१७ बैशाख २०८१, सोमबार

 

‘महरालाई पार्टीकै मान्छेले फसाएका हुन्’

संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भर्खरै अदालतले सफाइ दिएको छ । आरोपपछि पदबाट राजीनामा दिएका उनलाई प्रहरीले थुनामा राखेर मुद्दा अघि बढाएको थियो । उक्त मुद्दामा महराका तर्फबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठसँग नयाँ विश्वकर्मी  विमल खड्का  ले गरेको कुराकानी :

 

पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुका कानुनी आधार के–के रहे ?

कुनै पनि अपराध त्यसका तत्त्वहरूका आधारमा करार हुन्छ । तत्त्व भन्नाले मनसाय, तयारी, उद्योग र कसुरलाई बुझ्नुपर्छ । अघिल्ला तीन स्टेज सबै अपराधमा हुन्छन् । तर, यी तीन कुरा सम्पन्न नभएसम्म कसुर ठहर्दैन । त्यसैले अपराध गरार गर्न यी तत्त्वहरूको सूक्ष्म अनुसन्धान आवश्यक पर्छ ।

महराजीको सन्दर्भ अलि फरक छ । यहाँ प्रहरीले पहिले नै अभियोगपत्र तयार गरेको छ । पीडित भनिएकी महिलाले मलाई केही भएको छैन भन्दा पनि एकतर्फी रूपमा प्रमाण जुटाइएको छ । असोज १२ गते घटना भयो भनियो । युट्युबमा अनुहार लुकाएको अवस्थामा महिलाले ‘रेप’ भयो भनी अन्तर्वार्ता दिएको जानकारी हुन्छ । १५ गते उनले प्रहरीमा निवेदन गर्छिन् । त्यसपछि फेरि ‘म डिप्रेसनकी रोगी, कहाँ के भनेँ मलाई नै थाह छैन’ भन्छिन् । असहज अवस्थामा बोलेको कुरालाई मिडियामा ल्याएर स्पष्टीकरण दिइन्छ ।

१७ गते महिलालाई प्रहरीमा ९ घण्टा राखेर कागजातमा सही गराइएको छ । त्यसमा ‘सही ग¥यौ भने छुटकारा पाउँछ्यौ, नभए पाउँदिनौ’ भनिएको छ । त्यसैका आधारमा अभियोगपत्र तयार गरिएको छ ।
त्यसअघि महिलाले १५ गते आफैं उजुरी लेखेर प्रहरीमा बुझाएकी छन् । हस्ताक्षर पनि गरेकी छन् । उजुरीमा भनिएको छ, ‘घटना मिडियामा आएजस्तो होइन ।’ यसै भनेर सञ्चारमाध्यममा अन्तर्वार्ता पनि दिएकी छन् । प्रहरीले डर देखाएर उजुरीमा हस्ताक्षर गराएको कुरा अदालतमा बकेकी छन् ।

जाहेरीको भाषा ‘जबर्जस्ती करणी गर्ने मनसायले कुटपिट गरियो’ भन्ने छ ।’ त्यसले घटनालाई अर्कैतिर मोडिदिएको छ । केही अघि आएको फौजदारी अपराध संहितामा कसैलाई करणी गर्ने आशयले समातेमा, प्राइभेट अंगमा लगाइएको कपडा खोलेमा वा कपडा लगाउन नदिएमा दुव्र्यवहार हुने भनिएको छ । तर, उजुरीमा करणी गर्ने मनसाय भनिएको छ । त्यसैले मुद्दा नै गलत तरिकाबाट चलाइएको भन्न सक्ने आधार छन् । अर्काे कुरा, यौन दुव्र्यवहार मुद्दा सरकारवादी हुनै सक्दैन । व्यक्तिवादी हुन्छ ।

महिलाको पछिल्लो बयान पनि त डिप्रेसनकै अवस्थामा हुन सक्छ । मोबाइलमा ‘एम सर’ लेखिएको म्यासेजमा ‘फर्गेट एस्टर्डे’ भनिएको छ । यस्ता तथ्य पनि थिए नि ?

