३ श्रावण २०८३, आईतवार

 

सम्राट अलेक्जेन्डर द ग्रेटका हराएका सिक्काहरू

 गाजाका माछा मार्ने मान्छेहरूका लागि पुराना सिक्का आम्दानीको अतिरिक्त स्रोत बनेको छ

माछा मार्ने केही व्यक्तिहरूले गाजाको तटीय क्षेत्रमा प्राचीनकालका केही दुर्लभ सिक्काको खजाना फेला पारे।सिक्का विशेषज्ञ उट वर्टन्बर्ग भन्छिन्, “यो एउटा महत्त्वपूर्ण खोज हो र निस्सन्देह नै अलेक्जेन्डर द ग्रेटको डेकाड्र्याम (सिक्का) ठूलो सङ्ख्यामा पाइएको यो नै हो।”

सन् २०१८ को वसन्तऋतुमा समुद्रबाट अलेक्जेन्डरका सिक्काको खजाना निकालिनुभन्दा पहिलेका दर्जनौँ त्यस्ता सिक्काबारे उनले आधिकारिक अभिलेख राखेकी छन्।”जब मैले [एउटा सिक्का] लाई आफ्नो हातमा राखेँ तब म झस्केँ र आश्चर्यचकित भएँ,” गाजाका पुरातत्त्वविद् फेडल अलाटलले भने।

पुराना सिक्काहरू
Image captionपुरातत्त्वविद् फेडल अलाटल

उनले नै सबैभन्दा पहिले ती सिक्का २३०० वर्षअघिका मेसेडोनियाली शासक अलेक्जेन्डरको कालका थिए भनेर पत्ता लगाएका थिए।अलेक्जेन्डर द ग्रेट ग्रीसदेखि भारतसम्म फैलिएको एउटा विशाल साम्राज्यका प्रमुख थिए।इजिप्टसम्म पुग्ने आफ्नो अभियानको एउटा भागका रूपमा रणनीतिक रूपमा महत्त्वपूर्ण गाजा उनले एउटा रक्तपातपूर्ण घेराबन्दीपश्चात् कब्जा गरेका थिए।

हराएका सिक्काहरू

फेडल अलाटलले पहिचान गरेपछि ती सिक्काहरू हराए। सम्भवत: बेचिए।उनले भने, “ती सिक्काहरू तिनका हातमा थिए जसले ती के हुन् भन्ने जान्दैनथे, ती किन यहाँ छन् र हाम्रो देशका लागि तिनले के प्रतिनिधित्व गर्छन् भन्ने थाहा पाउँदैनथे। यो एकदमै दु:खद हो।”केही महिनापछि ती सिक्काहरू विश्वभरिका लिलामीकेन्द्रले विक्रीका लागि प्रदर्शनमा राख्न थाले।

पुराना सिक्का
Image captionसन् २०१७ को वसन्तदेखि विश्वभरिका लिलामीकेन्द्रबाट अलेक्जेन्डरका सिक्काहरू बेचिएका छन्

लन्डनस्थित एउटा लिलामीकेन्द्र रोमा न्यूमिज्म्याटिक्समा एउटा अलेक्जेन्डर डेकाड्र्याम एक लाख पाउन्डमा विक्री भयो।अघिल्ला दुई वर्षमा कुल १९ वटा सिक्का बजारमा देखा परे। तीमध्ये ११ वटा रोमा न्यूमिज्म्याटिक्सले बेच्यो।

गाजामा उक्त खजाना भेटिनुअघि त्योभन्दा दोबर सङ्ख्यामा अलेक्जेन्डर डेकाड्र्याम कि त आधिकारिक अभिलेखमा राखिएका वा विक्रीका लागि गरिएका विज्ञापनका आधारमा सार्वजनिक जानकारीमा आएका थिए।

त्पत्ति

तर ती दुर्लभ सिक्का स्वामित्त्वको इतिहासबारे प्रकाशित विवरण अर्थात् ‘उत्पत्तिको प्रमाण’ उपलब्ध छैन। त्यसो भए कहाँबाट आए त ती सिक्का?”कथित उत्पत्ति, ‘निजी क्यानेडाली’, ‘निजी उत्तर अमेरिकी’, ‘निजी युरोपेली सङ्कलन’ जस्ता कुरा मेरा लागि अर्थहीन छन्। त्यस्तो उत्पत्तिलाई तपाईं कसरी प्रमाणित गर्न सक्नुहुन्छ? उनीहरूले सम्भवत: भन्नेछन् – निजी मार्शन (मङ्गल ग्रहको) सङ्ग्रहबाट,” सिक्का विशेषज्ञ प्राध्यापक टमस बुजो भन्छन्।

