कोपनहेगन — सधैं हतारहतार कुदिरहने मान्छेको दैनिकीमा टक्क ब्रेक लागेको छ। न कहिल्यै बन्द हड्ताल हन्थ्यो, न कहिल्यै बिजुली जान्थ्यो । न त रोकिन्थ्यो कसैको काम । तर, यसपालि यहाँका कसैले मात्रै होइन विश्वले नै नसोचेको भयो । मान्छेको दैनिकीमा टक्क ब्रेक लाग्यो एक्कासी ।

बिहान बेलुकाको छाक पनि घरमा नखाने बरु रेस्टुरेन्ट जानेहरु अहिले पिँजडाको सुँगा भएका छन्।संसारकै सबैभन्दा धेरै खुसी मानिस बस्ने देशको सूचीमा दोस्रो नम्बरमा आउने ठाउँमा आज खुसी पनि हराएको छ। हो, यही डेनमार्कको कोपनहेगनमा म करिब ५ वर्षदेखि छु। र, संसारले भोगिरहेको कोरोना भाइरसको कहरको एक भुक्तभोगी एवं साक्षी भइरहेको छु।
यहाँ २ सातादेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द छन्। बाहिर निस्कन पनि त्रासको ठूलो पर्खाल ठडिएको छ। के रैथाने, के आप्रवासी दुवैको अवस्था समान भएको छ। हिजो आप्रबासीहरुसँग त्यसै दुरी कायम गर्ने रैथाने वर्गलाई अहिले आप्रबासीले समेत त्यस्तै व्यवहार गर्नुपरेको छ, सपिङमा देखिए, भेटिए। आफ्नैसँग त दुरी राख्नुपर्ने बाध्यता ती रैथाने र हामी आप्रबासी सबैलाई भइगएको छ।
यो लेख्न बसिरहँदा बेचैन र अशान्त मन जो छ। जिन्दगी आफ्नै गतिमा चलिरहेको थियो। एकनासको दैनिकीले लय पक्रेको थियो। बिहान उठ्यो २ वर्ष पुगेकी छोरीसँग केही खेल्यो। ब्रेकफास्ट गरेपछि छोरीलाई डे-केयर पुर्यायो अनि काममा गयो।
दिउँसो मीराजी (श्रीमती) ले छोरी घर लिने अनि खुवाउने र खेलाउने अनि राति आफू आएर खाना खायो रेस्ट गर्यो। यसो भनौं दोडधुपमै चलिरको थियो जिन्दगी। आफ्नो देशमा जस्तो परदेशमा सुख र खुसी भन्ने त हुने कुरै भएन। विकइन्डमा साथीभाइसँग भेट्ने यसो घुम्न जाने यसैगरी चलिरहन्छ। यस्तै किसिमको दैनिकी म लगायत धेरै परदेशीको हुन्छ।
मार्च १६ तारिखबाट दैनिकीमा पूर्णबिराम लागेको छ अर्थात डेनमार्क लकडाउन छ। यो १३ अप्रिलसम्म हुनेछ। त्यसपछि के हुने हो? थाहा छैन।डेनमार्क राजतन्त्रात्मक मुलुक हो। तर यहाँ बसका यी झन्डै ५ वर्षमा त्यसको आभास कहिल्यै गर्न पाइएको होइन। राजा को हो, रानी को हो? युवराज को हो? केही थाहा नहुने।
किनभने हाम्रो राष्ट्रपतिको समाचार आइरहेजस्तो यहाँ समाचार आएन। राजपरिवारका सदस्य नै हाम्रा राष्ट्र प्रमुखजस्तो सार्वजनिक भइरहने वा सार्वजनिक कार्यक्रममा गइरहने हुँदो रहेनछ।
डेनमार्ककी महारानीको समाचारै यहाँ आएको झन्डै ५ वर्षमा सुन्न पाइयो। त्यो अवसर कोरोनाले जुरायो। महारानी मार्गरेटले १७ मार्चमा देशबासीलाई सम्बोधन गरिन्। सबै एकजुट भएर कोरोनाविरुद्ध लड्न उनको अपिल थियो। यहाँका युवराज फ्रेडरिक केही वर्षअघि नेपाल भ्रमणमा गएका थिए, तसर्थ उनको नाम नेपालीका लागि नौलो रहेन।
महारानीको सम्बोधन अघि प्रधानमन्त्री मेट्टे फ्रेर्डिक्सनले लकडाउन घोषणा गरेकी थिइन्। घोषणा हुँदा साथ पसल १/२ दिन मानिसको भीडले भरिए। एसियाली मूलका खाद्यान्न जोहो गर्न लागे। डेनिसहरुले ट्वाइलेट पेपर तथा डिसइन्फेक्सनलगायत सामान भण्डारण गरे। अझै खाद्यान्न पसलमा खानाका सामान कम भएको छैन, सजिलै पाइन्छ।
प्रधानमन्त्रीले हप्तैपिच्छेजस्तो पत्रकार सम्मेलन गरिरहेकी छन्। सरकारले नयाँ योजना पनि ल्याइरहेको छ। ३० मार्च सोमबार साँझ पनि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री मेट्टेले अनुशासनपूर्वक र कडाइका साथ नियमहरु पालना गर्न नागरिकलाई फेरि अनुरोध गरेकी छन्।
परदेशमा भएका मजस्ता नागरिकको मन यतिबेला भतभती पोलिरहेको छ। आफू रहेको देशमा कतिबेला के हुने हो भन्ने त डर छँदैछ, उता नेपालमा रहेका ममीबाबा, आफन्त, नातागाता, जापानमा भएको भाइ र विश्वमा छरिएका आफ्ना तथा नेपालीमा के हुने हो चिन्ता पनि उत्तिकै छ। यस्तो बेलामा मनभरी अत्यासमात्र छुट्दो रहेछ। यस्तो विषम परिस्थितिमा दोहोरो चिन्तामा तड्पिरहेका छौं प्रवासी नेपालीहरु।
झन्डै ६० लाखमात्र जनसंख्या भएको यो सानो देशमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ। स्पेन र इटालीबाट आएका मानिसबाट भाइरस सरेको बताइन्छ बुधबार दिउँसो १२ बजेसम्म २८६० जनामा कोरोना पोजेटिभ देखिएको छ भने ९० जनाको ज्यान गएको छ। हालसम्म २४१७५ व्यक्तिमा जाँच गरिएको बताइएको छ।
एक नेपालीलाई पनि कोरोनाको संक्रमण सरेको हल्ला छ तर आधिकारिक तथा स्वतन्त्र रुपमा पुष्टि हुन अहिलेसम्म सकेको छैन। डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले डेनमार्क र नोर्डिक क्षेत्रका देशमा रहेका नेपालीहरु सुरक्षित रहेको बताए। अहिलेसम्म नेपालीमा संक्रमण सरेको जानकारी नभएको उनको भनाइ छ। नोर्डिक क्षेत्रमा डेनमार्क, नर्वे, स्विडेन र फिनल्यान्ड देश पर्छन्।
दैनिक रुपमा उल्लेख्य मात्रमा कोरोनाको परीक्षण हुन नसकेको भनेर विश्व स्वास्थ्य संगठनले र अन्य निकायले डेनमार्क सरकारको आलोचना गरेपछी झन्डै १५ सयबाट बढाएर अबबाट दैनिक ५ हजारसम्मको जाँच गरिने बताइएको छ।
सकसमा नयाँ विद्यार्थी
डेनमार्कमा यतिबेला सबै चीज ठप्प छ। कामकाज सबै बन्द छ। अति आवश्यक केही काम भने चलिरहेका छन्। खाद्यान्न र औषधि पसलमात्र खुला छन्। अरु पसल तथा बजार पूरै बन्द छ। यातायातका साधनहरु भने पातलै भए पनि नियमित रुपमा चलेका छन्। लकडाउनको मारमा आम मानिस परेका छन्। डेनमार्कमा करिब ५ हजारको संख्यामा नेपाली छन्। यो संख्या विद्यार्थी, विद्यार्थीपछि स्थायी बसोबास, ग्रीन कार्ड(अहिले बन्द) तथा अन्य देशबाट आएका नेपाली गरि जम्मा हुन्।
