१७ बैशाख २०८१, सोमबार

 

‘लकी म्यान’ राजकृष्ण

- श्रेष्ठ २००७ सालमा मन्त्री बनेका गणेशमानका अंगरक्षक

 

राजकृष्ण श्रेष्ठ ९३ वर्ष पुगे । यो उमेरसम्मको उनको जीवनसंघर्ष पुस्तक बनेर आएको छ । अंग्रेजी भाषामा लिखित ‘लकी म्यान’ हालै प्रकाशित भएको हो । नातिनी महिमा श्रेष्ठ र पत्रकार सुन्दर खनालको संयुक्त प्रयासमा तयार भएको पुस्तक १ सय ८७ पेजमा समेटिएको छ ।

काठमाडौंको सामान्य परिवारमा जन्मिएका श्रेष्ठको जीवनगाथा अपत्यारिलो लाग्छ । तर त्यसलाई पुष्टि गर्ने दसी–प्रमाण पुस्तकमा यथेष्ट छन् । वि.सं. १९८४ मा जन्मिएका श्रेष्ठको बाल्यकाल सहज रहेन । आमा सानैमा बितिन् । चेतकृष्ण श्रेष्ठका तीन सन्तानमध्येका कान्छा उनले प्रारम्भिक शिक्षा राजधानीकै जुद्धोदय स्कुलबाट लिए । त्यो स्कुल उनकै काकाका छोराहरू बालकृष्ण र हरिकृष्णको पहलमा खुलेको थियो । यी दुई जना नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहका सहपाठी हुन् ।  गणेशमानले उनीहरूसँगै कलकत्ता पुगेर माध्यमिक तहसम्मको शिक्षा लिएका थिए ।

जुद्धोदय स्कुलमा पहिलो वर्षको विद्यार्थी भए पनि श्रेष्ठले औपचारिक शिक्षालाई निरन्तरता दिन पाएनन् । कक्षा ३ सम्म मात्र पढे । श्रेष्ठ सानैबाट निर्भीक र निडर स्वभावका थिए । उपद्रो पनि गरिरहन्थे । पढाइलाई निरन्तरता दिन नसकेकोमा उनी अहिले पछुतो मान्छन् । तर, यसमा आफू मात्र नभएर तत्कालीन समाज र परिवेश पनि कारण रहेको उनलाई लाग्छ ।

पिता चेतकृष्ण झाेंछेका नामी व्यापारी थिए । स्वावलम्बी स्वभावका उनी स्वआर्जनमा विश्वास गर्थे । पिताकै प्रेरणाले श्रेष्ठ पनि परिश्रमी र व्यावसायिक बन्दै गए । त्यति बेला राणा परिवारसँग पनि निकट सम्बन्ध बनाइरहन सफल भए । उ बेलै मोटरसाइकल चलाउनु, लरीको ड्राइभर बन्नु उनको सोख भयो । त्यही सोख उनको व्यावसायिक सफलताको पाइला बन्न पुग्यो । यसले उनलाई एकातिर रोमाञ्चित बनाइरह्यो, अर्कातिर संघर्ष गर्न सिकायो ।

श्रेष्ठले उल्लिखित प्रसंग पुस्तकको संस्मरणका रूपमा पस्किएका छन् । त्यति बेला लिएको सवारीचालक अनुमतिपत्र अहिले पनि उनीसँग सुरक्षित छ । वसन्तपुर क्षेत्रमा मोटरसाइकल चलाउँदा तत्कालीन प्रशासक कर्णेल चन्द्रबहादुर थापाले उनलाई १ रुपैयाँ जरिवाना गराउन खोजे । तर उनले तिरेनन् । बिनागल्ती जरिवाना नतिर्ने अडान लिए । निर्भीक रूपमा आफ्ना कुरा राखेकै कारण राणाशासकले माफी गरिदिएको उनी सम्झन्छन् ।

