गान्धी जयन्तीका अवसरमा नेपाल आएका भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय सोनकर शास्त्रीले ‘राइट टु ल’ अभियानबारे जानकारी गराएका छन् ।
शास्त्रीले ‘राइट टु ल’ आदर्श राज्यको स्थापना गर्ने अभियान भएको जानकारी गराउँदै जबसम्म कानुनका बारेमा जनता र नेतृत्व स्वयं जानकार रहँदैनन् तबसम्म लोकतन्त्रको सही अभ्यास हुन नसक्ने बताए ।
राजधानीको वाल्मीकि क्याम्पसमा बिहीबार उनले आफू भारतीय जनता पार्टी आबद्ध भए पनि अभियान स्वतन्त्र नागरिकका रूपमा गरिरहेको बताए ।
शास्त्रीले नेपाल र भारत सम्बन्धका विविध पक्ष स्मरण गरेका थिए । त्यसक्रममा उनले भारतमा आफूले सुरु गरेको अभियान ‘राइट टु ल’ बाट नेपाल पनि प्रेरित हुन सक्ने जानकारी गराए ।
नागरिक देशमा जति नै परिवर्तन भएपनि कानुनका बारेमा अनभिज्ञ हुने गरेको उनले बताए । भारतको अवस्थाबारे जानकारी गराउँदै उनले संविधान बने पनि कतिले पढे भन्ने सबाल उठाए ।
प्रतिशतमा न्यून आँकडा मात्र आउने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले भारतमा करिब ७० वर्षअघि संविधान बने पनि १ प्रतिशत मात्र त्यसका अध्येता रहेको जानकारी गराए ।
त्यसैले नेपालमा पनि त्यो संख्या न्यून हुनसक्ने उनले बताए । त्यसका लागि आफूले भारतमा अभियान नै चलाएको बताए । अभियानअन्तर्गत करिब ५० लाख हस्ताक्षर संकलन भएको पनि उनले जानकारी गराए । १ करोड पुग्नासाथ सरकारलाई बुझाउने उनले बताए ।
नेपालमा पनि त्यसरी ‘राइट टु ल’ अभियान गर्न कसैले अभियान चलायो भने त्यसका लागि आफूले भरपूर सहयोग गर्ने बताए ।
नागरिकको अधिकार पनि भएको जानकारी गराउँदै त्यसलाई सबै दल आबद्ध नागरिकले आत्मसात् गरेर अघि बढ्न सके भविष्यमा सुखद परिणाम आउने सक्ने बताए । उनले भने ‘ जनतालाई कानुनका बारेमा जानकारी गराउन सके मात्र व्यवस्थापिकाले बनाउने कानुनको प्रभाव बढ्न जान्छ ।’

‘राइट टु इन्फर्ममेसन’ पनि सुरुमा भारतबाट सञ्चालित अभियान हो । उक्त अभियानको नेतृत्व दिल्लीका वर्तमान मुख्यमन्त्री अरविन्द्र केजरीवालले गरेका थिए । उक्त अभियानले भारतको संसद्मा प्रवेश पाएसँगै विधेयक पारित भएपछि ऐनको रुप धारण गरेको थियो ।
भारतमा उक्त ऐन पारित भएपछि नेपालमा पनि अन्तरिम संसद्ले ०६४ मा उक्त कानुन बनाएर लागु गरेको थियो । नेपालमा सूचना हक उक्त ऐनको परिणाम हो । साथै सूचना आयोगको परिकल्पना पनि उक्त ऐनको परिणाम हो ।
नेपाल–भारत सम्बन्ध
कार्यक्रममा उनले नेपाल र भारत सम्बन्धका बारेमा पनि चर्चा गरेका थिए । नेपाल भारतको सम्बन्ध सीमानाकाका २२ वटा द्वारले नियन्त्रण गर्न नसक्ने बताए । उनले ४० लाखभन्दा धेरै परिवारमा अन्तरदेशीय वैवाहिक सम्बन्ध रहेको जानकारी गराउँदै नेपालको विकास र प्रगतिका लागि भारत सधैं सहयोगी रहने बताए ।
नेपालको विकास नेपाली आफैंले गरून् भन्ने चाहेको उनले स्पष्ट पारे । उनले नेपाल र भारतका बीचमा साझा संस्कृति, पर्व, संस्कार र आस्था पनि करिबकरिब समान रहेको बताए ।
यस्तो अवस्थामा भारत नेपालमा अन्य देशको जस्तो औपचारिक सम्बन्धमा सीमित हुन नसक्ने बताए । नागरिक तहको सम्बन्ध दुई देशीय सम्बन्धभन्दा प्रगाढ रहेको उनले बताए ।
हामी भारतबासीले नेपाललाई कहिल्यै टाढा मान्दैनौं किनभने हाम्रा आस्था र धर्मका केन्द्र दुवै देशमा अवस्थित छन् । ती स्थानमा आउनजान कुनै रोकावट हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो । साथै सुखदुःखमा पनि एकअर्कालाइ साथ दिएकाे कैयौं उदाहरण रहेको उनले बताए ।
तर नेपालमा केही निहीत व्यक्तीको समुहले नेपाल र भारत समवन्धमा खेल्न चाहेको जानकारी आफुले पाएको उनले बताए । तर त्यस्ता समुह सफल नहुने उनले दाबी गरे ।
त्यस क्रममा उनले २२ वटा नाकाबाट वैधानिक रूपमा आवत–जावत हुने गरे पनि अन्य छिमेकी देशसँग २ वटा नाकाको पारवहन सुविधा रहेको बताए । २२ वटा नाका आवतजावतलाई बिर्सिएर कसैले बाँकी २ नाकाको सम्बन्धलाई तुलना गरेर भारतविरोधी गतिविधिमा संलग्न हुन्छन् भने त्यस्ता समूह आफैं परास्त भएर जाने उनले बताए ।
उनले भने, ‘हामी नेपालसँगको सम्बन्धमा सचेत छौं र सहयोगी बन्न पनि तयार छौ ।’ विगतको नाकाबन्दी पनि आफ्ना तर्फबाट मात्र नभएको बताउँदै यहीँको राजनीतिक असन्तुष्ट समूहले गर्दा हुन गएको बताए । त्यसले दुवै देशलाई क्षति पुगेको उनले बताए । आगामी दिनमा त्यस किसिमको अवस्था सिर्जना नहुने उनले विश्वास दिलाए ।
















































































































































































