२५ बैशाख २०८१, मंगलवार

 

‘एटिएम ह्याकिङले हामीलाई पाठ सिकाएको छ’

उत्तमराज सुवेदी, एसएसपी
(प्रमुख– महानगरीय प्रहरी परिसर काठमाडौं)

चिनियाँ ह्याकरले एटिएमबाट रातारात पैसा निकालेपछि तरंग मच्चियो नि ?

तरंग भन्नुभन्दा पनि यसले हामीलाई पाठ सिकाएको छ । विशेष गरी बैंकिङ सेक्टरका व्यवसायीलाई बैंकिङ सुरक्षाबारे सचेत हुनुपर्छ, हामी सुरक्षित छैनौं भन्ने बुझाएको छ ।
यो घटना प्रहरीले सूचना पाउनासाथ कसरी काम गर्दो रहेछ भन्ने उदाहरण पनि भयो । हामी जुनसुकै अपराध, अझ यस्तो अर्गनाइज्ड क्राइमलाई निस्तेज पार्न एनी टाइम अलर्ट बसेका हुन्छौँ । कहिलेकाहीँ सानोतिनो ग्याप हुनु अस्वाभाविक होइन । यस्ता जटिल केसलाई हामी प्लान, एक्सन गरेर कानुनी दायरामा ल्याउन सफल हुन्छौँ ।

जे होस्, प्रहरी सक्रियताले वित्तीय क्षेत्र ठूलो दुर्घटनाबाट बच्यो । यो कसरी सम्भव भयो ?
हामी सूचनाका भोको हुन्छौँ । हरेक अपराधसँग लड्न तयारी अवस्थामा हुन्छौँ । यो त्यसैको प्रतिफल हो । एउटा एटिएम बक्सबाट अस्वाभाविक रूपमा पैसा निस्केको सूचना पाउनासाथ हामीलाई लाग्यो, यहाँ पक्कै ठूलै अपराध भएको हुन सक्छ । व्यापक रूपमा प्रहरी परिचालन गरी तत्काल एक्सन लिइयो । निगरानी बढाइयो । केही समयमै ह्याकरहरू कानुनी दायरामा आए ।

पछिल्लो तथ्यले हाम्रा सरकारी वेबसाइट पनि असुरक्षित रहेको देखाउँछ । हाम्रो कमजोर प्राविधिक सुरक्षाकै कारण ह्याकर यता आकर्षित भएका हुन् ?
ह्याकर नेपालमा मात्र नभएर विकसित युरोपियन देशहरूमा पनि सुनिरहेका हुन्छौँ । नजिकको देश भारतमै पनि यस्ता घटना भएका छन्, पढेकै छौँ । अर्को सरकारी वेबसाइट र बैंकिङ सुरक्षा प्रणाली फरक कुरा हुन् । सरकारी वेब ह्याक गर्नु जटिल होइन । बैंकहरूले सुरक्षाका लागि अपनाएका विधिलाई पनि चिरेर ह्याक गर्नु त्योभन्दा ठूलो कुरा हो । यसभन्दा अगाडिका र अहिलेको ह्याकमा धेरै अन्तर छ । पहिले एटिएमको पासवर्ड चोरेर हुन्थे, बैंकको आन्तरिक सिस्टममा प्रवेश गरेर हुन्थ्यो । अहिलेचाहिँ धेरै बैंक मिलेर अपनाइएको प्रविधिभित्रै छिरेर ह्याक गरेको भेटिएको छ ।

यो प्रहरीमाथि पनि नयाँ चुनौती हो । कसरी नियन्त्रण गर्नुहुन्छ ?
यसमा दुइटा कुरा छन् । देशमा साइबर क्राइमको अवस्था कस्तो छ, त्यसलाई रोक्न सक्ने, अनुसन्धान गर्न सक्ने क्षमता नेपाल प्रहरीसँग हुनुपर्छ । हामी क्यापसिटी वृद्धि गर्न लागिपरेका छौँ । अहिलेसम्म हाम्रो ग्याप कसरी भयो, अब कसरी त्यसलाई परिपूर्ति गर्न सकिन्छ भनेर सम्बन्धित क्षेत्रलाई राय दिन्छौं, लिन्छौँ पनि । यसबाट भविष्यमा सुरक्षाका सम्बन्धमा अझ मजबुत हुन्छौं ।
हामीले अपनाएको सुरक्षाविधि सधैंभरि ठिक हुन्छ भन्ने छैन । टेक्नोलोजीमा आएको परिवर्तनसँगै सुरक्षाको विषयलाई पनि अपडेट, अपग्रेड गराउँदै लैजानुपर्छ । यो कुरा बैंकका सञ्चालक, अन्य साथीहरूसँग पनि राखेका छौँ ।

सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्यसहित सरकारले भ्रमणवर्ष मनाउँदै छ । पर्यटकको आवरणमा यस्ता अपराध दोहोरिन सक्ने जोखिमलाई कसरी नियालिरहनुभएको छ ?
अपराधीले जहिले पनि केही कभर प्रयोग गर्छन्, उनीहरूको मोमेन्टका लागि । नेपालमा पर्यटकको आवरणमा भित्रन सक्छन् । तर सबै पर्यटक त्यस्ता हुन्छन् भन्ने पनि होइन । यसअघि पनि नेपालमा यस्ता क्रियाकलापमा संलग्न भएकालाई कानुनी दायरामा ल्याइसकेका छौँ । पर्यटकको आवरणमा आएकाहरूसँगै विभिन्न विकृति नभित्रिएका होइनन् । यसो भन्दैमा पर्यटक नभित्र्याउने भन्ने हुँदैन । यस्तो बेला सुरक्षा निकायबाट निगरानी बढाउनुपर्छ । पछिल्लो एटिएम ह्याकिङपछि इन्टरपोलको पनि चासो छ । यस्ता गतिविधि रोक्न हामी टेक्नोलोजी विकासमा पनि अघि बढ्नुपर्छ ।

केही समयपहिले नेपाल प्रहरीकै कम्प्युटर ह्याक भयो नि होइन ?
हामीले त्यसरी लिनुहुँदैन । टेक्नोलोजी प्रयोग गरेर हुने अपराध नेपाल मात्र होइन, अन्य देशमा पनि भएका छन् । टेक्नोलोजी विकास जुन हामी उपभोग गर्छौं, त्यसमा रिस्क त हुन्छ नै । हाम्रो दायित्व त्यसलाई ‘मिनिमाइज’ गर्ने हो । टेक्नोलोजीसँगै आफू पनि ‘अपग्रेड’ नहुँदा प्रहरीको कम्प्युटर ह्याक भएको हो । विश्वमा टेक्नोलोजीले फड्को मारिसकेको छ । यस्तोमा आफू पनि सँगसँगै अपगे्रड, अपडेट हुनुपर्छ ।

अहिले समाजमा कस्तो प्रकृतिका घटना बढी छन् ?
पछिल्लो तथ्यांकअनुसार आत्महत्याका घटना बढिरहेका छन् । पहिले लामो समय प्रेमसम्बन्धमा बस्ने, पछि आत्महत्या गर्ने घटना हुन्थे । अहिले लभ पर्ने, ब्रेकअप भइहाल्ने अनि एकैछिनमा आत्महत्या गर्न तयार हुने प्रवृत्ति देखिन्छ । पहिले धेरै पढेर फेल भएपछि आत्महत्या गर्थे, अहिले नपढेको कुरा ग¥यो भने आत्महत्या गर्छन् । सामाजिक सञ्जालको दुरुपयोग सबैभन्दा ठूलो विकृतिका रूपमा देखापरेको छ । सामाजिक सञ्जालबाटै प्रेमकथा सुरु हुन्छ, पछि त्यसैले आत्महत्यासम्म पुर्‍याउँछ ।

पब्जी गेम, लगातार इन्टरनेट प्रयोगले साना बच्चा पनि कि डिप्रेसिभ कि त एग्रेसिभ हुँदा रहेछन् । एग्रेसिभ भए क्राइममा जाँदा रहेछन्, डिप्रेसिभ भए आत्महत्यातर्फ । सामाजिक सञ्जालको दुरुपयोग न्यूनीकरण नगरे अपराध अझ बढ्ने देखिन्छ ।

चोरीका घटना पनि उत्तिकै छन् । मान्छेको जीवन र सम्पत्ति सुरक्षाको पहिलो जिम्मेवार व्यक्ति स्वयं हो । तर हामी सुरक्षाका सामान्य कुरा पनि अपनाउँदैनौँँ । दुई करोड खर्चेर घर बनाउन सक्ने तर एक लाखको सिसिटिभी राख्दैनौं ।  पहिले १६ वर्षभन्दा माथिका युवती अपरिचितबाट बलात्कृत भएका घटना बढी आउँथे । अहिले चिरपरिचतबाटै सानै उमेरमा बलात्कार हुने गरेका घटना बढी छन् । अब यस्ता सामाजिक विकृतिको जग नउखेलेसम्म अपराधको तथ्यांक नघट्ने भयो ।

प्रस्तुती : विमल खड्का

प्रतिक्रिया दिनुहोस्