
मंगयम्माकी छोरी (बाँया), मंगयम्मा (दाँया)। तस्बिरः बिबिसी
भारतमा मंगयाम्मा नामकी एक महिला ७४ वर्षको उमेर आमा बन्न सफल भएकी छन् । आइभिएफ (टेस्टट्युब बेबी) प्रविधिबाट ७ दशकको उमेरमा पुगेर सन्तान पाउँदा अत्यन्तै खुसी लागेको उनले बताएकी छन् ।
उनका पति सीताराम राजारावले खुसियाली मनाउँदै अस्पताल र आफन्तजनलाई मिठाई बाँडेका छन् । सन्तान नहुँदा उनीहरू निराश थिए । सञ्चारमाध्यमका अनुसार ती महिलाले निजी अस्पतालमा २ छोरीलाई जन्म दिएकी हुन् । बच्चा र आमा तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । तर विशेष निगरानी गर्नुपर्ने भन्दै उनलाई अझै आइसियुमा राखिएको छ । ती महिला आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लाकी बासिन्दा हुन् ।
चिकित्सकका अनुसार उनी अहिलेसम्मकै बढी उमेरमा आमा बन्ने महिलामा दर्ज हुने सम्भावना छ । आफ्नै छिमेकीले ५५ वर्षको उमेरमा आइभिएफ प्रविधिबाट सन्तान जन्माएको देखेपछि मंगयाम्मा उक्त निजी अस्पतालमा पुगेर आफ्नो चाहना व्यक्त गरेकी थिइन् । अस्पतालले उनका पतिसहितलाई आइभिएफ प्रविधिबारे जानकारी गराएर सन्तानोत्पादन प्रक्रियाको परीक्षण सुरु गरेको थियो । आइभिएफ प्रविधिको उपचार सबैमा सफल हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।
उनलाई प्रत्यक्ष निगरानी गरिरहेका अस्पतालका चिकित्सक उमाशंकरका अनुसार महिला निश्चित उमेरमा मात्र आमा बन्न सक्छन् भन्ने मान्यता तोडिएको छ । ७४ वर्षीया आमा बनेको समाचारले निःसन्तान परिवारलाई उत्साह मिलेको उनको भनाइ छ । यसअघि भारतमा हरियाणाकी ७० वर्षीया दलजिंदर कौरले आइभिएफ प्रविधिबाट बच्चा जन्माएकी थिइन् ।
मंगयाम्माले सन् १९६४ मा १९ वर्षको उमेरमा विवाह गरेकी थिइन् । त्यसयताका ५५ वर्ष उनी सन्तानको रहमा बिताउन बाध्य भइन् । अस्पतालले मंगयाम्मालाई करिब १ महिना चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिने जनाएको छ ।