१७ बैशाख २०८१, सोमबार

 

अशोकले चुमेकाे सफलता

धर्ममा विश्वास गर्नेले सफलतालाई ‘प्रभुको इच्छा’ ठान्छन् । कर्ममा विश्वास गर्नेले मेहनतको फल मीठो भन्छन् । सफलताका लागि कर्म नै प्रमुख हो । तर समय र परिस्थितिले पनि साथ दिनुपर्छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन धर्म, कर्म, समय र परिस्थितिले साथ दिएका त्यस्तै उदाहरण हुन् । बागलुङ सदरमुकाम बस्ने शेरचनकाे  पुख्र्यौली थलो  म्याग्दीकाे जुग्जा गाउँ हाे । उनकाे पुख्र्यौली थलाे जुग्जामा अझै बालविवाह र अशिक्षाको तुवाँलो छ । धेरै बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन् । शेरचन भने  प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनिसकेका छन् । ‘बुबाको प्रेरणाले केही गर्नुपर्छ भन्ने त थियो तर यहीँ आइपुग्छु भन्ने लागेको थिएन,’ उनले भने, ‘निरन्तरको लगाव र मेहनत नै मेरो सफलताको सूत्र हो ।’

२०४४ सालमा राजधानीको शंकरदेव क्याम्पस पढ्न गएका शेरचनले नेपाल बंगलादेश बैंकमा सहायक पदबाट जागिर सुरु गरेका थिए । त्यति बेला उनलाई बढीमा त्यहीँको हाकिम बन्ने सपना थियो । तर, सन् १९९५ मा प्रवेश गरेका उनी त्यहाँ पाँच वर्षजति मात्र बसेर एनसीसी बैंकमा गए । त्यहाँ पनि ५ वर्षभन्दा बढी काम गरेनन् । सन् २००६ देखि प्रभु फाइनान्समा पुगे । फाइनान्स २०११ बाट प्रभु बैंक बन्यो । उनी त्यसका प्रमुख बने । प्रभुले किस्ट बैंक, समवृत्ति विकास बैंक, वैभव फाइनान्स, जेनिथ फाइनान्स, गौरीशंकर विकास बैंकलगायतलाई मर्ज गर्दै गयो । फलस्वरूप अहिले नेपालका २८ वटा वाणिज्य बैंकमध्ये अघिल्लै पंंक्तिमा आइपुगेको छ ।

बैंकिङ क्षेत्रमा काम गर्न र सफलतामा पुग्न सजिलो भने छैन । शेरचनको अनुभवमा नेपाल सरकार, राष्ट्र बैंकको नीति र आमजनताको सम्बन्धले मात्र प्रगति गर्न सकिन्छ । ग्रामीण बासिन्दा भएकाले उनले दुःख गर्नुपर्ने तल्लो तहदेखि नीतिगत तहसम्म समान व्यवहार गर्न सिके । बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले पनि उनलाई धेरै साथ र हौसला दिए । फलस्वरूप उनले ‘प्रभुको इच्छा’ मात्र नभई मेहनतको फल पनि छिट्टै देख्न पाए । तल्लो तहको जागिरेबाट सीईओ बन्ने कमै सफल व्यक्तिमा गनिन्छन् शेरचन ।

सरकारले निजी क्षेत्र, सहकारी र सरकारी निकायलाई विकासका साझेदार मानेको छ । तर बैंक त्यहाँ जोडिएका छैनन् । शेरचनले बैंक पनि देश विकासको साझेदार बन्नुपर्ने पक्षमा बहस चलाउन थालेका छन् । अग्रणी बैंकको अगुवा भए पनि उनले सहकारी अर्थतन्त्रको खम्बा भएको बताए । ‘बैंकहरूले ठूलो लगानी गर्ने हो, सहकारीले किसान, ग्रामीण बासिन्दा र बैंकको पहुँच नभएकालाई सहयोग गर्नुपर्छ,’ शेरचनले भने, ‘राष्ट्रिय गौरवका आयोजनामा लगानी गर्न बैंकहरू तयार बन्नुपर्छ ।’ अहिलेसम्म गौरवका आयोजनामा काम गर्न बैंकहरू सक्षम भइनसकेको उनको टिप्पणी छ । केही आयोजनामा प्रभुसहित सबै वाणिज्य बैंकले लगानी गरेका छन् । तर त्यो पर्याप्त नभएको उनले बताए । २५ अर्ब रुपैयाँसम्मको लगानी नेपाली बैंकले गर्दै छन् । एसियाली विकास बैंक, विश्व बैंक जस्तो प्रतिस्पर्धी हुन भने नेपालका अगुवा दसवटा बैंक मिल्नुपर्ने उनको बुझाइ छ । दक्ष कामदार, प्राविधिक र राज्यको तत्परता भए नेपालका बैंकले पनि लगानी गर्न सक्ने शेरचनले बताए । तर सबै आयोजना घरेलु पुँजीले बनाउन नहुने उनको तर्क छ । ‘जसरी विदेशी अनुदान र ऋण आउँछ, त्यसरी विश्वबजारमा प्रतिस्पर्धी बनेका प्रविधि र प्राविधिक पनि आउँछन्,’ उनले भने, ‘नेपाली लगानी मात्र गर्न खोज्दा आधुनिक प्रविधि उपयोगबाट चुक्न सकिन्छ, त्यसैले विदेशी लगानी आयो भनेर विरोध गर्नुभन्दा स्वदेशी लगानी पनि मिलाएर काम गर्ने वातावरण चाहिएको हो ।’

