१७ बैशाख २०८१, सोमबार

 

 ‘राष्ट्रिय पूँजीको निर्माण विना औद्योगिक विकास सम्भव छैन’

 

कृष्ण आचार्य, अध्यक्ष आरएम ग्रुप

वर्तमानमा सत्तासीन कम्युनिस्ट पार्टीको अवस्था कस्तो देख्नुहुन्छ ?

यस मानेमा सन्तोष लाग्छ कि ०२७/०२८ सालमा हामीले छरेको (संगठन) बीउको खेती राम्रै भयो । तर दोस्रो र तेस्रो चरणमा आउँदा धानमा डिमाहा मिसिएजस्तो भएको छ ।

म आफंै आइएस्सीको पढाइ छाडेर कम्युनिस्ट आन्दोलनमा हाम फालेको मानिस हुँ । संगठन र कार्यकर्ता बनाउन खटिएँ । त्यही हैसियतमा यो टिप्पणी गर्दै छु । अहिले कम्युनिस्ट पार्टी पेटी ठेकेदारजस्तो भएको छ, उद्देश्य नै राजनीतिमा लागेपछि जसरी पनि कमाउनुपर्छ भन्ने भएको छ । त्यो पनि विनाश्रम वा लगानी ।

पार्टीमा पटकपटक फुटपछि फेरि एकीकरण भए पनि जनताको असन्तुष्टि सम्बोधन हुन सकेको छैन । नेतृत्वको विलासी जीवनशैलीले जनताको विश्वास घट्दो छ । पार्टी र जनताबीच ठूलो ग्याप छ । अहिलेको दुई तिहाइ सरकारलाई यी सबै गुनासा सम्बोधन गर्ने ठूलो अवसर छ ।

सम्बोधन गर्न नसके ठूलो दुर्घटना हुन सक्छ । अहिलेसम्मको इतिहासमा कम्युनिस्टहरू किन स्खलित छन् त भन्दा नेतृत्वकै कारणले हो । भारतमै कलकत्ताको कम्युनिस्ट पार्टीलाई एउटा क्षेत्रीय पार्टीले विस्थापित ग¥यो । त्रिपुरा र केरलको कम्युनिस्ट पार्टीलाई धार्मिक संगठनले विस्थापन गरिदियो । युरोप र सोभियत संघ किन पतन भए भन्ने कुरा अध्ययन गरे पुगिहाल्छ ।

नेपालमा त वामपन्थीलाई जनताले साथ दिएका छन् नि ?

हो, अहिलेसम्म नेपालमा वामपन्थीलाई जनताले साथ दिएका छन् । तर पनि पार्टीले त्यो बुझ्न सकिरहेको छैन । जनता सधैं हाम्रा पक्षमा रहन्छन् भन्ने भ्रम उनीहरूमा छ । त्यसबाट मुक्त हुन आवश्यक छ ।

यहाँको बुझाइमा जनताको भूमिका कस्तो छ ?

नेपाली शूरवीर बनेर प्रख्यात छन् । त्यसैले गोर्खाली भन्नेबित्तिकै विश्वले चिन्छ । नेपालमा संघर्ष गर्न होस् वा बाहिर वीरता प्रदर्शन, मौलिक नेपालीपनकै कुरा आउँछ ।

संर्घषकै परिणाम हो, ०७, ०४६ र ०६३ को आन्दोलन । नेपाली लचिला पनि छन् । ल्याएपछि बिर्सन्छन् पनि । अनरसिप लिन चाहँदैनन् । त्यसैले हाम्रा परिवर्तन संस्थागत हुन नसकेका हुन् ।

माओले क्रान्ति निरन्तर चल्ने प्रक्रिया भनेका छन् तर हामीकहाँ निरन्तर चल्न नसकेको अवस्था छ । मलाई सोधिन्छ, चीनप्रतिको बुझाइ के छ भनेर ।

मैले दिने उत्तर यस्तो थियो– माओले गेट सेट रेडी बनाए । देङसियाङ पिङले गो भने, समाज वा देशलाई अगाडि लगे । मेरो बुझाइलाई ठीक रहेछ भनेर प्रतिक्रिया दिइएको पाएँ । अहिले त्यही जगमा चीन सर्वशक्तिमान् बनेको हो । तर हामीकहाँ अलमल मात्र देखियो । निहित स्वार्थमा नेतृत्व अल्झियो ।

राष्ट्रिय पुँजी निर्माणबिना विकास कसरी होला ?