फुर्तिलो शरीर र हक्की स्वभावका श्रेष्ठ २००७ सालमा मन्त्री बनेका गणेशमानका अंगरक्षक पनि भए । प्रजातन्त्रका पक्षपाती गणेशमानले राणाप्रति प्रतिबद्ध प्रहरीले सुरक्षाको सट्टा चुनौती थप्न सक्ने ठानेर श्रेष्ठलाई विश्वास गरेका थिए । गणेशमानको विश्वासपात्र भए पनि उनको हेपाहा व्यवहारका कारण पछि छाडिदिएको श्रेष्ठले बताए ।

औपचारिक शिक्षालाई उच्च तहसम्म लैजान नसके पनि उनीभित्र नैतिक चेतनाको प्रचूर विकास भयो । श्रेष्ठको कुशाग्र बुद्धिले एकपछि अर्काे छलाङ मार्दै गयो । उनले व्यावसायिक जीवनमा नेपालमा मात्र नभएर भारतको कलकत्ता, मुम्बई, दिल्ली, जयपुरजस्ता सहरमा पनि सफलता प्राप्त गरे । त्यहाँ आफ्नो ज्वेलरी (गहना) व्यवसाय विस्तार गरे । राणा परिवारका बहुमूल्य जुवाहिरातदेखि गरगहना बिक्री गर्ने माध्यम उनै श्रेष्ठ बन्दै गए । स्वदेशमा आर्जन गरेको यही विश्वासले उनलाई सफल व्यवसायी बनायो ।

भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूदेखि छोरी इन्दिरा गान्धीसम्म उनको पहुँच रहेको पुस्तकबाट जानकारी हुन्छ । यता नेपालमा राणा प्रधानमन्त्री मोहनशमशेर, बीपी, मातृकालगायत व्यक्तित्वदेखि दरबारसम्म पनि उनको पहुँच थियो । मातृभाषा नेवारी रहे पनि नेपाली र अंग्रेजी भाषामा उत्तिकै प्रखर श्रेष्ठ लगनशीलता, परिश्रम र मेहनतबाट नाम र दाम दुवै आर्जन गर्न सफल भएका हुन् । व्यापारिक घराना ज्योति परिवार, वैद्य परिवार र चौधरी परिवारमाझ पनि उनी परिचित छन् । उच्च तहसम्मको आफ्नो पहुँचलाई व्यापार–व्यवसायमा कहिल्यै दुरुपयोग नगरेको उनको भनाइ छ ।

श्रेष्ठले सञ्चालन गरेको पहिलो कम्पनी नेपाल कमर्सियल इन्टरप्राइजेज (एनसिई–सन् १९५९) हो । त्यसैबाट उनले आयात–निर्यात क्षेत्रमा हात हाले । नयाँ सडकमा रञ्जना सिनेमा हल चलाएका श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पनि लगानी गरे । जुद्ध सालिकनजिक काठमाडौं मेडिकल हल सञ्चालन गरेर डा. तुलसी गिरीलाई कन्सल्टेन्ट चिकित्सक बनाएका थिए । सिनेमा हल र मेडिकलबाट राम्रो आम्दानी भएको श्रेष्ठ बताउँछन् । उनले वीरगन्जको भगवती राइस मिल खरिद गरेर खाद्यान्न निर्यात पनि गर्न थाले । यता राजधानीमा गोदावरी मार्बल स्थापना गरे । एकपछि अर्काे व्यवसायमा हात हाल्दै जाँदा पाएको सफलताले उनलाई अहिले पनि गौरवान्वित बनाउँछ ।

नेताहरू बीपी, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायतसँग समदुरीमा सम्बन्ध राख्न सफल श्रेष्ठ शासनव्यवस्था र शासकहरूबारे जानकार छन् । राजा महेन्द्र, वीरेन्द्र र रानी ऐश्वर्यसँग पनि उनी निकट थिए ।

