१७ बैशाख २०८१, सोमबार

 

‘स्वदेशीलाई संरक्षण नगरी विदेशी लगानी आउँदैन’

-पशुपति मुरारका
पूर्वअध्यक्ष, उद्योग वाणिज्य महासंघ

बागलुङमा के–के सम्भावना छन् भन्ने निर्णय गर्न यहाँको भौगोलिक अवस्था अध्ययन गर्नुपर्छ । विकासका लागि जिल्लामा आधारित भएर काम गर्नु आफैंमा महत्त्वपूर्ण हो । विकास र लगानीकेन्द्रित रहेर कार्यक्रम गर्नु झनै विशेष । त्यसका लागि सम्भावना पहिचान गर्न सक्नुपर्छ । यहाँको सम्भावनाले यो जिल्लालाई उद्योग–व्यवसायमा अगाडि ल्याउन मद्दत गर्छ नै ।

यहाँको ऊर्जा, पर्यटन, जलविद्युत्, सेवामूलक क्षेत्रमा राम्रो सम्भावना देखिन्छ । हामी लगानीकर्ता सधैं उपयुक्त अवसरको खोजीमा हुन्छौं । हामी धेरै सेक्टरमा लगानी गर्न सक्छौं । माथि उल्लिखित क्षेत्रलाई पहिचान गर्न सके खुसीको कुरा नै हुनेछ । साथै यहाँको अवसर र सम्भावनाबारे भन्नुपर्दा लोकल चुनौती के छन्, त्यसको पनि अध्ययन गर्नुपर्छ । लगानी वृद्धि गराउन स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ । वर्तमान समयमा देश संघीयतामा गएको छ । स्थानीय सरकार झनै बलिया भएका छन् । लगानीको वातावरण सिर्जना गर्न स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ । जस्तै– करको निर्धारण, बाटो–बिजुलीको सुविधाका साथै जग्गाको उपलब्धता आदि । हामी कर नै छुट चाहिन्छ मात्र भन्दैनौं ।

यहाँ पनि वन, वातावरण, खानी, पर्यटनका क्षेत्रमा सम्भावना छन् । कुन क्षेत्रमा लगानी गर्दा स्थानीय सरकारको कस्तो सहयोग रहन्छ भन्ने सवाल महत्त्वपूर्ण हो । कति सुविधा वा छुट दिने भन्ने कुरा हो । कुन प्रदेशले कति छुट वा सुविधा दिन्छ भन्ने कुरा हाम्रा लागि महत्त्वपूर्ण रहन्छ । किनकि हामी अवसरका लागि देशभर नियालिरहेका हुन्छौं ।

संविधानले दिएको अधिकार र अवसरलाई हामीले कति पालना गरेका छौं भन्ने पनि महत्त्वपूर्ण हुन आउँछ । कतिपय स्थानमा संविधानले दिएको छुटलाई अवमूल्यन गर्दै शतप्रतिशत कर निर्धारण गरिएका छन् । त्यस्तो अवस्थामा बाह्य लगानी भित्रिने सम्भावना न्यून रहन्छ ।

बागलुङमा लगानीको सम्भावना छ तर त्यसका लागि यहाँका स्थानीय र प्रदेश सरकारले निश्चित योजना बनाएर लगानीकर्तालाई आकर्षण गर्न सक्नुपर्छ । बागलुङ आफैंमा यस क्षेत्रको आर्थिक जोन हो । तीन जिल्लाको नाका पनि पर्छ । नयाँ लगानी गर्न आउँदा सुरक्षाको प्रत्याभूति पनि हुन पर्छ । लगानीकर्ता कतिपय अवस्थामा मुनाफा आर्जन गर्न मात्र आउँदैन, सामाजिक उत्तरदायित्व बहन गर्न पनि आइरहेको हुन्छ । सामाजिक उत्तरदायित्वको सवालमा स्थानीय सरकारले गर्ने व्यवहार महत्त्वपूर्ण रहन्छ । जस्तै– बाटो, बिजुली पुल, पुलेसा, मन्दिर, विद्यालय भवन निर्माणजस्ता सवालमा पनि उसले आफ्नो उत्तरदायित्व बहन गरिरहेको हुन्छ । त्यसले थप लगानीको सम्भावना सिर्जना हुन्छ । ती सबै पक्षलाई लगानीकर्ताले हेरिरहेको हुन्छ । साथै स्थानीय नेतृत्व र सरकारी कर्मचारीको व्यवहार पनि महत्त्वपूर्ण रहन्छ ।