उनलाई गाजाबाट अलाटलले खजानाको तस्बिर पठाएका थिए। त्यस बेलादेखि उनी विश्वभरिका लिलामीकेन्द्रमा ती सिक्का दाँज्न खोजिरहेका छन्, तर मिलाउन सकिरहेका छैनन्।सिक्काको उत्पत्ति कहाँ हो भन्ने जानकारी नदिईकन तिनको लिलामी गर्नु लिलामी उद्योगमा गैरकानुनी र असामान्य होइन। तर एकदमै दुर्लभ सिक्का यसरी बेच्नु चाहिँ निकै नै असामान्य हो।उत्पत्तिको प्रमाणीकारण नभईकन कसैलाई पनि लिलाम गरिएका सिक्का कहाँबाट आए भन्नुको कुनै तुक छैन।

जेम्स रेट्क्लिफ हराएका प्राचीन वस्तुको खोजी गर्ने विशेषज्ञ हुन्। उनले बीबीसी न्यूज अरबिकलाई भने, “यदि म यो किन्न खोज्दै थिएँ भने म उनीहरूलाई विशेष रूपमा सोध्थेँ। यदि उनीहरूले त्यसका विक्रेताबारे बताउन सक्ने भए ती को थिए, कहाँ र कहिले तिनले यसलाई किने र यी त्यस बेला कहाँबाट ल्याइएको थियो भनेर जानकारी दिइएको थियो भन्नेबारे म सोध्नेथिएँ।”

विक्रीका कानुन

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र अधिकांश युरोपेली देशमा यदि कुनै पनि प्राचीन वस्तु एकदमै दुर्लभ भन्ने थाहा पाइएमा वा शङ्का गरिएमा पनि त्यसको विक्रीलाई अवैध बनाउन सक्ने कडा कानुन छन्।

पुराना सिक्काहरू
Image captionएउटा लिलामीकेन्द्रमा बीबीसी अरबिक पुगेको थियो

कतै पनि सन् १९७३ पछि अलेक्जेन्डर डेकाड्र्यामको खजाना पाइएको जानकारी छैन।तर विक्रीका लागि राखिने यी सिक्काहरू ती कानुन कार्यान्वयनमा आउनुपूर्व नै कहिल्यै अभिलेख नराखीकन ल्याइएका हुन सक्छन्। त्यसैले अहिलेका कानुनहरू उल्लङ्घन नगरीकनै तिनको किनबेच गर्न सकिन्छ।

एक लाख पाउन्डमा सिक्का विक्री भएको र नयाँ खजाना पाइएको हल्लाले सङ्कलनकर्ताहरूलाई आफ्ना वैध सिक्काहरू बजारमा ल्याउन प्रोत्साहित गरेको हुन सक्छ।अलेक्जेन्डर डेकाड्र्याम विक्रीका लागि राख्ने रोमा न्यूमिज्म्याटिक्स र अन्य सातवटा लिलामीकेन्द्रसँग बीबीसीले ती सिक्काबारे जानकारी माग गरेको थियो। तर कसैले पनि विक्रीका लागि सिक्का लिएर आउने व्यक्तिको नाम बताउन सकेकन्। उनी सामान ल्याउने व्यक्तिका रूपमा उक्त बजारमा चिनिने गरेका छन्।

स्रोतको पहिचान

तर हाम्रो अनुसन्धानले सन् १९१७ को वसन्तदेखि विक्रीका लागि राखिएका १९ वटा अलेक्जेन्डर डेकाड्र्याममध्ये ६ वटाको स्रोत पत्ता लागेको छ।

पुराना सिक्काहरूतस्वीर कपीराइटTAREQ HANI COLLECTION
Image captionतारिक हानीले बीबीसीलाई दिएको प्रमाण

