२५ बैशाख २०८१, मंगलवार

 

‘समाचार सरकारी र पब्लिक भन्ने हुँदैन’

रासस सञ्चालन अवस्थाबारे जानकारी गराइदिनुहुन्छ कि ?

रासस देशको सरकारी तर एक मात्र समाचार एजेन्सी हो । यसको प्रारम्भ पत्रपत्रिका र रेडियोलाई समाचार सम्प्रेषण गर्न सघाउ पु¥याउने उद्देश्यले २०१८ सालमा भएको हो । पछि टेलिभिजनलाई पनि समाचार उपलब्ध गराउन थाल्यो । अहिले आएर वेब जर्नालिज्म वा अनलाइन मिडियालाई समेत सेवाप्रवाह गरिरहेको छ ।

प्रविधिको बद्लावसँगै यसको कामको दायरा पनि वृद्धि भएको छ । केही वर्षअघिसम्म दैनिक बुलेटिन प्रकाशन गरेर समाचार उपलब्ध गराउँदै आएको थियो । अंग्रेजी र नेपाली दुवै भाषामा समाचार र फोटो पनि उपलब्ध गराउँछ । खास गरी अन्तर्राष्ट्रिय प्रमुख एजेन्सीका समाचार अनुवाद गरेर अंग्रेजीमा समेत उपलब्ध गराउँदै आएको छ । अहिले बुलेटिनमा सीमित नरही अनलाइनबाट पनि सेवा दिन्छ ।

राससको काम पब्लिक भए पनि सेवा सरकारमुखी भएको आरोप लाग्ने गरेको छ नि ?

सेवा पब्लिक नै हो । किनकि समाचार सरकारी र पब्लिक भन्ने हुँदैन । पञ्चायत कालमा सरकारी सूचनाका लागि राससमै भर पर्नुपर्ने अवस्था थियो । त्यसपछि देशमा भएको राजनीतिक परिवर्तनसँगै सूचनाको पहुँचमा अन्य माध्यम पनि सशक्त हुँदै गए । अझै पछिल्ला दिनमा त सरकारी कतिपय सूचना निजी सञ्चारमाध्यमबाट थाह पाउनुपर्ने अवस्था छ ।

तर पनि विश्वसनीयताका क्षेत्रमा रासस अब्बल नै भन्ने लाग्छ । सरकार ‘फन्डिङ’ संस्था भएकाले सरकारी प्रभाव रहनु स्वाभाविक पनि हो । तर कामको प्रकृत्ति पब्लिक नै हो । गोरखापत्रको सनद हेर्नुभयो भने सरकारको कामको प्रचारप्रसारका लागि निकालिएको उल्लेख छ । त्यस्तै आरोप रेडियो नेपाल र नेपाल टीभीलाई पनि लाग्दै आएको छ । स्वरूप र जिम्मेवारी केही फरक भने छ ।

राससमा पत्रकारिता पढेकाभन्दा पनि राजनीतिक नियुक्ति बढी भएको गुनासो सुनिन्छ नि ?

पहिला त तपाईंले भनेजस्तो भयो होला तर पछिल्ला दिन त्यस्तो छैन । प्रक्रियागत तबरबाट अझै पत्रकारिता पढेकाहरू नै नियुक्त हुने गरेका छन् । एउटा सत्य के हो भने सञ्चार मन्त्रालयअन्तर्गत सञ्चालित संस्थामा केही उच्च पदमा सरकारले नियुक्ति गर्छ । तर पत्रकारको हकमा त्यहाँको ऐन–नियम र परिधिबाटै हुने गरेको छ ।

तपाईं पत्रकारिताको प्राध्यापक भएका नाताले भन्नुपर्दा अहिले पत्रकारिता पेसामा कस्तो ट्रेन्ड आएको छ ?

पत्रकारिता विषयको शैक्षिक अवस्थाको कुरा गर्दा व्यावसायिक शिक्षाका रूपमा बुझ्न थालिएको छ । अहिले आएर यो शिक्षा अध्ययन गरेका जनशक्तिलाई रोजगारीको क्षेत्र व्यापक भएको छ । पेसाको कुरा गर्दा अवसर र चुनौतीबाट गुज्रिएको छ ।

सरकारी कार्यालयमा प्रवक्ता, गैरसरकारी संस्थामा सञ्चार अधिकृत, सञ्चार सल्लाहकारजस्ता पदमा विज्ञापन भएको देखिन्छ । त्यसैले यसको दायरा फराकिलो भएको छ । पढेका तर दक्ष पत्रकार बेरोजगार बस्नुपर्ने अवस्था छैन ।

चुनौती भन्नुहुन्छ भने प्रविधि उपयोग र ज्ञान भएन भने व्यावसायिक बन्न नसक्ने अवस्था छ । कुनै बेला पत्रकारिता अध्ययन गर्ने संस्था रत्नराज्य कलेज मात्र थियो । परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टिभीबारे मात्र अध्यापन गराइन्थ्यो । अहिले आएर ड्रोन पत्रकारितासमेत अध्यापन गराउनुपर्ने अवस्था आएको छ ।

