१७ बैशाख २०८१, सोमबार

 

नेतृत्वलाई संस्था चलाउन गाह्रो छ

निर्माणकुमार श्रेष्ठ (वासु ),

केन्द्रीय सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

 

पछिल्ला दिन महासंघमा निकै विवाद देखियो नि ?

विवाद समाधान भइसक्यो । गत कात्तिकमा बसेको पदाधिकारी बैठकले नयाँ कार्यकालका लागि वर्तमान उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने सहमति जुटाएको छ । देश नै विवादबाट चलेको अवस्थामा संघसंस्थाको विवादलाई सामान्य नै मान्नुपर्छ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने वैधानिक व्यवस्था किन विवादित भयो ?

अहिलेसम्म हाम्रा कतिवटा संविधान बने ? संविधानअनुसार नचल्दा देशले अहिलेको अवस्था भोग्नुपरेको हामीलाई अवगतै छ । हाम्रो संस्थामा पनि एकपटक बनाएको नियमविरुद्ध केही साथीलाई आपत्ति लागेकाले विवाद भएको हो । व्यक्तिवादी प्रवृत्तिको यो विवाद संस्थागत निर्णयले समाधान भएको छ । यो व्यक्ति–व्यक्तिबीचको इगोको कारण उत्पन्न विवाद थियो । अहिले विधानमा भएको पुरानै व्यवस्थालाई निरन्तरता दिने सहमति भएको छ ।

वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने व्यवस्था कायम भएको अवस्थामा शेखर गोल्छापछिको नेतृत्व कसको पोल्टामा पर्दै छ ?

वरिष्ठ उपाध्यक्ष चयन गर्ने परम्पराअनुसार आगामी नेतृत्वले कसलाई त्यो हैसियतमा राख्छ, हेर्न बाँकी छ । तर अहिलेसम्म देखिएका उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानबीच सुषुप्त प्रतिस्पर्धा देखिन्छ । बाँकी भविष्यले नै निर्धारण गर्नेछ ।

वरिष्ठ उपाध्यक्षका लागि प्रधान र ढकालबीच चुनाव भए तपाईं कसलाई मतदान गर्नुहुन्छ ?

मैले खुलेर भन्न मिल्छ–मिल्दैन ? मिल्छ भने क्षेत्रीयतालाई समर्थन गर्नु मेरो नैतिक धर्म हुनेछ । ढकालजी स्वयं बागलुङकै हुनुहुन्छ । मेरो नैतिक समर्थन उहाँलाई रहनेछ ।

महासंघको निर्वाचनमा पछिल्ला वर्ष दलीय प्रभाव देखिन्छ नि ?

देश नै राजनीतिबाट परिचालित भएको अवस्थामा उद्योगी र व्यापारीबीच नहुने समस्या भएन । सुरुका दिनमा विशुद्ध व्यापारिक छवि भएका बीच प्रतिस्पर्धा हुन्थ्यो । तर अहिले पृष्ठभूमिमा राजनीतिक चलखेल छ । छैन भन्न सक्ने अवस्था छैन । तर पनि अन्य संघसंस्थामा जस्तो दलीय ब्यानरै बोकेर निर्वाचन भएको छैन ।

दलीय प्रभावले संस्थाको गरिमामा आँच पुर्‍याएजस्तो लाग्दैन ?

आँच पुगे पनि अहिलेसम्म साख जोगिएको छ । किनकि यहाँ आउने व्यापार, उद्योग र व्यवसाय क्षेत्रकै हुने गरेका छन् । यत्ति हो, कसैलाई दण्डित र आरोपित गर्दा दलहरूको आडमा हुने गरेको छ । कारण भनिरहन नपर्ला । साँच्चै भन्नुपर्दा नेतृत्वले संस्था चलाउन गाह्रो छ । नयाँ–नयाँ सदस्यको संख्यासँगै महत्त्वाकांक्षा पनि बढ्दो छ । संस्कार र पद्धति भत्किँदो अवस्था छ । त्यसैले गुटबाट फुट भएका उदाहरण पनि छन् । देशकै लागि यो संस्कार समस्या बनेर आएको छ ।

परिसंघ पनि संघभित्रको राजनीतिको उपज हो, है ?