सिक्का सङ्कलन गने चर्चित प्यालेस्टिनी परिवारको तारिक हानी कलेक्शनको फेसबुक र इन्स्टाग्राम पेजमा हामीले अलेक्जेन्डर डेकाड्र्यामका तस्बिरहरू भेट्यौँ। ती सिक्का हाम्रा विशेषज्ञले पहिले कहिल्यै देखेका थिएनन्।सामाजिक सञ्जालमा तारिक हानी कलेक्शनले भनेअनुसार लिलामी गरिएका पाँचवटा सिक्का लिइएको थियो। ती सिक्का क्लासिकल न्यूमिज्म्याटिक्स ग्रूप, न्यूमिज्म्याटिक्स नौमान नोमोस एजी र हेरिटेजमार्फत् विक्री गरिएका थिए।

उक्त परिवारले बीबीसी अरबिकलाई एउटा प्रमाण देखाएको छ। त्यसअनुसार ती पाँच सिक्काका साथै अर्को एउटा लिलामीकेन्द्र इरा एन्ड ल्यारी गोल्डबर्गद्वारा सेप्टेम्बर २०१९ मा लिलामी गरिएको अर्को एउटा सिक्का पनि उनीहरूबाट लिइएको थियो भन्ने देखिन्छ।

अर्थोडक्स चर्च

बीबीसीलाई दिइएका कागजपत्रअनुसार सन् १९६७ देखि यी सिक्काहरू गाजाको अर्थोडक्स चर्चले आफ्नो गुम्बजमा राखेको देखिन्छ।यो प्राचीन वस्तु विक्री नियन्त्रण गर्ने चर्चको कानुन कार्यान्वयन हुनुपूर्वको कुरा हो। त्यसैले यो अहिले विक्रीका लागि कानुनी हो।त्यो स्रोतबारे कुनै पनि विस्तृत विवरण प्रकाशित नगरी वा कुनै इतिहासविना सन् २०१७ को वसन्तदेखि विश्वभरिका लिलामीकेन्द्रले विक्री गरेका १३ अत्यन्त दुर्लभ सिक्काका ती कुरा उजागर गर्न सक्षम छ।

पुरातत्त्वविद् फेडल अलाटल
Image captionपुरातत्त्वविद् फेडल अलाटल

हामीले सम्पर्क गरेका कुनै पनि विशेषज्ञले माछा मार्ने व्यक्तिहरूले भेटेका र पुरातत्त्वविद् फेडल अलाटलले खिचेका सिक्काको तस्बिर लिलामीकेन्द्रले विक्रीका लागि राखेका सिक्काका तस्बिरसँग मिलान गर्न सकेनन्।त्यसो भए रोमा न्यूमिज्म्याटिक्सले लिलामी गरेका ११ वटा अलेक्जेन्डर डेकाड्र्यामहरू के हुन् त? तिनीहरू कहाँबाट आए त?

एक लाख पाउन्डको सिक्का

सन् २०१७ मा रोमाद्वारा एक लाख पाउन्डमा विक्री गरिएको सिक्काबारे थप जानकारी लिन हामीले रोमा न्यूमिज्म्याटिक्सका निर्देशक रिचर्ड बिल्सलाई भेट्यौँ।

सिक्काहरूतस्वीर कपीराइटROMA NUMISMATICS
Image captionरोमा न्यूमिस्म्याटिक्समा गरिएको अलेक्जेन्डरका सिक्काको विज्ञापन

उक्त सिक्का “निजी क्यानेडाली सङ्कलन”बाट आएको उल्लेख गरिएको थियो।उनले क्यामरामा अन्तर्वार्ता दिन मानेनन्। हामीले भेट्दा पनि लिलामीका लागि बनाइएको क्याटलगमा दिएकोबाहेक अरू जानकारी उनले हामीलाई दिन सकेनन्।

लिलामीकेन्द्रले सिक्काको स्रोत पत्ता लगाउन उचित प्रयास गरून् भन्ने अरूको अपेक्षा हुन्छ।तर उनीहरूले सिक्का कहाँबाट आएको हो भन्नेबारे सिक्का ल्याउने मान्छेले भनेका कुरामा विश्वास गरेका हुन्छन्।

हालका वर्षमा रोमा न्यूमिज्म्याटिक्सका प्रत्येक क्याटलगमा “विशेष धन्यवाद” लेखिएको भाग हुन्छ। र त्यसमा हामीले चिन्ने एउटा नाम भेटियो- सलेम अलशदाइफत।अलशदाइफतको नाम हामीले गाजाको समुद्री तटमा अचानक सुनेका थियौँ।

माछा मार्नेहरूको सम्पर्क

त्यहाँ माछा मार्ने व्यक्तिले बीबीसीलाई अलशदाइफतको सिक्का किन्ने एक जोर्डनीसँग सम्पर्क रहेको र उनीहरूले ती व्यक्तिलाई सिक्का बेच्ने गरेको बताएका थिए।उनीहरूले हाम्रा (बीबीसीका) निर्मातालाई फेसबुकमा उनको तस्बिर देखाए। बीबीसीले गाजामा भेटिएको उक्त खजानासँग उनको सम्बन्ध स्थापित गर्न सक्षम भएन।

अलशदाइफत रोमा न्यूमिज्म्याटिक्सको व्यापारका साझेदार हैनन्। तर रोमाका निर्देशक रिचर्ड बिल्स उनको कम्पनी एथेना न्यूमिस्म्याटिक्सका सहनिर्देशक थिए।अलशदाइफतको फेसबुकमा हामीले रोमा न्यूमिज्म्याटिक्सले सन् २०१८ सेप्टेम्बर २६ मा ४०,००० पाउन्डमा बेचेको एउटा अलेक्जेन्डर डेकाड्र्यामहरूका तस्बिर पायौँ।त्यसमा उनले यस्तो वर्णन गरेका छन्, “हाम्रो साझेदार रोमा न्यूमिज्म्याटिक्सँग छ महिनाको प्रयास र कडा मेहनतपश्चात् हामी पहिलो पटक केही अतिदुर्लभ ग्रीसेली सिक्का प्रस्तुत गर्छौँ।”

पुराना सिक्कातस्वीर कपीराइटFACEBOOK / SALEM ALSHDAIFAT
Image captionअलशदाइफतको फेसबुकमा हामीले रोमा न्यूमिस्म्याटिक्सले सन् २०१८ सेप्टेम्बर २६ मा ४०,००० पाउन्डमा विक्री गरेको एउटा अलेक्जेन्डर डेकाड्र्यामको तस्बिर फेला पार्‍यौँ

हामीले उनलाई सेप्टेम्बर २०१७ यता रोमा न्यूमिज्म्याटिक्सले लिलामी गरेका एक लाख पाउन्डको सिक्कासहित अन्य अलेक्जेन्डर डेकोड्र्यामको लिलामीमा उनी संलग्न थिए कि थिएनन् भनेर सौध्यौँ।

उनले कुनै पनि अलेक्जेन्डर डेकाड्र्यामको विक्रीमा आफू संलग्न नभएको बताए।उनले हामीसँग भने, “एक विक्रेताबाट किनेको बीजक र पैसा पठाएको प्रमाणसहित मसँग दुईवटा अलेक्जेन्डर डेकाड्र्याम छन्। ती दुई सिक्काको गाजासँग कुनै सम्बन्ध छैन।”

लिलामीकेन्द्रको भनाइ

रोमा न्यूमिज्म्याटिक्सका निर्देशक रिचर्ड बिल्सले बीबीसीलाई भने, “सिक्काहरू लिएर आउने मानिस(हरू)लाई हामीले चिनेका थियौँ र उनीहरूले व्यावसायिक र भरपर्दो अभिलेख राखेका थिए। त्यसैले हामी सन्तुष्ट थियौँ। अझ ती वस्तु पाइएको मुलुकको आपत्तिविनै ती वस्तुहरू यूके प्रवेश गरेको भनेर हामीलाई जानकारी दिइएको थियो।”

उनले थप भने, “सिक्का लिएर आउने व्यक्ति(हरू)ले दाबीका साथ आफूले थाहा पाएसम्म उक्त सिक्का कुनै अवैध उत्खननबाट नल्याइएको बताएका थिए।”हामीले बिल्सलाई सिक्काहरू कहाँ र कहिले पाइएका थिए भनेर सौध्यौँ। उनले आफूलाई त्यसबारे थाहा नभएको र त्यो कुरा यो व्यवसायमा असामान्य नभएको बताए।क्लासिकल न्यूमिज्म्याटिक्स ग्रूप (सीएनजी) ले नोभेम्बर २०१८ मा स्वामित्व परिवर्तन गरेको छ।

नयाँ सञ्चालकले बीबीसीलाई भने, “म ती दुईवटा विक्रीमा संलग्न थिइनँ र तिनको उत्पत्ति कहाँबाट भएको थियो र कसले ल्याएका थिए भन्ने मलाई व्यक्तिगत रूपमा पनि जानकारी छैन।”

