२ जेष्ठ २०८१, बुधबार

 

ज्याक माले दिए अलिबाबाबाट राजीनामा

चिनियाँ इ-कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माले मंगलबार राजीनामा दिएका छन्। ज्याकले राजीनामा दिएसँगै उक्त कम्पनीको एउटा युगको नै अन्त्य भएको बीबीसीले जनाएको छ।

सन् १९६५ सेप्टेम्बर १० मा जन्मेका ज्याक माले ५५ वर्ष लागेसँगै मंगलबार राजीनामा दिएका हुन्। ज्याकले अलिबाबा कम्पनी स्थापना गर्नु पूर्व अंग्रेजी शिक्षकको रुपमा काम गरेका थिए। उनले सन् १९९९ मा सहसंस्थापकको रुपमा अलिबाबा कम्पनी स्थापना गरेका थिए। अलिबाबा त्यसयता निरन्तर प्रगति गर्दै विश्वकै ठूलो एउटा इन्टरनेट फर्म बन्न सफल भएको छ।

अलिबाबा कम्पनीले पाएको सफलताले उनलाई चीनकै सफल व्यवसायी बनाएको थियो। अहिले अलिबाबा ४ खर्ब ८० अर्ब डलर मूल्यवान् कम्पनी बनेको छ भने उनी चीनकै धनी व्यक्ति समेत बन्न सफल भएका छन्।

चीनको पूर्व सहर हांग्झाउको एक गरिब परिवारमा जन्मेका ज्याकले सुरुवाती करिअरमा शिक्षण पेसा अंगालेका थिए। उनी आफ्नो पहिलो कम्प्युटर किन्दा ३३ वर्षका थिए। उनले पहिलोपटक अनलाइनमा सर्च गर्दा कुनै पनि चिनियाँ बियर नभेटेपछि अचम्मीत भएका थिए। उनीसँग कुनै कप्युटिङ पृष्ठभूमि थिएन। त्यसपछि उनले आफू बस्ने अपार्टमेन्टमै साथीहरुसँग सल्लाह गरेर अलिबाबाको स्थापना गरे। उनले अनलाइन मार्केटप्लेसमा लगानी गर्न आफ्ना साथीहरुको समूहलाई मनाएका थिए।

पछि अमेरिकी सहर न्युयोर्कमा अलिबाबा सूचीकृत भयो। अलिबाबाले त्यहाँ विश्वकै ठूलो पब्लिक स्टक अफरिङ गरेको थियो। जुन आफैँमा कीर्तिमान बनेको थियो। ज्याकसँग ३८ अर्ब ६० करोड डलरको सम्पत्ति छ भने उनी चर्चित फोर्ब्स म्यागजिनको अर्बपति सूचीमा समेत अटाएका छन्।

प्रतिक्रिया दिनुहोस्