यो पहिलेको हो । संघको अध्यक्षमा पद्मज्योति र विनोद चौधरीको प्रतिस्पर्धापछि जन्मिएको हो । केही मारवाडी समुदायका साथी जम्मा गरेर परिसंघ जन्माए पनि अनुमान गरिएजति क्रियाशील हुन सकेन । संस्थाको गरिमा र इतिहासमा त्यसले केही नराम्रो छाप छाडेको छ । तर पनि भावी अध्यक्ष मारवाडी समुदायका शेखर गोल्छा सुनिश्चित भएका छन् । उनको कार्यकालले संस्थालाई कुन दिशातिर डोर्‍याउँछ, प्रतीक्षाको विषय भएको छ ।

आगामी कार्यकालमा यहाँको आकांक्षा ?

म बागलुङबाट केन्द्रीय सदस्य छु । आगामी कार्यकालमा पनि त्यही पदलाई निरन्तरता दिनुपर्छ भन्ने साथीहरूको सुझाव छ । मैले पनि त्यही सोच बनाएको छु ।

यहाँको व्यावसायिक जीवन कसरी सुरु भएको हो ?

०४६ सालमा एसएलसीपछि अध्ययन गर्दा बुटवल झरेको थिएँ । बुबाले कपडा व्यवसाय गर्दै आए पनि मैले गल्लाको व्यापारबाट आफूलाई यस क्षेत्रमा प्रवेश गराएको हुँ । पछि पिताकै व्यापार सम्हाल्न आएँ । अहिले पनि कपडा व्यापारमा छु । आगामी दिनमा पर्यटन र होटल व्यवसायमा लगानी गर्ने योजना बनाएको छु । खास गरेर धवलागिरि अञ्चलको सेरोफेरोमा मेरो व्यवसाय केन्द्रित हुनेछ ।

बागलुङ त आफैं पुरानो व्यापारिक स्थल हाे नि ?

हो । राणाशासनमा काठमाडौंपछि पाल्पा र बागलुङ व्यापारिक स्थलका रूपमा विकास भएका थिए । आर्थिक हब पनि भएकाले बागलुङको विगत समुन्नत मानिन्छ । अहिले पोखराको विकासले केही ओझेल पारे पनि पर्यटकीय स्थलको प्रवर्धनसँगै सम्भावनाको क्षेत्र बनेको छ ।

बागलुङका पर्यटकीय सम्भावना के–के हुन् ?

बागलुङ आफैंमा आत्मनिर्भर क्षेत्र हो । कपडादेखि राडी, पाखी, कम्बललगायत हातबुना सामान उत्पादन हुन्छन् । यिनलाई संवर्धन गर्न आवश्यक छ । अर्कातिर प्राकृतिक र पौराणिक महत्त्वका स्थल प्रशस्त छन् । पछिल्लोपटक यहाँ कालिका मन्दिरको दर्शनसँगै मुक्तिनाथ जाने पर्यटकको आगमन हुने गरेको छ । साथै पञ्चकोटको विकासले पर्यटकको संख्या वृद्धि भइरहेको छ ।

पर्यटन विकासका लागि अरू के गर्दै हुनुहुन्छ ?

अंग्रेजी वर्ष २०२० को सुरुआतमा बागलुङ महोत्सव गरिँदै छ । त्यसका साथै पर्यटन प्रवर्धनका लागि होटल व्यवसायमा लगानी थपिँदै गएको छ ।

महोत्सव सफल बनाउन के गरिरहनुभएको छ ?

महोत्सवलाई कसरी पर्यटनमैत्री बनाउन सकिन्छ भनेर प्रचारप्रसारमा जोड दिएका छौं । जिल्ला उद्योग वाणिज्य संघले त्यसलाई नेतृत्व गरिरहेको छ । केन्द्रका व्यापारीलाई बागलुङसम्म पुर्‍याउन मैले पहल गरिरहेको छु । साथै सरकारले पनि सघाउने प्रतिबद्धता जनाएको छ । उद्योगी–व्यापारी आफ्ना उत्पादन र डिलर त्यहाँ राख्न उत्सुक देखिनुभएको छ । यसपटक करिब १२ करोडको व्यापार हुने अनुमान गरिएको छ ।

अन्त्यमा केही ?

मिडियालाई पनि महोत्सवको प्रचारप्रसारमा सघाउन आग्रह गर्छु । किनकि पर्यटन प्रवर्धनमा मिडियाको जति भूमिका अरूको हुँदैन । हामीलाई साथ–सहयोग गरेर बागलुङ महोत्सव सफल बनाउन प्रोत्साहन गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्