त्यसतर्फ राजनीतिक इच्छाशक्ति नै भएन ।राष्ट्रिय पूँजीको निर्माण विना औद्योगिक विकास सम्भव छैन ।  १० वर्षमा १० हजार मेगावाट बनाउने भन्ने निर्णय आउनु इच्छाशक्ति हो तर कार्यान्वयनमा नेतृत्व चुक्दै गयो । निश्चित समय र लगानी संरक्षण गरेर कार्यान्वयनमा गएपछि मात्र पुँजी परिचालन हुन्छ । मुलुक गणतन्त्रमा गयो तर ब्युरोक्रेसी पुरानै छ ।

त्यसैले सिकाएको भरमा नेतृत्व चल्छ । संसारभर राजनीतिक पार्टीलाई पैसा चाहिन्छ । नेपालमा पैसा उठाउने जिम्मा कर्मचारीलाई दिइन्छ । त्यहीँबाट भ्रष्टाचार सुरु हुन्छ ।

अन्यत्र त्यस्तो हुँदैन । अमेरिकामा पार्टी कार्यकता र व्यवसायीले नै पारदर्शी तरिकाले दिन्छन् । नेपालमा कर्मचारी नियुक्त, सरुवा र बढुवा गर्दा पनि पार्टीले पैसा उठाउँछन् । त्यहीँबाट भ्रष्टाचार सुरु हुन्छ । यो कुनै अनुमान होइन, अनुभव हो ।

हामीकहाँ लगानीको वातावरण पनि छैन । डंगोटे भन्ने अफ्रिकी लगानीकर्ता आएको करिब एक दशक भयो । उसले यहाँ अहिलेसम्म सञ्चालन भएभन्दा ठूलो सिमेन्ट उद्योग खोल्छु भन्दा उल्टै फर्किनुप¥यो । लगानीको सुरक्षा नभएकैले यहाँ विदेशी लगानीकर्ता आउँछन् भन्ने ग्यारेन्टी छैन ।

म लगानी बोर्डमा सदस्य छँदा डंगोटेलाई स्वीकृति दिएको थिएँ । १० वर्षसम्म पनि उद्योग सञ्चालन गर्ने वातावरण नभएपछि ऊ फर्किएको समाचार पढेँ । हामीले मेट्रो रेल र जलमार्गको कुरा गरेका छौं तर वातावरण बनाएका छैनौं ।

पानी र लगानी एक स्थानमा संगृहीत भएर रहँदैनन् । रहे भने तिनले राष्ट्रिय उत्पादनमा योगदान गर्न सक्दैनन् । हाम्रो अर्थतन्त्रको अवस्था यस्तो छ ।

सम्पत्ति शुद्धीकरण र बैंकिङ लगानीको कुरा गर्दा १० लाखभन्दा बढीको स्रोत खोल्नुपर्ने भएको छ । त्यसले पुँजी पलायन हुन्छ । त्यसको विकल्प मानिसले खोज्नुपर्ने हुन्छ ।

अहिले समानान्तर अर्थतन्त्र चल्ने बेला भयो । सरकार केही कुरामा मौन बसेर लगानी भित्र्याउनुपर्ने हुन्छ तर हामीकहाँ सबै क्षेत्रमा हात हाल्ने तर त्यसलाई परिणामतर्फ लैजान नसक्ने समस्या देखिएको छ ।

नेपालमा विदेशी लगानीको सम्भाव्यता कुन–कुन सेक्टरमा देख्नुहुन्छ ?