तपाईंले कुरा अझै बुझ्नुभएन । ती महिला र महराजीको पारिवारिक सम्बन्ध । संसद् सचिवालयकी कर्मचारी उनले राजधानीमा दरबन्दी कायम गराउन चाहेकी छन् । दिउँसो भेट हुँदा महराजीलाई यसबारे अवगत गराएकी छन् । झगडा पनि गरेकी छन् । त्यसैले ‘फर्गेट एस्टर्डे’ ले ‘एटेम्प टु रेप’लाई पुष्टि गर्दैन । महिलाले नै भनेकी छन्, ‘मैले रक्सी आफैं किनेकी हुँ ।’ ‘फिंगर प्रिन्ट’ पनि महराजीको प्रुफ हुँदैन ।
त्यसैले यो घटना सुनियोजित थियो । महराजीको व्यक्तित्व कतिलाई मन परेको थिएन । उहाँको शालीनता, काम गर्ने शैली, सोचाइ र विचार मन नपराउने व्यक्ति वा समूहले त्यसलाई उछालेको देखिन्छ ।

महिलाले झूटो आरोप लगाएकी भए उनलाई चाहिँ कारबाही हुनुपर्दैन ? अझै सम्मानित सदनको सभामुखविरुद्ध बोलेको विषयमा अनुसन्धान हुनुपर्ने होइन ?

उनले अहिलेसम्म आफ्नो भनाइमा एकरूपता राख्दै आएकी छन् । पहिलोपटकको अभिव्यक्ति डिप्रेसनको अवस्थामा आएको भन्दै आफंैले खण्डन गरेर प्रहरीसमक्ष उजुरी गरेकी छन् । साथै अदालतमा उपस्थित भएर प्रहरीले गरेको व्यवहारबारे प्रस्ट पारेकी छन् । त्यसैका आधारमा फैसला भएको हो ।

यहाँ त प्रहरीको भूमिकामाथि पनि प्रश्न उठ्ने भो । सभामुखजस्तो व्यक्तिलाई त एकतर्फी प्रमाणले अभियोग लगाइन्छ भने सर्वसाधारणको हालत के होला ?

प्रहरी प्रशासन र अनुसन्धान अधिकारीलाई हामीले नजानेको कहाँ हो र ? राज्य नै लागेपछि के लाग्छ ? मदन भण्डारीको हत्या हेर्नुहोस् न । चालक अमर लामाको दिनदहाडै अपहरण गरेर कीर्तिपुरमा लगी हत्या गरियो । खोइ अहिलेसम्म पत्ता लागेको ? राजा वीरेन्द्रको त झन् वंश नै सखाप भयो । कोतपर्वयता त्यस्ता थुप्रै घटना भए । जसको कुनै स्वतन्त्र अनुसन्धान भएन । सबै घटनामा विदेशीको हस्तक्षेप, प्रभाव र विस्तार छ ।

रिहाइपछि महराले आफूलाई फसाइएको प्रतिक्रिया दिनुभएको छ । कसले फसायो होला उहाँलाई ?

हरेक घटनाका पछाडि निकटतम मानिसकै हात हुन्छ । भारतमा इन्दिरा गान्धी हुन् वा राजीव गान्धी, आफ्नै मान्छे र अंगरक्षकले उनीहरूको हत्या गरेको उदाहरण छ । महराजीविरुद्ध यति धेरै लेखियो र लेखाइयो नि, सञ्चारमाध्यम हेर्दा लाग्थ्यो, उहाँभन्दा ठूलो अपराधी कोही छैन । पार्टीका मान्छे नै उहाँलाई दोषी करार गर्न आतुर रहे । पार्टीको बैठकमा उनीहरूका अभिव्यक्ति अध्ययन गरे पुग्छ । संसद्मा विचाराधीन विषय र सभामुखमा गरिएको दाबीले पनि पुष्टि गर्छ । प्रहरी हिरासतमा रहेको सांसदलाई शपथ गराइएको अवस्थामा महरालाई सांसद पदबाटै राजीनामा गराउनुपर्छ भन्नेसम्मका अभिव्यक्ति आए ।

यो विषयमा तेस्रो पक्ष हाबी भयो भन्न खोज्नुभएको हो ?

हो । मुद्दाको अभियोजन र भूमिकाले त्यो स्पष्ट भएको छ । हाबी मात्र होइन, दबाब नै दिएर पुनरावेदन अदालतबाट समेत उहाँलाई दोषी करार गरियो । मिसिल अध्ययन गर्दा जो–कोहीले भन्न सक्छ– ‘एटेम्प टु रेप’को मुद्दामा पनि यस्तो मिसिल ? मैले त यसअघि पनि मिडियासँग भनेको छु, उहाँलाई फसाइयो ।

सरकारी वकिलले त दबाबमा फैसला गरियो भन्नुभएको छ नि ?

