विन्ध्याबासिनी हाइड्रो पावर कम्पनीले लमजुङमा निर्माण भएको ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत आयोजनाको उपकरण परीक्षण (ड्राइ टेष्ट) को काम पूरा भएको छ । उपकरण परीक्षण सकिएकाले आज शनिबारदेखि विद्युत उत्पादनको तयारी गरिएको छ ।
निर्माण सम्पन्न आयोजनाको विद्युतगृहमा जडान भएको टर्बाइन, जेनेरेटर, कन्ट्रोल प्यानल, ब्रेकरलगायत उपकरणको परीक्षण पूरा गरिएको आयोजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । आजसाँझदेखि विद्युतगृहमा पानी पठाएर (वेट टेस्ट) उत्पादन सुरु गरिने उनले बताए ।
‘आन्तरिक उत्पादन परीक्षणपछि नेपाल विद्युत प्राधिकरणको प्रणालीमा विद्युत पठाइन्छ,’ उनले भने, ‘प्राधिकरणले परीक्षण पूरा गरेपछि फागुन पहिलो साताबाट उत्पादित विद्युत औपचारिक रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।’ उत्पादित विद्युत ९ किलोमिटर दूरीको मुग्रेबेँसी सबस्टेसनमा जोडिनेछ ।
आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि मनसुन बढी सक्रिय हुँदा र बाढीले आयोजनाको संरचनामा क्षति पुर्याउँदा समय लिम्बएको कम्पनीले जनाएको छ । १ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सानिमा बैंकको अगुवाइमा ५ बैंकले ऋण लगानी गरेका छन् । कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ ।













































































































































































































