विश्वकै धनी अमेजनका सीईओ जेफ बेजोसलाई बिल गेट्सले यस वर्ष पछि पारेका छन् । शुक्रबारसम्म उनको कुल सम्पत्ति १ सय १० अर्ब डलर पुगेको ब्लुमबर्ग बिलेनायर सूचकले देखाएको छ ।
माइक्रोसफ्टका सहसंस्थापक दुई वर्षपछि शीर्षस्थानमा फर्किएका हुन् । गत वर्षको समान अवधिको तुलनामा सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा अमेजनको नाफामा झन्डै २८ प्रतिशतले गिरावट आएपछि गेट्सले बेजोसलाई छोटो अवधिका लागि उछिनेका थिए ।
यो वर्ष माइक्रोसफ्टकाे सेयर मूल्यमा झन्डै ४८ प्रतिशतले वृद्धि भएपछि गेट्सको सम्पत्तिमा बढेकाे हो । यसले कम्पनीमा उनको हिस्सेदारीको मूल्यमा वृद्धि गराएकाे थियो । अक्टोबरमा माइक्रोसफ्टले अमेजनलाई १० अर्ब डलरको क्लाउड कम्प्युटिङमा पाखा लगाएको थियो ।
यो वर्ष बेजोसले पत्नी म्याकेन्जी बेजोससँगको डिभोर्समा अमेजनको ठूलो हिस्सा गुमाएका थिए । हाल उनीसँग १०८.७ अर्ब डलरको कुल सम्पत्ति छ ।













































































































































































































