४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङका कार्कीको शव नेपाल ल्याउन समस्या

रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ । गत असोज १७ गते साउदीमा काम गर्ने क्रममा निधन भएका कार्कीको शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ ।

साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्कीको अचानक बिरामी भई उपचारका क्रममा निधन भएको हो । मृत्यु भएको दुई साता बित्दा पनि आफन्तले शव बुझ्न पाएका छैनन् । दूतावास र कम्पनीका कारण शव बुझ्न समस्या भएको मृतकका ज्वाइँ रामु कार्कीले बताए ।
विगत ७ वर्षदेखि नर्सरी कम्पनीमा कार्यरत कार्की २० महिनाअघि छुट्टीमा घर आएर फर्किएका थिए । पारिवारिक अवस्था कमजोर रहेका कार्कीको परिवारमा अभिभावक गुमाउनुको पीडा त छँदैछ त्यहीमाथि शव ल्याउन नसक्दा पीडित परिवारलाई थप पीडा भएका छोरी विष्णु कार्कीले बताइन् ।

साउदीका लागि नेपाली दूतावासले कम्पनीले आधिकारिक पत्र लिएर कम्पनीकै प्रतिनिधि आउनुपर्ने भन्दै शव पठाउन नमानेको परिवारले जनाएको छ । ‘कम्पनीले हालसम्मको ज्याला तथा शव पठाउने खर्च दूतावासलाई बुझाइसक्दासमेत दूतावासले हालसम्म शव पठाउन कुनै चासो दिएको छैन’ ज्वाइँ कार्कीले भने । ‘सबैलाई शव नेपाल ल्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।’ मृतकको शव साउदीस्थित एक अस्पतालमा रहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा मृत्यु भएका कार्कीका श्रीमतीसहित चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्