साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लाग्नेक्रम जारी रहेको छ । आज नेप्से परिसूचक ५.३३ अंकले घटेर ११५७.८८ बिन्दुमा सीमित भएको छ ।
बिहीबार १६८ कम्पनीको १५ लाख ५६ हजार ७९० कित्ता शेयर किनबेच भएर ३७ करोड ६१ लाख रुपैयाँको कारोबार भयो । यो बुधबारको तुलनामा ३ करोड ४२ लाख रुपैयाँले बढी हो । बुधबार ३४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
कारोबारमा आएका ११ उपसमूहका सबै सूचकमा गिरावट आएको छ । निर्जीवन बीमा समुहको सूचक सबैभन्दा बढि ३४.२५ अंकले घटेको छ भने जीवन बीमाको ३३.८६, होटल्सको २४.५३ र वाणिज्य बैंकको २.७९ अंकले घटेको छ ।

बिहीबार लक्ष्मी बैंकको संस्थापक शेयर सबैभन्दा बढी ४ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआईसी एशियाको ३ करोड ५४ लाख, कुमारी बैंकको २ करोड ६२ लाख, नेपाल बैंकको २ करोड २ लाख, छिमेक लघुवित्तको संस्थापक शेयर १ करोड ४९ लाख र कृषि विकास बैंकको १ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बिहीबार कालिका पावरको शेयरमूल्य सबैभन्दा बढी ५ प्रतिशतले बढेको छ । यस्तै एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य र ङादी ग्रुपको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले सुधार भएको छ ।

बिहीबार सबैभन्दा बढी गुमाउनेमा अरुण भ्याली हाइड्रोपावरका शेयरधनी छन्। उनीहरुले ६.७९ प्रतिशतले गुमाएका छन् । यस्तै हिमालयन उर्जाको शेयरमूल्य ६.५० प्रतिशत र नेपाल इन्स्योरेन्सको शेयरमूल्य ५.०१ प्रतिशतले घटेको छ । अरुण कावेली पावर, घलेम्दी हाइड्रो र पाँचथर पावरको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।













































































































































































