अहिलेको सरकारको नीतिले ठूलो लगानी आउने देखिँदैन । तर नीतिमा सुधार गरिए पर्यटन, हाइड्रो, मेडिकल टुरिज्म, शिक्षा, धार्मिक पर्यटन आदिमा सम्भावना छ ।

त्यसका लागि नीति र योजना बनाएर प्रतिबद्धता जनाउन आवश्यक छ । प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ, त्यसका लागि आधार तय गर्नुपर्‍यो । विश्वस्तरका अस्पताल र शिक्षालय खोल्न सक्नुप¥यो । शिक्षा, उपचार र धार्मिक पर्यटनका नाममा अर्बाैं रुपैयाँ बिदेसिएको छ । त्यसलाई रोक्नुपर्‍यो ।

समस्या कहाँ रहेछ त ?

सोच, विचार र व्यवहारमा समस्या छ । अहिले बसाइँ सरेको ५ हजार, नाता प्रमाणित गरेको ६ हजार भन्नेतिर ध्यान गयो । हामीकहाँ कसरी अर्कालाई दुःख दिऊँ भन्ने मात्र ध्यान हुन्छ । त्यसैले हुनुपर्छ, भूपी शेरचनले घुम्ने मेचमाथि अन्धो मान्छे लेखेको । मुखले एउटा कुरा गर्ने, व्यवहार अर्कै हुन पुग्यो । अहिलेको नेतृत्व त्यसैमा सीमित हुन पुगेको छ ।

हाम्रा नेता विज्ञको सल्लाह र सुझाव लिनै चाहँदैनन् । अकबर र वीरबलको कथा सुनेर शिक्षा मात्र लिन सके पनि उपलब्धि हुन्थ्यो । पहिलेका राजा–महाराजाले नौरत्न राखेर सल्लाह–सुझाव लिन्थे रे ! ती नौरत्न भनेका विषयविज्ञ हुने गरेका थिए ।

तर अहिलेका नेतृत्वले आसेपासे राखेर, स्वार्थमा निहित भएर काम गर्ने गरेका छन् जुन दुःखद हो । काम गरे नेपालको भविष्य उज्ज्वल छ । अहिले स्थायी सरकार पनि छ । लोकतन्त्रमा प्रतिपक्षको भूमिका हुन्छ । तर हामीकहाँ सरकार र प्रतिपक्ष आफैं अलमलमा छन् ।

यहाँको व्यवसायिक जीवन कसरी सुरु भयो ?

०२९ सालतिर हुनुपर्छ । पोखरा–काठमाडौंको बसभाडा ३५ रुपैयाँ थियो । त्यस बेला पृथ्वी राजमार्गमा सस्तो भाडाको बस चलाएर व्यवसाय सुरु गरेँ । त्यसपछि पोखरामा होटल चलाएँ, होटल मनदार । रारा चाउचाउ उद्योग सुरु गरेँ । त्यस बेला नेपालमा चाउचाउबारे थाहै थिएन ।

२० वर्ष त्यो उद्योगको नेतृत्व गरेँ । पहिलो वर्ष ८३ हजार कार्टुन चाउचाउ उत्पादन गरेका थियौं । अहिले नेपालमा चाउचाउको दैनिक उत्पादन १ लाख ५० हजार कार्टुन छ । उक्त उद्योगमा सुरुमा १०६ जनाले लगानी गरेका थियौं । पछि ६७ जनाको लगानीमा चलायौं ।

म लगानीकर्ता हुँ, साहू–महाजन होइन । मेरो स्लोगन ‘गो टुगेदर, ग्रो टुगेदर’ भन्ने छ । अहिले पनि संयुक्त लगानीका कम्पनीको नेतृत्व गर्छु । सामूहिक लगानीमा विश्वास गर्छु । श्रमको मूल्यलाई सधैं सम्मान गर्दै आएको छु । मेरो सफलताको सूत्र मजदुरलाई सम्मान गर्नुपर्छ भन्ने हो ।

पारदर्शिता अर्काे सूत्र हो । अवैध र नैतिकताहीन हुने व्यवसायमा मेरो संलग्नता रहेन । त्यसरी गर्दिनँ पनि । सधैं नयाँ–नयाँ काम गर्नुपर्छ भन्ने मान्यताबाट परिचालित छु । अहिले पनि राष्ट्रिय अर्थतन्त्रमा योगदान हुने केही काम गर्न सकियोस् भनेर लागिरहेको छु ।