बाह्य लगानी भित्र्याउने काम मुख्य त सरकारले गर्नुपर्छ । नेपालमा अहिले विभिन्न कठिनाइका बावजुद उद्योगी–व्यवसायीले लगानी गरिरहेको अवस्था छ । व्यवसायीले मुनाफा त कमाउँछ नै, उसले कमाइको केही हिस्सा अन्यत्र व्यापार–व्यवसाय वृद्धि गर्न लैजान चाहन्छ । त्यसका लागि सरकारले वातावरण मिलाइदिनुपर्छ । यो मेरो आफ्नो अनुभव पनि हो । बाह्य लगानीको कुरा गरिरहँदा म आफैं विश्वस्त हुन नसकिरहेको अवस्थामा मैले अरूलाई यहाँ लगानी गर्न आऊ भन्न सक्ने अवस्था रहँदैन । त्यसैले सरकारले स्वदेशी लगानीकर्ताको लगानी संरक्षण गर्नु पहिलो कर्तव्य हो । अनि मात्र वैदेशिक लगानीकर्ता आउने सम्भावना रहन्छ ।

देङ सिआओ पिङले सन् १९९० को दशकमा उदारवादी अर्थव्यवस्था अवलम्बन गरेर चीनको अर्थतन्त्रलाई सुधारको दिशामा अघि बढाएका थिए । त्यस क्रममा उनले निजीक्षेत्रको लगानीलाई स्विकारे । हाम्रो नेतृत्वले पनि समाजवादको दिशामा अग्रसर भइरहँदा कुन मोडलको समाजवाद अवलम्बन भएको हो, बिर्सन हुँदैन । कम्युनिज्म समाजवादमा लागेको हो भने स्पष्ट भन्न सक्नुपर्‍यो । राज्यनियन्त्रित अर्थव्यवस्था हाम्रो लक्ष्य हो । नभए लोकतान्त्रिक समाजवादले शिक्षा, स्वास्थ्य, रोजगारी ग्यारेन्टी गरी निजी क्षेत्रको सहभागितालाई स्विकार्दै अघि बढ्ने लक्ष्य राख्छ ।

मेरो अनुभवमा वर्तमान सरकार लक्ष्य र उद्देश्यमा ‘कन्फ्युजन’मा छ । त्यस्तो हुन हुँदैन । पुँजीवाद विश्वले स्विकारेको व्यवस्था भएको छ । लगानी वृद्धि गर्न पुँजीवादलाई अंगीकार गरेर अघि बढ्नुको विकल्प छैन । नेपालमा उद्योगी–व्यवसायीको नेतृत्व गर्ने छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ नै हो । पछिल्लो साढे २ वर्षको अवधि आफैंमा खिचातानी गरेर बितेको महसुस भइरहेको छ । महासंघ पहिले नै निर्णय भइसकेको नीतिगत विषयमा अल्झिएर बस्यो । अहिले ढिलै भए पनि पूर्ववत् निर्णय स्विकार्ने निर्णय गरेको छ । उपाध्यक्ष स्वतः अध्यक्ष हुने निर्णय आखिर पारित भएको छ । यो स्वागतयोग्य छ ।

अन्त्यमा,
बागलुङको यो बसाइले मलाई यहाँको अवसरबारे सोच्न बाध्य बनाएको छ । किनकि एउटा उद्योगी–व्यवसायी नयाँ स्थानमा आउँदा त्यहाँको अवस्था अध्ययन गरेर अवसरको खोजीमा रहेको हुन्छ । म सिरहाको लहानमा जन्मिएको मानिस । अहिले मेरो लगानी पश्चिम बाँकेसम्म विस्तार भएको अवस्था छ । छेउकै जिल्ला पर्वतसम्म मेरो लगानीका व्यवसाय छन् भने बागलुङ आउँदिनँ भन्ने सवाल रहँदैन । यहाँको स्थानीय सरकारले त्यो वातावरण सिर्जना गर्‍यो भने म लगानी गर्न इच्छुक छु । बागलुङ आफैंमा यस क्षेत्रको आर्थिक जोन भएको तथ्य र इतिहास मलाई अवगत छ ।

रह्यो यहाँका उद्योगी–व्यवसायीलाई कस्तो सम्भावना छ भन्ने कुरा, यहाँ लगानीको अपार सम्भावना छ । सम्भावनाका बीच नकारात्मक अवस्था पनि सिर्जना हुन सक्छ । त्यसलाई सामना गरेर वातावरण बनाउने काम स्थानीय सरकार, व्यवसायीबीचको सहयोग र समझदारीले हो । चुनौती सामना गर्दै अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । निजी क्षेत्र पनि विकास–निर्माणमा सहभागी हुँदै लगानीमैत्री वातावरण तयार गर्नुपर्छ । बागलुङका खानीहरू उत्खनन गरेर उद्योग–व्यवसाय सञ्चालन गर्न सकिन्छ । यहाँको प्राकृतिक मनोरमतालाई पर्यटकीय गन्तव्य बनाएर लगानी भित्र्याउन सकिने सम्भावना पनि छ ।

(मुरारकासँग बागलुङमा लगानी बहसका  लागि आएका बेला विमल खड्काले गरेकाे कुराकानीमा आधारित)

 

प्रतिक्रिया दिनुहोस्