२ जेष्ठ २०८१, बुधबार

 

एप्पलले सार्वजनिक गर्‍यो आइफोन ११ सिरिज, यस्ता छन् विशेषता

टेक्नोलोजी क्षेत्रको प्रसिद्ध कम्पनी एप्पलको लन्च इभेन्ट सुरु भएको छ । इभेन्ट जारी रहँदा एप्पलले अहिलेसम्म आइफोन ११, सिरिज ५ घडी, एप्पल आर्केड, एप्पल टिभी प्लस र नयाँ आइप्याड लन्च गरेको छ ।

सिलिकन भ्यालीस्थित स्टिभ जब्स थियटरमा मंगलबार आयोजित उक्त लन्च इभेन्टमा कम्पनीले आइफोन ११, आइफोन ११ प्रो र ११ प्रो म्याक्स गरेर तीनवटा नयाँ फोन सार्वजनिक गरेको छ।

कम्पनीले आइफोनका साथमा नयाँ आइओएस पनि सार्वजनिक गरिएको छ। आइओएस १३ र ए १३ बायोनिक प्रयोग गरेर बनाइएको नयाँ आइफोन पहिलेका फोनको तुलनामा छिटो र छरितो रहेको कम्पनीको दावी छ।

नयाँ आइफोनका विशेषता

नयाँ आइफोन ११ मा १२–१२ मेगापिक्सलका दुई क्यामेरा छन् भने आइफोन ११ प्रो र म्याक्स प्रोमा १२ मेगापिक्सल कै तीनवटा क्यामेरा राखिएको छ। जसमा वाइड क्यामेरा, अल्ट्रा वाइड क्यामेरा र टेलिफोटो लेन्स छन्।

नयाँ आइफोनको अर्को विशेषता वाटर रेसिस्टेन्ट वा पानीबाट बच्ने हो। आइफोन ११ प्रो र म्याक्स प्रो पानीमा चार मिटर गहिराइसम्म आधा घन्टासम्म डुब्दा यसमा पानी नपस्ने कम्पनीको दावी छ।

त्यस्तै आइफोन ११ मा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले छ आइफोन ११ प्रोमा ५.८ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्लेको प्रयोग गरिएको छ। त्यस्तै आइफोन म्याक्स प्रोमा ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले स्क्रीन प्रयोग गरिएको छ।

नयाँ आइफोनमा प्रयोग भएको सिपियुले फोनलाई पहिलाका फोनभन्दा ४० प्रतिशतसम्म छिटो बनाउने बताइएको छ।

आइफोन ११ को सुरुआती मूल्य ६९९ डलर राखिएको छ भने आइफोन ११ प्रोको ९९९ डलर र म्याक्स प्रोको मूल्य १०९९ डलर तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्