नेपालका बैंकले जलविद्युत् र सडकमा मात्र लगानी गर्नुपर्ने बाध्यता नरहेको शेरचनको बुझाइ छ । बरु कृषिक्षेत्रमा लगानी गर्दा राष्ट्र र बैंकलाई फाइदा पुग्ने उनले बताए । प्रभु बैंकले पनि होङसी सिमेन्टमा ३ अर्ब लगानी गरेको छ । त्यस्तै सोलु हाइड्रो पावरमा १ अर्ब, मनाङको अर्गानिक स्याउ फार्मका लागि ५० करोड लगानी गरेको छ । सुन्तला, दलहन प्रकृतिका कृषि फसलमा पनि लगानी गर्न सकिने उनले बताए ।

आगामी ५ वर्षमा बागलुङ चिनाउने गरी ठूलो लगानी भित्र्याउने योजना उनी बुन्दै छन् । ‘ठूलो लगानी अंकमा मात्र गरेर सफलता हुँदैन,’ उनले भने, ‘धेरै युवा रोजगार हुने, उत्पादन गरिने र निरन्तर कमाइ गर्न सक्ने क्षेत्रमा लगानी गर्ने चाहना छ ।’ लगानीको क्षेत्र अध्ययन गरिरहेका उनी केही समयमै परिणाम दिने तयारीमा छन् । पर्यटन, कृषि र जलविद्युत् उनको रोजाइका क्षेत्र हुन् । केही जमिन किनेर प्रारम्भिक काम थाल्ने योजना बनाउँदै छन् । केही समयअघि बागलुङमा भएको लगानी सम्मेलनमा शेरचनले शेखर गोल्छा, चन्द्र ढकाल र पशुपति मुरारकालगायत व्यवसायीलाई लगानी गर्न आग्रह गरेका थिए ।

बैंकका सीईओसँगै संगीत र साहित्य
बैंकको सीईओ भए पनि शेरचन दिनभरि लगानी, ऋण र असुलीमा मात्रै लाग्दैनन् । साहित्य र गीतसंगीतमा पनि उत्तिकै रुचि राख्छन् । बाबु विष्णुप्रसाद शिक्षक थिए । उनको निरन्तरको लगानी र जिल्लाकै जेठो विद्यामन्दिर माविका गणेशप्रसाद श्रेष्ठ (बांगे गुरु)को शिक्षणबाट उनी पढाइमा खारिएका थिए । त्यति बेलैदेखि आफूमा साहित्य र गीतसंगीतको रस पसेको उनी बताउँछन् । ‘प्रेम छोटा, काजी रोशन, बालकृष्ण नेभालगायत साहित्यकारको समकक्षी भएकाले म साहित्यमा पनि लाग्न सकें,’ शेरचनले भने, ‘गीतसंगीत भनेपछि धेरै ठाउँ पुग्ने गरेको छु ।’ कविता, गीत र गजलमा पनि उनी अब्बल छन् ।

शेरचनले १० वर्षसम्म बागलुङमा नारायणगोपालको स्मरणमा सांगीतिक अभियान चलाए । नारायणगोपालको स्मृतिमा गरिएका धेरै कार्यक्रममा पेमला गुरुवाचार्य र रामकृष्ण ढकाल सहभागीसमेत भए । उनको अभियान देखेर भ्याएसम्म पेमला बागलुङ आउन रुचाउँथिन् । शेरचनले आफ्ना साहित्यिक कृतिको सँगालो प्रकाशन गर्ने तयारीसमेत गरेका छन् । ‘कालीको छाल’ नामक पत्रिकामा शेरचनसहितका साहित्यकारले दशकसम्म लेखरचना लेखे । अझै पनि फुर्सदमा साहित्यिक रचना कोरिरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्