अहिले नयाँ आउने विद्यार्थीलाई सबैभन्दा बढी समस्या परेको छ। अध्ययनका लागि फेब्रअरी इन्टेकका लागि झन्डै १०० जना नेपाली विद्यार्थी डेनमार्कका विभिन्न युनिभर्सिटी तथा कलेजमा आएको बताइन्छ। आउँदा बित्तिकै यस्तो समस्यामा उनीहरु फँसेका छन्। बाहिरी वातावरण जान्न बु्झ्न नपाउँदै कोठाभित्र गुम्सनु परेको छ।
लाखौं रुपैयाँ खर्च गरेर पढ्न र कमाउन आएका उनीहरुको सपनामा कोरोना भयानक आँधी बनेर आएको छ। सीमित खर्च लिएर आउने विद्यार्थीहरुलाई दैनिक खाना बस्न समस्या पर्ने देखिन्छ। त्यसैले केही दिनअघि एनआरएन डेनमार्कले यहाँका सबै संघसंस्था समेटी सहयोग गर्न टास्कफोर्स बनाएको छ।
एनआरएनए डेनमार्कका अध्यक्ष रवीन्द्र खड्काले समस्यामा परेका ५० जना विद्यार्थीलाई केही हप्तालाई पुग्ने रासन वितरण गरेको जानकारी दिए। ‘भर्खरै नेपालबाट आएका विद्यार्थीहरुलाई अलि समस्या देखियो अनि पहिलो चरणमा केही हप्तालाई पुग्ने खाद्यान्न प्रदान गरेका हौं,’ उनले भने।
विद्यार्थीहरु नेपाली परिवारसँगै बस्ने हुनाले समस्या सबैलाई थाहा भएकाले तत्काललाई बस्न भने समस्या नहुने बताइन्छ। सरोकार राख्ने नेपाली संघसंस्थाका व्यक्तिहरुले पनि नेपाली समुदायलाई लकडाउन पूर्ण रुपमा लागु गराउन सामाजिक सञ्जाल तथा फोनबाट अनुरोध गरेका छन्।
डेनिस सरकारले आम मानिसलाई सहयोग पुर्याउन भनेर आर्थिक प्याकेज घोषणा गरेको छ। निजी कम्पनीका कामदारलाई सरकारले ७५ प्रतिशत र रोजगारदाता कम्पनीले २५ प्रतिशत तलब दिनुपर्ने नीति लिएको छ।
आर्थिक भारका कारण निजी कम्पनीलाई तत्काल कामदार निस्कासन नगर्न सरकारले निर्देशन दिएको सत्तारुढ दल सोसियल डेमोक्र्याटका स्थानीय नेता तथा नेपाली समुदायका अभियन्ता हरि न्यौपाने बताउँछन्। ‘राज्यले कोरोनाविरुद्ध जुध्न आर्थिक प्याकेज घोषणा गरेको छ, कामदार ननिकाल्न निजी कम्पनीलाई निर्देशन दिएको छ,’ उनले भने।
यहाँका नेपालीहरु धेरै सेवा क्षेत्रमा काम गर्छन्। होटल, रेस्टुरेन्ट तथा सफाइमा काम गर्छन्। ती क्षेत्रहरु बन्द हुँदा धेरैको कामकाज ठप्प छ। अब यो कोरोना भाइरसको प्रकोप घटे पनि सेवा क्षेत्रमा भने लामो समयसम्म असर पुर्याउने निश्चित छ। जसको प्रत्यक्ष असर यस क्षेत्रमा काम गर्नेको जीवनमा सिधै पर्ने छ।
यसरी अहिलेको यो जटिल लकडाउनको परिस्थितिबाट उम्कने कहिले होला? भन्ने मनमा कुरा खेल्दाखेल्दै भोलिका दिन अर्थात भविष्य पनि चम्किलो नदेखिँदा मनमा केही चिसो अनायासै पस्ने गरेको छ, म र म जस्ता परदेशीमा। जससँग जोडिएको छ मेरो देश नेपाल पनि, किनकी रेमिट्यान्सको योगदानले नै देशको आर्थिक जीवन चलायमान छ नि त !



















































































































































































