लिलामीकेन्द्र हेस डिभोले उनीहरूको सिक्का विक्रीबारे भन्यो, “यदि मैले साँच्चै सम्झिएको हुँ भने सिक्का ल्याउने व्यक्ति यूकेका एक सम्मानित सङ्कलनकर्ता थिए।”नोमोसले बीबीसीलाई हेस डिभोमा विक्री नभएपछि उनीहरूले सिक्का पाएको बताएको छ।

उनीहरूले भने, “हेस डिभोमा लिलामी हुनुपूर्व कहाँबाट त्यो सिक्का आयो भन्ने वा को व्यक्तिगत रूपमा उक्त सिक्का ल्याउने व्यक्ति थिए भन्ने हामीलाई कुनै पनि जानकारी छैन । सैद्धान्तिक रूपमा हामी अर्को लिलामीकेन्द्रमा नदेखिएसम्म कुनै पनि सिक्कालाई स्वीकार्दैनौँ।”हेरिटेजले ती सिक्काहरू उद्योगमा चिनिएका व्यक्तिहरूबाट आउने गरेको बताएको छ। ती व्यक्तिहरू प्रमाणसहित अनुबन्धित हुन्छन् र उनीहरूमाथि शङ्का गर्नुपर्ने कुनै प्रमाण र कारण हुँदैन।

न्यूमिज्म्याटिक्स नौमानले भन्यो, “हामीसँग ती सिक्काहरू दशकौँदेखि सङ्कलन गरिएका थिए भन्ने प्रमाण छ।”अनि अन्त्यमा आइरा एन्ड ल्यारी गोल्डबर्ग र सुल्मान बीभीले बीबीसीद्वारा प्रतिक्रियाका लागि गरिएको आग्रहको उत्तर दिएनन्।हामीले सम्पर्क गरेका कुनै पनि विशेषज्ञ र इतिहासकारहरूले ती माछा मार्ने व्यक्तिहरूले भेटेका सिक्काहरू र विश्वभरिका लिलामीकेन्द्रमा विक्रीका लागि राखिएका सिक्काहरूको तस्बिरलाई एक अर्कामा मिलाउन सकेनन्।

सिक्काहरू
Image captionनुन र बालुवा टाँसिएका र समुद्रको पीँधबाट निकालिएका जुनसुकै सिक्काहरूलाई माछा मार्नेहरूले सफा गर्छन्

सिक्का उद्योगका लागि बनेका कानुनहरूले अहिले जसरी काम गर्छन् त्यसले वास्तवमै सिक्काको इतिहास र उनीहरूको प्राचीन स्थान कहाँ थियो भन्ने पत्ता लगाउन निकै कठन बनाएको छ।

लुप्त इतिहास

नयाँ नीतिहरू बनाउनुपर्ने आह्वान भएको भए पनि लिलामीकेन्द्र र सिक्का विक्रेताहरूलाई सिक्काको स्रोत खुलाउनुपर्ने बाध्यता छैन।वास्तवमा डेटा संरक्षण कानुनले त ती सूचनाहरू सार्वजनिक गर्न रोक्न सक्छ।हाम्रो अनुसन्धानले हालैमा लिलामी गरिएकामध्ये केही सिक्काहरू मात्र कहाँबाट आएका थिए भन्ने पत्ता लगायो। गाजाको खजाना कहाँ पुग्यो भन्ने सायद हामी कहिल्यै पत्ता लगाउन सक्षम हुनेछैनौँ।

“गाजाबाट आउनुले यसलाई थप आकर्षक बनाइदिन्छ किनकि यसलाई अलेक्जेन्डरका सैनिक र सेनापतिहरू त्यो क्षेत्र भएर आउँदै गर्दा त्यहाँ केही गरी उक्त खजाना डुबाए होलान् भन्ने हिसाबले हेरिन्छ,” उट वर्टन्बर्ग भन्छिन्, “सबै ऐतिहासिक सन्दर्भ गुमाउनुभन्दा उचित उत्खनन भए उत्तम हुने थियो।”

सिक्काहरू
Image captionगाजामा माछा मार्ने एक व्यक्ति

डिजिटल खोज बोर्डसमक्ष र आधा घण्टा लामो वृत्तचित्रमा प्रस्तुत फुटेज, अन्तर्क्रियात्मक एनिमेशन, तस्बिर तथा कागजपत्र ‘ट्रेजर हन्टर्स ‘डिजिटल परियोजनामा उपलब्ध छन्।

वीवीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung