































































































































