
बेल्जियमबाट बागलुङ आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले चैत्र ४ गते कतार एयरवेजबाट आएकी ६६ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो । बागलुङ नगरपालिका वडा नं ३ गौडाकोट घर भएकी महिला परिवारसँग होम क्वारेन्टाइनमा थिइन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा विहिबार भएको आकस्मिक बैठकले संक्रमित महिलालाई धौलागिरि अंचल अस्पतालमा राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुडको प्रशासकिय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।
विहिबार प्रशासनले संक्रमित महिलालाई अस्पतालसम्म नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सको व्यवस्था गरे पनि चालक सम्पर्कमा नआएपछि नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सको गाडी जिल्ला स्वास्थ्य कार्यालयको चालक रुद्र पराजुलीले चलाएर राति १० .२५ बजे अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य प्रमुख सुरज गुरौले जानकारी दिए ।
चैत्र १८ गते धौलागिरि अंचल अस्पतालले संक्रमित महिलासहित १० जनाको स्वाब नमुना परीक्षणको लागि काठमाडौं पठाएको थियो ।यससँगै अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।
यसभन्दा अघि चैत्र ४ गते बेल्जियमबाट नेपाल आएकी बागलुङ नगरपालिका वडा नं ४ कुँडुले, छाप घर भएकी १९ वर्षीया युवतीको दोस्रो पटकको स्वाब परीक्षण पनि पोजिटभ आएको धौलागिरि अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोख्रेलले जानकारी दिएका छन ।