रारापछि प्रकाशनगृहमा लगानी गरेँ तर अपेक्षित सफलता मिल्न सकेन । बदनामै हुनुपरेको भने होइन । बहुदल आएपछि तीन वर्ष सगरमाथा दैनिक र एभरेस्ट हेराल्ड नामक पत्रिका चलायौं । त्यसपछि रियल स्टेट बिजनेस सुरु गर्‍यौं । त्यसको पहिलो सफल प्रोजेक्ट आरबी कम्प्लेक्स हो ।

पछिल्लो समय धेरै क्षेत्रमा हात हालेका छौं । औषधि, उद्योग, कार्गाे, सफ्टवेयर र हाइड्रोलगायत धेरै सेक्टरमा लगानी छ । मिडियादेखि सेवाक्षेत्रमा लगानी गरेर परिवारलाई पनि व्यवसायमा संलग्न गराउँदै आएको छु । दुई छोरा र बुहारी व्यवसायमै क्रियाशील छन् ।

राजनीतिमा कसरी लाग्नुभयो ?

कक्षा १० अध्ययनपछि संगठित हुन पुगेको हुँ । एसएलसी धरानबाट गरेँ । बुबा ब्रिटिस क्याम्पमा भएकाले धरान पुगेको हुँ । त्यति बेला भारतमा चारु मजुमदारको आन्दोलन चलेको थियो । त्यसैको प्रभावले कम्युनिस्ट आन्दोलनमा लागेँ । त्यस अवधिमा निर्मल लामाको प्रेरणा अहिले पनि सम्झिरहेको छु ।

परिवारको पृष्ठभूमि थाह पाएपछि उहाँले मलाई कम्युनिस्ट पार्टीको सदस्य बनाउनुभएको हो । यो कुरा ०२८ फागुनको हो । क्याम्पस पढ्दापढ्दै छाडेर राजनीतिमा लागेको थिएँ । पारिवारिक जिम्मेवारीले गर्दा राजनीतिमा होलटाइमर भएर हिँड्न सकिनँ । तर क्रान्तिको सधैं समर्थन गरिरहेँ । अहिले पनि आस्था कम्युनिस्ट पार्टीप्रति नै छ । पछि अध्ययनलाई निरन्तरता दिएर स्नातक गरेँ अनि व्यापार–व्यवसायमा लागे ।

व्यापार–व्यवसायमा स्थापित हुन कति संघर्ष गर्नुपर्‍यो ?

यो क्षेत्रमा बुबाको प्रेरणाले लागेको हुँ । उहाँका भनाइ अहिले पनि स्मरणमा छन् । बुबा धरानबाट सरुवा भएर सिंगापुर जानुभयो । परिवारमा ठूलो छोरो भएकोले केही जिम्मेवारीले पनि छोयो । त्यसपछि व्यापार सिक्न भैरहवा पुगेँ । त्यहाँको व्यापार लाहुरे ठग्ने रहेछ ।

त्यसले आकर्षित गरेन । किनकि मभित्र वामपन्थी राजनीतिले जरा गाडेको थियो । श्रमविना आर्जन गर्न मन लागेन । त्यसैले अन्य क्षेत्रको खोजी गरेँ । यातायात व्यवसायमा लागेँ । त्यो पनि दरबारियासँग प्रतिस्पर्धा गरेर आएको हुँ । इमानदारीका कारण यस क्षेत्रमा पछाडि फर्कन परेन ।

त्यस बेला गोपालमान श्रेष्ठका दाजु काजीमान श्रेष्ठसँग मिलेर यातायात व्यवसाय सञ्चालन गरेको हुँ । कम भाडामा गाडी चलाउन सकिन्छ भनेर यस्तो निर्णय गराएका हौं ।

१८ रुपैयाँ भाडा कायम गरेर गाडी चलाउन सुरु गरेका थियौं । प्रतिकिलोमिटर ७ पैसादेखि १३ पैसासम्म भाडा कायम गरेर वैज्ञानिक भाडादर लागू गरेका थियौं । त्यो सम्झिँदा गर्व नै लाग्छ ।

प्रस्तुति मुकेशचन्द्र राजभण्डारी

फोटो : आभाष राजभण्डारी

 

प्रतिक्रिया दिनुहोस्