सरकारको निर्णयलाई बेवास्ता गरेर बिहीबार परीक्षा सञचालन गरेको त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखिका सबै पठन–पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले पठनपाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले जानकारी गराएका छन् । चैत ७ गतेपछि हुने त्रिविका सबै संकाय र सबै तहका परीक्षा स्थगन गरिएको उनले बताए । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले बिहीबारदेखि हुने एसईई पनि स्थगित गर्ने निर्णय गरेको थियो ।
हिजो मात्रै कोराना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना संक्रमणको जोखिम हुने भन्दै एक ठाउँमा २५ जनाभन्दा बढी मानिसको भेला हुन प्रतिबन्ध लगाएको छ । मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
















































































































































































