२५ भाद्र २०८३, बिहीबार

 

गलकोट घुम्टे महोत्सवमा हेलिकोप्टरमार्फत दृश्यावलोकन

दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिँदै गर्दा स्थानीय माहाेल उल्लासमय बनेको छ । मंसिर ४ देखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा यसपालि हेलिकोप्टरमार्फत पर्यटकीय तथा धार्मिक स्थलको दृश्यावलोकनसँगै पूजाअर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभ्याएकाे छ ।

अहिले यसका लागि आवश्यक गृहकार्य भइरहेको महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ ।

महोत्सवलाई थप आकर्षक बनाउन हेलिकोप्टरमार्फत गलकोटदेखि ढोरपाटनसम्मको दृश्यावलोकनकाे व्यवस्था गर्न लागिएकाे गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राजबहादुर थापाले जानकारी दिए । यसका लागि अहिल्यै टिकट बुकिङ खुला गरिसकिएकाे छ । महोत्सवमा आउने दर्शकको सहजताका लागि विभिन्न प्याकेज तयार गरिएको हेलिकोप्टर व्यवस्थापन समिति संयोजक विराज सुवेदीले जानकारी दिए ।

न्यूनतम शुल्कमा हेलिकोप्टरबाट गलकोट नगर, ताराखोला गाउँपालिका र ढोरपाटनसम्मकाे दृश्यावलोकन गर्न सकिने उनले बताए ।

दोस्रो गलकोट घुम्टे महोत्सव झन्डै १३ वर्षपछि सञ्चालन हुन लागेको हाे ।

हेलिकोप्टर चढ्न कति खर्च ? 

अायाेजकका अनुसार न्यूनतम ५ मिनेटसम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्न पहिला टिकट बुकिङ गर्ने २ सय जनालाई रू. ६ हजार शुल्क लाग्नेछ । त्यसभन्दा पछि बुकिङ गर्न ६ हजार ५ सय रुपैयाँ लाग्ने बताइएको छ ।

त्यस्तै गलकोट घुम्टे शिरमा अवस्थित सिद्धभैरव मन्दिरको दृश्यावलोकनसहित गलकोटक्षेत्रका पर्यटकीय गन्तव्य अवलोकनका लागि १५ मिनेटकाे रू. १५ हजार निर्धारण गरिएको छ । गलकोटसहित नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षको अवलोकन गर्न रू ३५ हजार निर्धारण गरिएको महोत्सव सचिवालय समिति सदस्य भूपेन्द्र खत्रीले जानकारी दिए ।

कुन–कुन दिन उडान ? 

हेलिकप्टर मंसिर ४, ७ र ११ गते उडान हुनेछ । यसका लागि महोत्सवको टाइटल स्पोन्सर प्रभु ग्रुपसँग सम्झौता भइसकेकाे गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले जानकारी दिए  । महोत्सवमा गलकोट, ताराखोला र ढोरपाटनसम्मको आकाशमा प्रभु हेलिकोप्टरले उडान भर्नेछ ।

अहिले देशविदेशबाट टिकट बुकिङ भइरहेको केन्द्रका सचिव शेरबहादुर थापाले जानकारी दिए । अनलाइन र टेलिफाेनबाट पनि टिकट बुकिङ गर्ने सुविधा छ । यसका लागि माेबाइल नम्बर ९८५११७३५८५ मा सम्पर्क गर्न सकिन्छ । त्यस्तै तलकाे लिंकमा गएर अनलाइन बुकिङ पनि गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung