१७ बैशाख २०८१, सोमबार

 

‘म पार्टीभित्रै षड्यन्त्रको सिकार भएँ’

अहिले तपाईंकै पार्टीले सरकारको नेतृत्व गरिरहेको छ, कसरी मूल्यांकन गर्नुहुन्छ ?

रणनीति, योजना र भिजन हेर्दा सरकार साँच्चै केही गर्न आतुरजस्तो लाग्छ । त्यसैले नराम्रो भन्न मिल्दैन । तर, उसको भनाइ र गराइमा केही अन्तर देखिन्छ । कार्यान्वयन तहमा अझै राम्रो गरिदिए हुन्थ्यो । जनताको प्रतिक्रिया सरकारले परिवर्तनको अनुभूति गराउन सकेन भन्ने छ । तत्कालका लागि राहत हुने गरी डेलिभेरी गर्न नसकेको गुनासो छ ।
सरकारले दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताए पनि तत्काल अनुभव गर्न सकिने साना योजनामा ध्यान पु¥याउन सकेको छैन । प्रशासनिक कामकाज, न्याय प्रशासन, सुरक्षा, सडक र विकास निर्माणका सबालमा पनि सरकार चुस्त रहेको अनुभूति जनताले गर्न सकेका छैनन् ।

पार्टीभित्रै पनि सरकारका काम–कारबाहीप्रति प्रश्न उठिरहेका छन् नि ?

सरकार र पार्टीबीच केही तालमेल नमिल्दा यस्ता गुनासा आएका हुन् । ०५१ सालमा तत्कालीन एमालेले ठूलो दलको हैसियतमा सरकार सञ्चालनको जिम्मेवारी पायो । नेपालमा कम्युनिस्ट पार्टीले पहिलोपटक सरकार चलाएको थियो त्यस बेला । अनुभव केही थिएन । तर पनि त्यो सरकार कति लोकप्रिय रह्यो, भनिरहन नपर्ला । यसको कारण पार्टी र सरकारबीचको तालमेल नै हो ।

पार्टीले तय गरेको ‘नौ स जनमुखी’ कार्यक्रम सरकारले लागू गर्‍यो । त्यसलाई अहिले पनि ‘नौ सको अभियान’ भनिन्छ । सामाजिक सुरक्षा (वृद्ध भत्ता) देखि ‘आफ्नो गाउँ आफैं बनाऊँ’ जस्ता कार्यक्रमले जनताको मत जिते । कम्युनिस्टले पनि सरकार चलाउन सक्छन् भन्ने जनतालाई विश्वास हुन पुग्यो । अहिलेको सरकारको जगमा पनि तत्कालीन नौमहिने सरकारले आर्जन गरेको विश्वासको मत छ । उक्त सत्तामा सहभागी व्यक्ति स्वयं अहिले प्रधानमन्त्री हुनुहुन्छ । अहिले पनि त्यो शैली अपनाउन सकिए पार्टी र सरकारबीच तालमेल हुनेछ ।

जनताका गुनासा पनि सम्बोधन हुनेछन् ।  मलाई पनि सरकार र पार्टी सञ्चालनका बारेमा केही कुरा खट्किएका छन् । मुलुकको संरचना परिवर्तन भएको छ । तीन तहमा नेकपाको सरकार छ तर पनि तालमेल मिल्न सकिरहेको छैन । पार्टीले कसरी सरकारलाई निर्देशन गर्ने भन्ने मिलाउन आवश्यक भएको छ । अनि मात्र जनताका गुनासा न्यूनीकरण गर्न सकिन्छ ।

सरकार र पार्टीबीचको तालमेल कहाँनिर बिग्रियो ?

पार्टीमा लामो अनुभव भएका व्यक्ति छौं । सरकार र पार्टीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने हो । सरकारमा रहेका तप्काले पार्टीलाई बेवास्ता गरेर अघि बढ्दा यस्तो समस्या आएको हो जस्तो लाग्छ । सरकारले बनाउने योजना र कार्यक्रमबारे पार्टीलाई कुनै जानकारी नहुनुलाई के भन्ने ? पार्टीमा रहेका अनुभवलाई सरकार सञ्चालनमा परिचालन गर्न सकिए समस्या नै रहँदैन ।

सरकारका कतिपय योजना, कार्यक्रम ठेकेदार र निश्चित समूहको स्वार्थमा बनेजस्तो लाग्छ । मन्त्री निवासमा पनि तिनै स्वार्थी समूहका व्यक्तिको बाक्लो जमघट देखिन्छ नि ?

पार्टीमा इमानदार, त्यागी र निष्ठावान् नेता–कार्यकर्ता नभएका होइनन् । तर, पनि किन सरकारले त्यस्ता व्यक्तिलाई विश्वास गर्न सकिरहेको छैन ? स्वार्थी समूहको चंगुलमा पर्नु दुःखद पक्ष हो, भन्छु । ती समूहले सरकारलाई बदनाम गराइरहेका छन् । लेनदेनका आधारमा, नाता–सम्बन्धलाई विश्वास गरेर कामको जिम्मेवारी दिनु असंगति हो । त्यसले इमानदार र निष्ठावान् कार्यकर्तामा नैराश्य पैदा गराउँछ । यो अवस्था नियन्त्रण गर्नुपर्छ । एउटा च्यानल बनाएर सरकार सञ्चालन गरिनुपर्छ । कम्युनिस्ट पार्टीका कार्यकर्ताले अनुशासन, इमानदारी, त्याग र निष्ठा बिर्सन मिल्दैन ।

कुनै बेला तपाईं मुख्यमन्त्री (वाग्मती) बन्ने कुरा थियो, पछि कसरी मोडियो ?

हो, मेरा बारे केही षड्यन्त्र हुन पुग्यो । पार्टीमा मौलाएको गुटबन्दी, षड्यन्त्र र जालझेलले त्यस्तो भएको हो । तर पनि पार्टीले मलाई प्रदेशप्रमुख बनाएको छ । पार्टीले देखाएको विश्वासप्रति म सन्तुष्ट छु । मुख्यमन्त्री बन्न पाइनँ भन्ने गुनासो छैन । राष्ट्रिय सभामा सदस्य भएकी छु । दुईपटक मन्त्री भएँ । प्रतिनिधिसभा र संविधानसभामा सदस्य भइसकेकी मान्छे हुँ । सधैं अवसर एउटैले पाउनुपर्छ भन्दिनँ । मुख्यमन्त्री बन्ने सवालमा षड्यन्त्र नगरिएको भए हुन्थ्यो । दोहोर्‍याएर भन्छु, केहीले मेरा बारेमा षड्यन्त्र गर्नुभयो । त्यसैको सिकार हुन पुगेँ ।

पति (अमृत बोहरा) पनि पार्टीमा सक्रिय हुनुहुन्छ । दुबैजना पटकपटक मन्त्री भइसक्नुभयो । तर पनि दुवै जना सार्वजनिक सवारीमा यात्रा गर्नुहुन्छ । यस्तो सादा जीवनयापन निष्ठा हो कि देखावटी ?

हामी दुवै पञ्चायत कालमा राजनीतिमा लागेका हौं । म काठमाडौंको हुनेखाने परिवारकी सन्तान हुँ । ०२७ सालदेखि पार्टीमा लागेँ । ०३६ सालबाट नेतृत्व तहको जिम्मेवारीमा पुगेँ । घरको सम्पन्नता त्यागेर लागेको हुनाले अहिले पनि त्यही निष्ठा र आदर्शमा अडिग छु । उहाँ पनि पार्टीको होलटाइमर भएकाले भूमिगत कालमा दुई सन्तानलाई चाहेजति रेखदेख र माया–स्नेह दिन सकेनौं । तर जनतालाई सचेत गराएकाले ०४६ सालमा बहुदल त आयो नि भनेर सन्तोष मान्ने गरेको छौं । त्यही जगमा अहिले गणतन्त्र आएको छ ।

सुरुमा मेरो राजनीति नस्विकारेको मेरो माइती पक्षले पछि मलाई स्याबासी गर्न लाग्यो । निष्ठाबाट विचलित होली कि भनेर बुबाले नै खबरदारी गर्न लाग्नुभयो । अभावमा बाँच्दा आदर्श र निष्ठामा विचलन आउला भनेर घर बनाउने बन्दोबस्ती गरिदिनुभयो । अहिले पनि त्यही घरमा बस्छौं । अमृत कमरेड पनि निष्ठामा बाँच्ने मानिस हो । त्यसैले हाम्रो आदर्शमा विचलन आएको छैन ।

सन्तान अध्ययन पश्चात् आ–आफ्नो पेसा–व्यवसायमा लागेका छन् । त्यसैले अहिलेसम्म दायाँबायाँ गर्नुपरेको छैन । सार्वजनिक सवारीसाधनमा हिँड्छौं । पटक–पटक मन्त्री भयौं, चाहेको भए अरूले जसरी धन आर्जन गरेर निजी सवारीसाधन चढ्थ्याैं होला ।  तर त्यो भावना कहिल्यै आएन । अब पनि आउनेछैन । पार्टीको जीवनबाट रिटायर्ड हुने कि भन्ने सोच पनि आउँदै छ । तर साथीहरूले ७० वर्षसम्म त गर्नुपर्छ भन्नुभएकाले अझै ५ वर्ष पार्टीमा सक्रिय हुन्छु । अहिलेसम्मको निष्ठा, आदर्श र जनताको विश्वास मर्न दिनेछैन ।

केही दिनअघि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मनाउनुभएको ‘बर्थडे’को चर्चा सेलाएको छैन । अर्का नेता सुवास नेम्वाङले पनि हालै सामाजिक सञ्जालमा ‘लाइभ’ गरेर भव्यतापूर्वक बर्थडे मनाउनुभयो नि ?

अरूले के गर्नुहुन्छ भन्नेमा हामी दुवैलाई खासै चासो रहँदैन । त्यसैले हामीलाई पनि त्यही नजरले नहेर्न आग्रह छ । ‘बर्थडे’ मनाउनै नहुने भन्ने होइन । सरल तरिकाबाट पनि मनाउन सकिन्छ । त्यसरी मनाउन सकियोस् जसले आदर्श र निष्ठाको जीवन बाँचेकाहरूलाई सार्वजनिक जिज्ञासा नहोस् । ‘सादा जीवन, उच्च विचार’ कायम गरेर जिउन सकियोस् । त्यसभन्दा ठूलो अपेक्षा छैन । कम्युनिस्ट पार्टीका नेताहरूमा यति बेला सांस्कृतिक विचलन आएको छ । त्यो दुःखद हो । तर कसैको नाम लिएर उहाँहरूको व्यक्तिगत जीवनबारे कुनै टीकाटिप्पणी गर्न चाहन्नँ ।

जिम्मेवार नेताले नै पार्टीको आचारसंहिता उल्लंघन गरिरहेपछि कसरी कार्यान्वयन हुन सक्ला ?

तपाईंले प्रधानमन्त्रीज्यूको ‘बर्थडे’ को कुरा गर्नुभएको होला । त्यसप्रति मैले यसअघि नै आपत्ति प्रकट गरेकी छु । पार्टीले बनाएको संहिता अध्यक्षले नै नमानेपछि अरूले झन् कसरी गर्ने, अनुशासन पालना नगरी कसरी चल्छ पार्टी, आचारसंहिताकै धज्जी उठाएर कसरी परिवर्तनको अनुभूति गराउन सकिन्छ,बाेलेर मात्र ।

वामदेव गौतमका सवालमा पार्टीको निर्णय कार्यान्वयन नगरेर प्रधानमन्त्रीले धोका दिएको गुनासो छ नि ?

पार्टी सचिवालयले मात्र गरेको निर्णयलाई कसरी पार्टीको मान्नु ? पार्टीमा केन्द्रीय कमिटी, स्थायी कमिटी पनि छन्, तिनमा छलफल नगरी सोझै सचिवालयमा लगिएको छ । अर्काे कुरा, वामदेव कमरेडलाई राष्ट्रिय सभामा लैजान नमिल्ने होइन । उहाँ त्यहाँ लैजान लायक पनि हुनुहुन्छ । तर व्यक्तिकेन्द्रित भएर संविधान नै संशोधन गर्ने सवालमा मेरो सहमति छैन । संविधानमै नभएको कुरा व्यक्तिका सन्दर्भमा लागू हुँदैन । नेकपाको शीर्ष नेताले व्यक्तिकेन्द्रित भएर बेठिक निर्णय गर्न सुहाउँदैन ।

प्रस्तुती–विमल खड्का /सञ्जय पन्थी 

प्रतिक्रिया दिनुहोस्