दबाबमा फैसला गरेको भए मिसिल त्यहीँ छ, फेरि मुद्दा चलाए भइहाल्यो नि । फैसला भएको विषयलाई अनावश्यक टिप्पणी गर्न मिल्दैन । जुन घरमा घटना भएको छ, त्यहाँको घरधनीलाई नभएर छिमेकी बोलाएर सही गरिएको छ । एक जनालाई त चितवन पुगेर सही गराइएको छ । त्यसलाई के भन्ने ?

मुचुल्कामा सही गर्नेहरू विपरीत राजनीतिक आस्थाका हुन् ?

त्यो के छ ठ्याक्कै थाह भएन । तर प्रहरीले आफूलाई अनुकूल हुनेहरूलाई सही गराएर प्रमाण जुटाएको छ ।

यो प्रकरणले नेकपा एकीकरणमा अझै मन र पेट मिलिनसकेको संकेत पनि गरेको हो कि ?

अहिले नेपालका पार्टी गुट–उपगुट र झुन्डमा विभाजित छन् । त्यसले के हुन्छ, परिणाम देखिहालियो । एकअर्कालाई सिध्याउने खेल आफ्नै पार्टीबाट चल्छ । अहिले भएको त्यही हो ।

सरकारै नेकपाको छ । अझ गृहमन्त्री रामबहादुर थापा पूर्वमाओवादी कित्ताकै हुनुहुन्छ । यस्तोमा प्रहरीले प्रतिशोधमा मुद्दा चलायो भनेर कसरी विश्वास गर्ने ?

न उहाँहरूले सरकार चलाउनुभएको छ । न त कसले चलाएको छ भन्ने थाहा छ । गृहमन्त्रीले प्रहरी प्रशासन चलाएको भए पो थाहा पाउने ? उहाँ त पदमा हुनुहुन्छ, चलाउने अरू नै छन् । पावरको सेन्ट्रलाइज कहाँ भएको छ, हेर्नुस् न । त्यहीँबाट थाहा भइहाल्छ नि ।

त्यसो भए क्याबिनेटमा गृहमन्त्रीलगायत साक्षीको हैसियतमा मात्र हुनुहुन्छ ?

त्यसो पनि भनिनहालौं । तर मुलुक कसले चलाएको छ भन्ने कुरा हो । मुलुक अचम्म किसिमले चलेको छ । कुनै जमानामा अख्तियारका प्रमुखको बिगबिगी थियो । कहाँ कसरी खिचडी पाक्छ, कहाँ कसरी योजना बन्छ थाहै नहुने । कुरा धेरै सिरियस छ, हेर्नुस् ।

मुलुक चलाउनेमा सत्य र निष्ठाको अभाव भएको हो त ?

मुलुक चलाउनु सजिलो कुरा होइन । त्यसका दृष्टिकोण, भिजन, मिसन र सामूहिक तबरबाट काम गर्ने योजना नहुँदा यस्तो भएको हो । सामूहिकताको कुरा गर्दा हेर्नुस् न नेकपाको मिटिङ कस्तो थियो ? पार्टीमा सामूहिक निर्णय गर्ने शैलीको विकास नै भएको छैन । पार्टीको बैठकमा अधिकांशले सरकारविरुद्ध बोलेको सुनिन्छ । माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादीहरूलाई कसरी मिसन, भिजन र योजना बनाउनुपर्छ भन्ने थाहै छैन । लाज लाग्छ, कम्युनिस्ट पार्टी भन्न पनि ।

फैसलापछिका महराको सामाजिक जीवन कस्तो होला ?

मानिसलाई कहिलेकाहीँ चार्ज लाग्छ, स्वाभाविक हो । उहाँजस्तो शालीन र भविष्य भएको मानिसले अब सचेत पनि हुनुपर्छ । यो घटना पाठ भयो । केही असर त ग¥यो नै । तर अदालतले फैसला गरेपछि उहाँलाई जिम्मेवारीबाट मुक्त गरिरहन आवश्यक छैन । अहिलेका प्रम केपी ओली ज्यान मुद्दामा १४ वर्ष जेल बस्नुभा होइन र ? त्यो बेला उहाँहरूलाई महराभन्दा ठूला अपराधी साबित गरिएको थियो । अहिले पनि माओवादीलाई अपराध मुद्दा छन् त ? त्यसलाई के भन्ने ? समयले बिर्सिदिन्छ, केही समय लाग्न सक्छ । त्यसको विकल्प पनि छैन । उहाँले आफूमाथि यस्तो अभियोग लाग्नुपछाडिका कारण स्पष्ट पार्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्