४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङमा सुनिए तीन सर्जक

पुसको ठिही पनि शनिबार केहीबेर गर्मायो । रसिला–चोटिला सिर्जनाको रसस्वादनमा यहाँका वाङ्मयप्रेमी भुले । ‘एक मञ्च, तीन सर्जक’ कार्यक्रममा कवि, गजलगो र मुक्तककार एकसाथ सुनिए ।

काव्यका विविध विधालाई साहित्य पारखीले एकै मञ्चमार्फत सुने । अनुभूत गरे । कार्यक्रमको तारतम्मे मिलाएको थियो, हातेमालो साहित्य सङ्गम, बागलुङ शाखाले ।

पर्वतका कवि ओमप्रसाद घायल, म्याग्दीका गजलगो शङ्कर चोखाल र बागलुङका मुक्तककार ताराप्रसाद शर्मा ‘स्टार’ रचनासाथ मञ्चस्थ भए । कार्यक्रममा घायलले ६ कविता, चोखालले ९ गजल र शर्माले १५ मुक्तक प्रस्तुत गरे ।

‘घरमा आगो लाग्यो भने दमकल आउँछ
जब दमकलमा आगो लाग्छ केले निभाउँछ ।’

गजलगो चोखालले सुनाएको पहिलो शेरमै गजलप्रेमी मुग्ध देखिए । दर्शकदीर्घाबाट ताली गुञ्जियो । चोखालले गजलका बाँकी शेर सुनाए–

‘ल तपाईँ भनिदिनुस् त एउटा अनुत्तरित प्रश्न सोध्छु
तपाईँलाई आलरामले उठाउँछ कि कर्तव्यले उठाउँछ ।’

प्रणय भावमा गजलो चोखाल यसरी प्रस्तुत भए–

‘आँशु, आँशु मात्रै भएको छैन, नदी भएको छ
तिमीलाई सम्झीरहनु पनि त प्रगति भएको छ ’

तीनै सजर्ककका रचनाले समाज र जीवनका बहुलमुद्दालाई पक्डेका थिए । विसङ्गतपूर्ण राजनीति, अव्यवस्थादेखि मानवीय प्रेम र संवेदना सिर्जनामा मुखरित भएको प्रतित हुन्थ्यो । कवि घायलले आमाप्रति समर्पित कविता सुनाउँदा प्रेक्षालयमा सन्नाटा छायो ।

‘डाँडामा घाम डुब्नुअघि
सडकको पर परसम्म आँखाहरु ओछ्याएर
तिमीले त्यसरी नै
कुर्दीहौली आमा मेरो निठुर बाटो
तर तिमीलाई उधारो भाखा दिएर
म पनि जल्दैछु, एउटा पश्चतापको अग्नी ।’

कवि घायलले आमा, फूलमाया, बलेवामा जहाजलगायतका शिर्षकमा कविता सुनाए ।

२७ वर्षदेखि बन्द बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउँदाको अनुभूति उनको कवितामा यसरी प्रकट हुन्छ–

‘कुनै बेला बलेवाको आकाशमा जहाज उड्दा
मेरी हजूरआमाले भन्नुहुन्थ्यो
ए हवाईजहाज मेरो नातिलाई पैसा फालिदे
हजूरआमाको त्यो भनाइ सुनेर
मेरो बाल मष्तिस्कमा
एउटा सपनाको अँकुरण भएको थियो
त्यो जहाजले कुनै दिन
मेरा लागि पैसा फालिदिनेछ ।’

बिडम्बना, डेढ वर्षअघि रचित कविता पुरानो हुन नपाउँदै विमानस्थल भने पुनः बन्द भएको छ । विमानस्थलको नाममा रचित कविता सुनेर कार्यक्रमका प्रमुख अतिथि एवम् बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल पनि प्रभावित भए । कविताको नामै लिएर उनले कवि घायललाई धन्यवाद प्रकट गरे । नगरपालिकाले विमानस्थल सञ्चालनको लागि गरेको पहल धेरैदिन टिकेन ।

बागलुङका सर्जक शर्मामा रसिला–भरिला मुक्तकले कार्यक्रम रोचक बन्यो । प्रायः गजल र मुक्तकमा रमाउने शर्माले योपाली मुक्तकमात्र सुनाए ।

‘देशको सिमानामा बार लगाउनु प¥यो सरकार
पिल्लर हराए काँडे तार लगाउनु प¥यो सरकार
बैरीले आमाको छाती कुल्चिदैँ छ पटक–पटक
लौ न अब खुकुरीमा धार लगाउन प¥यो सरकार ।’

शर्माले देश प्रेमयुक्त मुक्तक सुनाउँदा प्रेक्षालयबाट वाहीवाही आउँथ्यो । समाजका वथेती, विसङ्गतीमाथि प्रहार गर्ने खुबी शर्माका मुक्तकलले राख्छन् । प्रणय र श्रङ्गाररसमासमेत उनको कलम चल्छ ।

शर्माको गुनासो मुक्तकमा यसरी पोखिन्छ–

‘जो आफ्नो हुँदैनन् उनैमा जाँदो रहेछ मन
पित्तल कहाँ हेर्छ र, सुनैमा जाँदो रहेछ मन
लाखौँ ताराहरु छन् त्यो आकाशमा हेर त
मान्दैन रत्ति अहँ, जुनैमा जाँदो रहेछ मन ।’

छोटो र रसिलो काव्य विधा मुक्तकले साहित्यानुरागीको मन जित्यो । कार्यक्रममा शुरसाधना सङ्गीत विद्यालय बागलुङका कलाकारलेसमेत साङ्गीतिक प्रस्तुती दिए । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख पौडेलले सिर्जनाले समाजको यथार्थ उजागर गर्नुपर्ने बताए ।

“भासा, साहित्यको संरक्षण र प्रवद्र्धनमा हामी सहकार्य गर्न तयार छौँ”, उनले भने । नगरप्रमुख पौडेलले बागलुङमा राष्ट्रिय स्तरको साहित्यक कार्यक्रम गर्ने इच्छा रहेको उल्लेख गरे ।

साहित्यकार काजी रोशन र दिल शिरीषले सर्जकहरुको मनोबल उच्च राख्न यस्ता कार्यक्रमले सहयोग पुग्ने धारणा राखे । सर्जक र पाठकलाई जोड्न ‘एक मञ्च, तीन सर्जक’ कार्यक्रम आयोजना गरिएको सङ्गमका अध्यक्ष सरु पौडेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस्