२० बैशाख २०८१, बिहीबार

 

गलकोट समाज जापानको आयोजनामा सांस्कृतिक कार्यक्रम

गलकोट समाज जापानले बिहिबार राजधानी टोकियोमा सांस्कृतिक कार्यक्रम गर्दै छ । अङग्रेजी नयाँ वर्ष २०२० को अवसरमा बृहत सांस्कृतिक धमाका गर्न लागिएको संस्थाका अध्यक्ष दिलु खत्रीले जानकारी दिए ।

समाजले प्रत्येक वर्ष नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रण गरिएको छ । बिहीबार टोकियोमा हुने उक्त नयाँ वर्ष धमाकामा चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत, सम्झना लामिछाने, सुर्य खडका, प्रश्ना पाण्डेलगायतले आफनो सांगितिक प्रस्तुति दिने कार्यक्रम छ ।

विगतका वर्षमा समाजले जापानका विभिन्न शहरहरु ओसाका, नागोया र टोकियोमा बृहत साँस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ ।

यस वर्ष भने टोकियोमा मात्र कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । समाजले सन २००६ देखि जापानमा सक्रिय रहँदै आएको छ । स्थापनादेखि नै समाजले गलकोटको विकास र समृद्विमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको संस्थाका महासचिव कृष्ण केसीले जानकारी दिए ।

रोजगारीको सिलसिलामा गलकोटदेखि जापान आएका सम्पूर्ण गलकोटेहरुको साँझा सस्थाको रुपमा परिचित गलकोट समाज जापानले नेपालमा आई परेका विभिन्न विपदका समयमा समेत सहयोग गर्दै आएको छ ।

नेपाली पन संस्कृति र परम्परा साथै भाषाको जगेर्ना गरि विदेशमा बस्दा पनि नेपाली पनका लागि नेपाली कलाकारहरुका साथ आफूहरुले प्रत्येक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको उनले बताए ।

विगतमा जस्तै यो वर्ष पनि गलकोट समाज जापानले विशुद्व परोपकारी कार्यमा जापानबासी नेपालीहरुको अपार माया पाउने अपेक्षा गरेको छ । साथै समाजले नेपालमा कम आर्थिक अवस्था रहेका विद्यार्थीहरुको पढाई एवम् स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ । भूकम्प पछिको उद्दार एवम् रहतमा आफूले राम्रो काम गर्दै आएको समाजले आगामी दिनमा पनि नेपालका विभिन्न क्षेत्रमा काम गर्ने जनाएको छ ।

समाजले गरेको कार्यक्रमबाट उठेको रकमबाट समाजले एम्वुलेन्स खरिद गरि नेपालमा हस्तान्तरण गर्ने समाजले जनाएको छ । आज टोकियो निसी आरआईमा हुने बृहत सांस्कृतिक धमाकामा सहभागी भई कार्यक्रम भव्य रुपमा सफल पार्न समाजले अपिलसमेत गरेको छ

प्रतिक्रिया दिनुहोस्