केही समयदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबार भने सुधार देखिएको छ। आज नेप्से २०.५७ अंकले सुधार हुँदै ११९०.९० अंकमा पुगेको छ।
लामो सयमदेखि विवादमा रहेको पूँजीगत लाभकरको विवाद अन्त्य गर्न सिडिएससीले नयाँ सफ्टवेर तयार गरेर परीक्षण गरेसँगै बजारमा केही उत्साह देखिएको हो। त्यस्तै बैंकहरुले बोनस तथा लाभांसको घोषणा गरेपछि पनि लगानीकर्ता सेयरमा केही आकर्षित भएका छन्। गत मंगलबार १२०८ अंकमा रहेको बजार त्यसपछि निरन्तर ओरालो लागेर ११७० अंकमा झरेको थियो।
साताको तेस्रो कारोबार दिन आज मंगलबार कारोबार रकममा समेत १० करोड बढीको वृद्धि भएको छ। सेयर बजार परिसूचक ११९०.९० बिन्दुमा उक्लिदा कारोबारमा आएका १३५ कम्पनीको सेयरमूल्य बढेको छ। मंगलबार १५ कम्पनीको मात्र सेयरमूल्य घटेको छ भने १५ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएको छैन।
आज १७१ वटा कम्पनीको २१ लाख ८४ हजार २७१ कित्ता सेयर ५१ करोड ५ लाख ५२ हजार रुपैयाँमा कारोबार भयो। अघिल्लो दिन ४० करोड ७५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो। मंगलबार नेपाल बंगालादेश बैंकको संस्थापक शेयर सबैभन्दा धेरै ५ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने नेपाल बैंकको पनि ३ करोड २९ लाखको शेयर खरिद बिक्री भएका छन्।
यसैगरि नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको दुई करोड बढीको शेयर कारोबार भएको बजारमा सानिमा, कृषि विकास बैंक, मेगा संस्थापक, कुमारी र प्रभु बैंक तथा शिबम् सिमेन्टसको एक करोड बढीको शेयर कारोबार गर्दै शिर्ष स्थानमा रहे । शिर्ष कारोबार भएका दश कम्पनीमा आठ वाणिज्य बैंक छन्।
कारोबारमा आएका ११ वटै उपसमुहका सूचकमध्ये अन्य र म्युचुअल फण्डको सूचक नकारात्मक देखिएका छन् भने बाँकी ९ वटै सूचकमा हरियाली छाएको छ । यस दिन जीवन बीमा, निर्जीवन बीमा, जलविद्युत, र लघुवित्तको सूचक २ प्रतिशत धेरैले बढेका छन्।
आज युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९.४६ प्रतिशत बढेर ८१ रुपैयाँमा पुगेको छ ।
यस्तै सूर्या लाईफ र महिला सहयात्रा लघुवित्तको शेयरमूल्य ८ प्रतिशत धेरैले बढेको छ भने एशियन लाईफ, आधिँखोला लघुएइत्त, लुम्बिनी जनरल, सिद्धार्थ इन्स्योरेन्स, नेशनल लाईफ, युनाईटेड इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले उकालो लागेको छ ।













































































































































































































