१७ बैशाख २०८१, सोमबार

 

‘देवताका वकिल’

भारतको अयोध्या विवादमा राममन्दिरको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्ता ९२ वर्षीय पराशरण यति बेला चर्चामा छन् । राममन्दिर साबिक स्थानमै निर्माण हुनुपर्ने उनको दलिललाई सार्थक तुल्याउँदै अन्ततः प्रधान न्यायाधीश रञ्जन गंगोईको ५ सदस्यीय इजलासले शनिबार फैसला गरिदियो ।

मन्दिर निर्माणका लागि ट्रस्ट बनाएर ३ महिनाभित्र काम थाल्नुपर्ने फैसलामा उल्लेख छ । साथै, मुस्लिमको दाबी रहेको बाबरी मस्जिदका लागि पनि अयोध्यामै ५ एकड जमिन उपलब्ध गराउन आदेश दिइएको छ ।

जसरी फैसला राममन्दिरका पक्षमा आयो, वकालत गर्नेहरूका बीचमा पराशरणको पैरवी र उनको तर्कशील बहसको पनि त्यत्तिकै चर्चा छ । पराशरणलाई फैसलाले गर्व महसुस गराएको हुनुपर्छ किनकि गत अगस्टमा चलेको ४० दिन लामो बहसमा उनलाई अदालतले उमेरका कारण बसेर पनि बहस गर्न सक्ने सुविधा दिएको थियो । तर उनले अदालती परम्परा कायम राख्दै उठेरै घण्टौं बहस गरेका थिए ।

करिब १ सय २८ वर्षदेखि विवादमा रहेको विषयमा बहस गर्न पाउनु र आफ्नै जीवनकालमा पक्षमा फैसला आउनु चानचुने उपलब्धि होइन । त्यसैले उनको जीवनको अन्तिम क्षणमा गरिएको यो बहस र ऐतिहासिक फैसलाले उनको जीवनलाई धन्य बनाएको हुनपर्छ ।

उनले ४० घण्टासम्म अदालतमा उभिएर बहस गरेका थिए । पराशरणलाई विपक्षी वकिलले पनि बसेर बहस गर्न आग्रह गरेका थिए । तर उनले ‘म भारतीय वकालत परम्परा पालन गर्न प्रतिबद्ध छु’ भन्दै बस्न अस्वीकार गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

राममन्दिरभन्दा अघि पनि उनले सबरीमाला मामलामा भगवान् अयप्पाका पक्षमा बहस गरेका थिए । सबरीमाला मन्दिरमा महिलालाई प्रवेश रोक लगाउनु उचित भएको उनको तर्क थियो । त्यसै गरी उनले सेतुसमुद्र प्रोजेक्टका बखत पनि रामसेतु बचाउनुपर्छ भनी बहस गरेका थिए ।

त्यस बखत उनले भनेका थिए, ‘भगवान् रामका लागि यति त गर्न सक्छु ।’ यस्तै मुद्दाका कारण उनलाई देवताका वकिल भनेर चिनाइने गरिन्छ ।

सन् १९२७ अक्टोबर ९ मा जन्मिएका पराशरण राज्यसभाका पूर्वसांसद हुन् । उनी सन् १९८३ बाट १९८९ सम्म भारत सरकारको महान्यायाधिवक्ता (अटर्नी जनरल) थिए । पराशरण भारतका प्रसिद्ध सम्मान पद्मभूषण र पद्मविभूषणबाट विभूषित भइसकेका छन् ।

उनी तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको कार्यकालमा संविधानको समीक्षाका लागि गरिएको ‘ड्राफ्ट एवम् एडिटोरियल’ कमिटीमा पनि सामेल थिए । शनिबारको फैसलापछि उनले राम जन्मभूमिका बारेमा न्याय भएको अभिव्यक्ति दिएका छन् । उनले भने, ‘ढिलै सही, सत्यको जित भएको छ । तर उन्माद देखाउन जरुरी छैन ।’

प्रतिक्रिया दिनुहोस्