केही दशकअघिसम्म पत्रकारिता पेसामा व्यवसायिकता थिएन । सीमित सञ्चारगृहमा सीमित अवसरका लागि धाउनुपर्ने अवस्था थियो । विषयगत अध्ययन गरेको भन्दा अनुभवी पत्रकार धेरै थिए । नेपालको पत्रकारिता त्यसरी नै अघि बढेको पनि हो । तर अहिले तीन विश्वविद्यालयले पत्रकारिताको उच्च शिक्षा अध्ययन/अध्यापन गराइरहेको अवस्था छ ।

जनशक्ति उत्पादन जसरी बढिरहेको छ, अवसरको क्षेत्र पनि वृद्धि भइरहेको छ । अझै पछिल्लो पटक प्रविधिमा भएको विकासले अनलाइन जर्नालिज्म, ब्लगर, युट्युबरहरूसमेत जन्मिरहेका छन् । करिब डेढ दशकअघिसम्म यो विषय अध्ययन गर्नेको लक्ष्य पत्रकार नै बन्छु भन्ने हुन्थ्यो । अहिले त्यस्तो छैन । पढ्छु तर पत्रकार बन्दिनँ भन्नेहरू पनि छन् ।

त्यसैले भन्न सकिन्छ, यो एउटा व्यापक अवसरको क्षेत्र भएको छ । समयअनुसार परिवर्तन भइरहँदा स्वरूपमा परिवर्तन आएको छ । त्यहीअनुसार अध्ययन–अध्यापन गराउनुपर्ने चुनौती थपिएको छ । समाजमा जस्तै सञ्चारमाध्यममा पनि विविधता छ । आफ्नो अनुकूलताअनुसार उपयोग गर्न नागरिक स्वतन्त्र छ ।

कुनै बेला सरकारी निर्णय सरकारी सञ्चारमाध्यमबाट कम्तीमा २ दिनपछि मात्र पाठक वा श्रोतासम्म पुग्दा र अहिले तत्काल पुग्दाको अवस्थामा के भिन्नता छ ?

यो विषयलाई यसरी बुझ्नु उपयुक्त होला । पत्रकारिता सरकार वा व्यवस्थासँग सम्बन्धित पेसा र क्षेत्र पनि हो । तत्काल सूचनाको प्रकाशन वा प्रसारण नहुनुका पछि उल्लिखित कारण पनि थिए । तर पछिल्लोे समय प्रविधिले समेत त्यसलाई प्रभाव पारेको छ । पहिला सरकारको निर्णय सुनेर, धारणा बनाएर प्रतिक्रिया हुन्थ्यो भने अहिले पहुँच पनि तत्काल छ र प्रतिक्रिया पनि तत्काल हुने गरेको छ ।

नेपालजस्तो विकासोन्मुख देशका लागि सुरुका दिनमा अर्थात् ‘वान वे इन्फरमेसन सिस्टम’ हुँदा सरकारका गतिविधिबारे जनताको चासो बढी हुन्थ्यो । अहिले त्यस्तो चासो हुँदैन । प्रतिक्रिया व्यक्त गर्न नागरिक स्वतन्त्र र माध्यम पनि रहेकाले तत्काल हुने गरेको छ । समयको अन्तरालमा यो क्षेत्रमा भएको परिवर्तनले मानिसमा जागरूकता ल्याइदिएको छ । ती सबै विषयलाई सकारात्मक नै मान्नुपर्छ ।

पछिल्लो पटक बहु–उपयोगमा रहेको सोसल मिडियालाई पत्रकारिता मान्ने वा नमान्ने ?

नमान्ने भनौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटबाट समाचार बन्ने गर्छ । युट्युबरले पनि आफूलाई पत्रकार दाबी गर्न लागिसके । त्यसैले यो आफैंमा बहसको विषय हो । एउटा सत्य के हो भने पहिला सम्पादकले छानेको सूचना वा जानकारी मात्र समाचार बन्थ्यो भने आज सोसल मिडियाको उपयोगले प्रत्येक व्यक्ति सूचनाको स्रोत भएको छ ।

त्यसलाई कसरी र कुन माध्यमले उपयोग गर्ने भन्ने विषयले बहस जन्माएको छ । आफैंमा व्यापक क्षेत्र बनेको मिडियालाई मान्ने वा नमान्नेभन्दा पनि व्यावसायिक मूल्य–मान्यताभित्र गर्ने र नगर्नेहरूको विभेद छुट्ट्याउनुपर्ने भएको छ ।

नेपालको विकास पत्रकारिताको अवस्था कस्तो छ ? राससले विकास पत्रकारितालाई कति ध्यान दिने गरेको छ ?

नेपालको सन्दर्भमा विकास पत्रकारिताको प्रभावकारिता घटेको छैन, बढेको छ । किनभने अहिले पनि विकास–निर्माण र पर्यावरणीय जागरणका विषयलाई पाठकले अभिरुचिपूर्वक पढ्ने गरेको पाइन्छ । जस्तै, जुम्लामा स्याउको उत्पादन घट्नु वा बढ्नुका पछाडि पर्यावरण मात्र नभएर प्रविधिको उपयोग र विकास पनि जोडिएको हुन्छ ।

त्यस्ता विषयवस्तुले मिडियामा स्थान पाइरहेका छन् । अझै पनि तुइन विस्थापनका समाचारले स्थान पाएका छन् । त्यस्तो अवस्थामा विकास पत्रकारिताको औचित्य छैन भन्न सकिने अवस्था छैन ।

अझै राससको कुरा गर्दा विकास पत्रकारितालाई प्रोत्साहन गरेका कैयांै उदाहरण छन् । नेपालको पत्रकारितामा अर्थ पत्रकारिता र विकास पत्रकारिताको अभ्यास राससले गर्दै आएको छ ।

सामान्य पाठकले पहुँचका आधारमा जानकारी नपाएको हुन सक्छ तर सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी त्यसबारे अवगत हुनुहुन्छ । पाठकको चाहनालाई राससले प्रस्तुत गर्दै आएको छ । रासस अन्तर्राष्ट्रिय समाचार–संस्थाका समाचार अनुवाद र सरकारी सूचना प्रवाह गर्नमा मात्र सीमित छैन ।

पत्रकारिता वा सञ्चारमाध्यमले नेपाली समाजमा कस्तो प्रभाव पारिरहेको छ ?

यसबारे उल्लेख गरेरै भन्नुपर्दा राजनीतिक परिवर्तनलाई हेरे पुग्छ । किनकि नेपालको ०७ सालबाहेकका परिवर्तनको जगमा पत्रकारिता र सञ्चारमाध्यमको भूमिका छ । अनुकूल वा प्रतिकूलताका आफ्नै प्रसंग होलान् तर समाजलाई जागरूक तुल्याउन मिडियाले पारेको प्रभाव नजरअन्दाज गर्न मिल्दैन । पछिल्ला दिनमा विश्वव्यापी पहुँच नेपाली नागरिकको पनि छ ।

किनकि सुनको मूल्य बढेको समाचारका लागि ऊ नेपालका सुनचाँदी व्यवसायी र नेपाली सञ्चारमाध्यमको मात्र भर पर्दैन । अन्तर्राष्ट्रिय कारण के रै’छ भनेर जान्न उत्सुक हुन्छ ।

मानिस स्वभावैले जिज्ञासु र उत्सुक प्राणी हो । उसलाई भोजनले तृप्त गर्न सकिएला तर सूचना वा जानकारीले तृप्त बनाउन सकिँदैन । त्यसैले नेपाली समाजलाई मिडियाको प्रभाव छ । तर सकारात्मक र नकारात्मक पक्षका बारेमा भने अनुसन्धान गर्नुपर्ने अवस्था छ । किनकि हिंसा, विकृति वा विसंगतिबारे अध्ययनका आधारमा भन्न सक्नुपर्छ । बरु ‘इम्प्याक्ट’ अध्ययन हुन सकिरहेको छैन ।

नेपालका मिडिया अलि बढी नकारात्मक समाचार प्रवाह गर्न क्रियाशील भए भन्ने गुनासो पनि सुनिन थालेको छ नि ?

मिडियाको आफ्नो आचारसंहिता हुन्छ । एथिक्समा बसेर काम गर्ने हो भने नकारात्मक भएको आरोप खेप्नुपर्दैन । तर राज्यको नेतृत्वदेखि राज्यका अंगमा मूल्य–मान्यता पालना नभएको सन्दर्भमा मिडियाले मात्र एथिक्स पालना गर्दा नागरिकले चाहेको सूचना पाउन सम्भव होला त ? समाजको एउटा अंग मिडिया र सञ्चारकर्मी पनि भएकाले समाजको प्रभाव परेको हो भन्ने मेरो ठहर छ । मिडिया समाजको दर्पण होजस्तो लाग्छ ।

त्यसैले मिडिया मात्र नभएर समाज नै नकारात्मक दिशातर्फ गएको भने सत्य हो । मिडियाको काम उजागर गरिदिने हो, उजागर गर्दा आफ्ना पक्षमा नहुन सक्छ । त्यति बेला मिडियालाई यस्ता दोष लाग्ने गर्छन् ।

तर मिडियाले आफूलाई सेल्फ सेन्सरसिप लागू गरेर विश्वसनीयता कायम गर्न सक्नुपर्छ । समाज अराजक हुँदा भूगोल वा क्षेत्रलाई प्रभाव पर्ला तर मिडिया अराजक भए भूगोलभन्दा बाहिर पनि त्यसको विश्वसनीयता गुम्न सक्छ । त्यसैले त्यस्ता पक्षबारे हामी मिडियाकर्मी पनि सजग हुनुपर्छ ।

प्रस्तुति – सञ्जय 

प्रतिक्रिया दिनुहोस्