राजा वीरेन्द्रले पञ्चायती व्यवस्थामा मन्त्री बन्न पटकपटक आग्रह गरे पनि आफूले सविनय अस्वीकार गरेको उनी बताउँछन् । राम्रो काम गर्ने वातावरण नभएकाले दोषको भागीदार मात्र हुने गरी पद नलिएको उनको भनाइ छ । मन्त्री नबने पनि उनी वीर अस्पतालको अध्यक्ष भने बने । त्यति बेला स्वास्थ्यमन्त्री नारायण भट्टलाई समेत अटेर गरेर वीर अस्पतालको हाल सञ्चालनमा रहेको भवन निर्माण गर्नुका साथै अस्पताल सुधारको काम गरेको सुनाउँछन् । त्यसबाहेक त्रिपुरेश्वरस्थित आँखा अस्पताल स्थापना गरे । समाजसेवाको काम गर्दा एक पैसा पनि हिनामिना नगरेको उनी बताउँछन् । कतिपय अवस्थामा राजपरिवारले प्रतिबद्धता जनाएका समाजसेवाका कार्य उनी आफैं अघि सरेर गरिदिए ।

श्रेष्ठका चार छोरा छन्– विनोद, सुवर्ण, विक्रम र महेन्द्र । पिताले सञ्चालन गरेको व्यापार–व्यवसायलाई आ–आफ्नै किसिमले सम्हालिरहेका छन् । बैंक, जलविद्युत्, बिमा–वित्त, होटल व्यवसाय र आयात–निर्यातमा अहिले पनि श्रेष्ठ परिवारको लगानी छ । आफ्नै आर्जनले २०२० को दशकमा भारतका लागि तत्कालीन नेपाली राजदूत दमनशमशेर राणाको निवास खरिद गरेका श्रेष्ठ अहिले पत्नीसहित त्यहीँ बस्छन् । बुढ्यौलीसँग विभिन्न रोगको सिकायत छ । तर, यसलाई उनी उमेरअनुसारको उपज ठान्छन् । जीवनमा गुनासो नरहे पनि श्रेष्ठ देश अनाचार, दुराचार र कुशासनले ग्रस्त भएको भन्दै चिन्ता दर्साउँछन् ।

श्रेष्ठको एनसिई कम्पनीले सरकारी विकास–निर्माणका काममा समेत सहयोग पुर्‍याउँदै आएको छ । यो कम्पनीले विभिन्न देशका व्यावसायिक कम्पनीसँग सम्बन्ध बनाउँदै नेपालका विभिन्न परियोजनामा सहकार्य गरेको छ । श्रेष्ठका अनुसार एनसिई नेपालका लागि भारतीय हिन्दवेयर भनेर चिनिने हिन्दुस्तानी सेनेटरी वेयरको आधिकारिक बिक्रेता बन्न सफल रह्यो ।

उनले २०१५ सालअघि नै मेडिकल हल चलाएर नेपाली बजारमा फार्मास्युटिकल्सको आयात सुरु गरे । नेपालको पहिलो इलेक्ट्रिक ट्रलिबस सर्किटको संरचना निर्माणको जिम्मेवारी पनि सफलतापूर्वक सम्पन्न गरेको श्रेष्ठ बताउँछन् । काठमाडौंमा पानी र ढल निकासको पाइप विकासका लागि सामग्री आपूर्तिदेखि सेनाको भवन निर्माणको काम समयमै सम्पन्न गरेको उनको दाबी छ ।

श्रेष्ठका अनुसार ९० सालको भूकम्पका बखत तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले २ लाख ६ हजार ५ सय रुपैयाँ अनुदानस्वरूप जनतालाई वितरण गरेका थिए । त्यति बेला सानै रहेका उनले भूकम्पलगत्तै श्री ३ को रोलक्रममा रहेका कमान्डर इन चिफ रुद्रशमशेरलाई पाल्पा पठाइएको क्षण स्मरण गर्दै भने, ‘राणा परिवारमा वर्गविभाजनले व्यवस्थामै संकट उत्पन्न गरायो ।’

राजदाइका नामले परिचित श्रेष्ठको संघर्षको कथा बुझ्न ‘लकी म्यान’ पढ्नै पर्छ । उनको जीवन–वृत्तान्त अध्ययन गर्दा सुख र दुःख एकै सिक्काका दुई पाटा हुन भन्ने लाग्छ । निष्ठा र कर्मबाटै धन आर्जन गर्न सके कसैको अधीनमा हुनुपर्दैन भन्ने उनको सन्देश छ ।

 

 

प्रतिक्रिया दिनुहोस्