२१ बैशाख २०८१, शुक्रबार

 

विदेशबाट सुन ल्याउँदै हुनुहुन्छ ? बढ्याे भन्सार दर

सरकारले विदेशबाट ल्याउने सुनको भन्सार महसुल बढाएको छ ।

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहना तथा व्यापारिक प्रयोजनका लागि ल्याइने सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल बढाएको हो ।

५० ग्रामसम्मका सुनका गहनामा कुनै शुल्क नलाग्ने भए पनि ५० ग्राम देखि १०० ग्रामसम्मका सुनका गहनामा प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँ भन्सार महसुल तोकिएको छ।

यसअघि सोही परिमाणको सुनका गहनाको भन्सार दर ७ हजार २ सय थियो।

१०० ग्रामभन्दा बढी अर्को थप १०० ग्रामसम्मको लागि भने प्रति १० ग्रामको दश हजारका दरले महसुल तोकेको छ । यसअघिको महसुलमा सरकारले हजार रुपैयाँ बढाएको हो। तर, त्यो भन्दा बढी सुन ल्याएमा भने सरकारले जफत गर्ने छ ।

यस्तै व्यापारिक रुपमा कारोबार गर्न ल्याइने प्रति १० ग्राम सुनमा भने ६ हजार ५ सय तोकिएको छ। यसअघि त्यसको दर ५ हजार थियो । विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा भने ५० ग्रामसम्मको लागि प्रति १० ग्रामलाई ७ हजार ५ सय महसुल तिर्नु पर्नेछ।

यसअघि सोही परिमाणको भन्सार महसुल ६ हजार २ सय थियो। त्यस्तै, ५० देखि बढी थप ५० ग्रामसम्मको लागि भने प्रति १० ग्रामको ८ हजार ५ सय रुपैयाँ भन्सार दर निर्धारण गरिएको छ । यसअघि सोही परिमाणको सुनको महसुल ७ हजार २ सय थियो ।

यस्तै १० ग्रामसम्म चाँदी ल्याउँदा ५६ रुपैयाँको सट्टा अब ७५ रुपैयाँ तिर्नु पर्ने भएको छ । सरकारले भन्सार दर बढाएपछि कालोबजारी बढ्ने व्यापारीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्