ऊर्जा मन्त्री वर्षमान पुनले बागलुङको ढोरपाटनमा बन्न लागेको करिब ८ सय मेगावाट क्षमताको उत्तरगंगा जलाशययुक्त परियोजना बागलुङमै बन्ने बताएका छन् । सोमबार मन्त्री पुनले उत्तरगंगा जलायशययुक्त परियोजनास्थलको निरीक्षण गर्ने क्रममा यस्तो बताएका हुन् ।
मन्त्री पुनले उत्तरगंगा जलाशययुक्त हाइड्रोपावर राष्ट्रिय गौरवको आयोजना भएको जानकारी गराउँदै सरकारको प्राथमिकतामा रहेको बताए । मन्त्री पुनले भने, ‘बागलुङमा यो आयोजना निर्माण गरी सम्पन्न गर्दा राज्यको खर्च कम हुने र चाँडै सम्पन्न भइ राज्यलाई फाइदा पुग्ने भएकाले परियोजना बागलुङमै निर्माण हुन्छ ।’ सरकारले ल्याएको सुखी नेपाली समृद्धि नेपाल निर्माणका लागि यो आयोजनाले टेवा पुग्ने बताउँदै कामका लागि कुनैपनि अवरोध नभएको बताए ।
आर्थिक हिसाबले पनि कम लगानीमा यो आयोजना सम्पन्न हुने प्रतिवेदनले देखाएकाले अबको केही समयमै निर्माण तीव्र गतिमा हुने उनको भनाइ छ । ‘यो राष्ट्रकै गहना भएकाले सबैको चाँसो हुन स्वाभाविक हो मन्त्री पुनले भने निर्माण सम्पन्न भएपछि स्थानीयको जीवनस्तर परिवर्तन हुन्छ ।’

निरीक्षणका क्रममा सांसद देवेन्द्र पौडेल, पूर्व सभामुख ओनसरी घर्ती, कमला रोका, विद्युत प्राधिकरणका उपमहानिर्देशक माधवप्रसाद कोइराला ढोरपाटन पुगेका थिए । आयोजना निर्माण हुन केही समयपहिले स्थानीयले सामान्य विवाद जनाएपनि अहिले विवाद नभएको जनप्रतिनिधि कुम्बीर विश्वकर्माले बताए । केही समयपहिले उक्त आयोजना रूकुममा बन्ने कि बागलुङमा भन्ने विषयमा विवाद समेत सिर्जना भएको थियो ।













































































































































































































