गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन तथा विश्व सम्मेलन आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व छनोट गर्दै छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेद्वारी दिएका छन् । गैरआवासीय नेपाली संघमा आर्थिक मितव्ययिता, पारदर्शिता एवं आर्थिक स्थायित्वको मुख्य एजेन्डासहित नवौँ महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको उनले बताए।
जापानमा व्यवसाय र सामाजिक सेवामा सक्रिय श्रेष्ठले विगत १३ वर्षदेखि गैरआवासीय नेपाली संघमा रहेर विभिन्न जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन ।
एनआरएनएमा बसेर गैरआवासीय नेपालीको हित र नेपालको आर्थिंक विकासमा महत्वपूर्ण योगदान दिएका युवा व्यवसायी महेश श्रेष्ठले एनआरएनएलाई वार्षिक ८ करोडको गैरआवासीय श्रमिक कल्याण कोषको विशेष योजनासहित एनआरएनएलाई आर्थिक र सामाजिक रुपमा बलियो ढांचाको भरपर्दो र विश्वासिलो संगठन बनाउने उद्देश्यले कोषाध्यक्ष पदमा आफुले उम्मेदवारी दिएको नयाँ विश्वलाई बताए ।
नेपालमा संसारभरबाट वार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिने गरेको र नेपाल राष्ट्र बैकले इन्सेन्टिभका रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गरिएकोमा उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा वार्षिक ८ करोड रुपैया जम्मा गर्न सकिने श्रेष्ठको भनाइ रहेको छ ।
जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, सिटी ट्राभल एण्ड टुरका निर्देशक, एभेरेष्ट इन्टरनेसनल स्कुल जापानका प्रोमोटर एवं सल्लाहकार, सिइ हुमन रिसोर्स कम्पनी लिमिटेडका डाइरेक्टर तथा एसबिआई सिटी एक्सप्रेस ग्लोवलका निर्देशक समेत रहेका छन् ।
उनी जेएनएन एग्रो कम्पनीका डाइरेक्टर पनि हुन् । उनले सिटी एक्सप्रेस ग्रुपका विभिन्न कम्पनीहरु, विभिन्न वैंकहरु, सिटी एक्सप्रेस फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी एक्सप्रेस ट्रेडिङ,सिटी इन्भेस्मेन्ट फण्ड,सिटी ट्राभल एण्ड टुर, आइटी कम्पनी , आयात तथा निर्यात कम्पनि, र विभिन्न हाइड्रोपावर कम्पनीहरुमा प्रोमोटर एवं डाइरेक्टरको रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
लामो समयदेखि आर्थिक क्षेत्रमा काम गरेको अनुभवलाई सही रूपमा उपयोग गर्न सकिने भएकाले पनि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए ।
















































































































































































