४ जेष्ठ २०८१, शुक्रबार

 

लोकवार्ता सम्मेलन सम्पन्न

मंसिर २७ गतेदेखि सुरु भएको ‘सातौं अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन’ सम्पन्न भएको छ । ‘नेपाली लोकवार्ता तथा संस्कृति समाज’को आयोजनामा गरिएको सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, बेलायत, अमेरिका, जापान, स्पेनलगायत मुलुकका प्रतिनिधि सहभागी थिए ।

समाजका अध्यक्ष संस्कृतिविद तुलसी दिवसका अनुसार सम्मेलनमा ८६ वटा सम्मेलनपत्र प्रस्तुत गरियो । त्यसैगरी विदेशी पाहुनाहरूलाई काठमाडौं उपत्यकाको ऐतिहासिक, सांस्कृतिक धरोहरहरूको अवलोकन गरे । सम्मेलनका प्रतिनिधिले लोकसंस्कृति, परम्परा, पर्यावरणलगायत विविध विषयमा सम्मेलनपत्र प्रस्तुत गरे । त्यसैगरी विभिन्न देशको लोकबाजा, लोकनाचसमेत प्रदर्शन गरिएको थियो ।

सम्मेलन उद्घाटन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली लोकजीवन र परम्पराको संरक्षण हुनुपर्ने बताएका थिए । ‘घरको चुलामा आगो बल्न छोड्यो, ढिकीमा चिउरा कुट्न छाडे यी र यस्तो हाम्रो संस्कृतिमा धब्बा लाग्दै गयो,’ परिवर्तनशील समयको चापलाई रोक्न नसकिने उल्लेख गर्दै उनले भने, ‘हाम्रा पुर्खाहरू सयौं वर्ष लगाएर आर्जन गरेको सीप, ज्ञान, परम्पराहरू भावी पुस्तालाई कम्तिमा संग्रहालय बनाएर र साहित्य लेखेर साँच्न जरुरी छ ।’

सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका थिए । नेपाली लोकवार्ता तथा संस्कृति समाजका अनुसार सम्मेलनले नेपाली लोकवार्तालाई अन्तरराष्ट्रिय मञ्चमा पुग्न थप सहज भएको छ ।

 

लाेकवार्ता सम्मेलनमा मन्तव्य राख्दै संस्कृतिविद् सत्यमोहन जोशी ।

प्रतिक्रिया दिनुहोस्