४ जेष्ठ २०८१, शुक्रबार

 

ताराखोलामा सामुदायिक होमस्टे

ताराखोला गाउँपालिकामा बहुउद्देश्यीय रेन्बो ट्राउट होमस्टे सञ्चालनमा आएको छ । होमस्टेको शुक्रबार गण्डकी प्रदेशका उद्योगमन्त्री विकास लम्सालले उद्घाटन गरे ।

कार्यक्रममा उनले प्रदेश सरकार पर्यटन र कृषिमार्फत युवालाई आत्मनिर्भर बनाउँदै समृद्ध गण्डकी बनाउने अभियानमा अगाडि बढिरहेको बताए । ‘गण्डकी प्रदेश प्राकृतिक अस्पताल भएकाले यसभित्रका सम्भावना र अवसर खोजी गरी नीति तथा कार्यक्रम अगाडि बढाइँदै छ,’ उनले भने ।

ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले सामुदायिक होमस्टेले ताराखोलाको पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोलेको बताए । ‘यस क्षेत्रको अर्गानिक उत्पादनलाई पर्यटनसँग जोड्दै यहाँका पर्यटकीय स्थलको विकास तथा स्तरोन्नति गर्न गाउँपालिकाले आवश्यक गृहकार्य गरिरहेको छ,’ उनले भने ।

उक्त होमस्टे निर्माण गर्न गण्डकी प्रदेश सरकारले नगद १० लाख रुपैयाँ प्रदान गरेको थियो । ताराखोलामा अहिले पाँचवटा होमस्टे सञ्चालनमा छन् ।
सामुदायिक होमस्टेमा स्थानीय खानाका परिकार, दरमखोलामा पालिएका रेन्बो ट्राउट माछाको स्वाद लिन सकिन्छ ।

कार्यक्रम उक्त होमस्टेका सञ्चालक पदम खत्री दिवसको अध्यक्षता, सुवास राजभण्डारीको स्वागत मन्तव्य र वडाध्यक्ष जितबहादुर खत्रीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्