१ जेष्ठ २०८२, बिहीबार

 

‘अश्वेतको जीवनले अर्थ राख्छ’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका विभिन्न सहरमा भइरहेको दङ्गा र लुटपाट अन्त्यका लागि सेना परिचालन गर्ने बताएका छन् । प्रहरी हिरासतमा अफ्रिकी अमेरिकी व्यक्ति जोर्ज फ्लोइडको मृत्युलाई लिएर देशभर प्रदर्शन भइरहेको छ ।

‘दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो प्रयास गर्छु,’ उनले भने ।

ट्रम्पले हिंसात्मक प्रदर्शनहरू नियन्त्रणमा लिन सम्बद्ध राज्यका गभर्नरहरूलाई आह्वानसमेत गरेका छन्। यस मामिलामा गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको उनको भनाइ छ ।

फ्लोइडकै मृत्युलाई लिएर लण्डनस्थित अमेरिकी राजदूतावासबाहिर पनि करिब एक हजार मानिसहरूले र्‍याली निकालेका छन्।उक्त र्‍यालीमा भाग लिने धेरैले ब्ल्याक लाइभ्स म्याटरू अर्थात् ,’अश्वेतको जीवनले अर्थ राख्छ,’ भन्दै नारा लगाएका छन्।बर्लिनस्थित अमेरिकी राजदूतावासबाहिर दोस्रो दिन पनि सयौँ प्रदर्शनकारीहरू भेला भएका छन्।

यसैबीच न्युयोर्कका गभर्नर एन्ड्र्यू कोमोले हिंसा हुन नदिन भन्दै मंगलबार राति ११ बजेबाट कर्फ्यु घोषणा गरेका थिए । फ्लोइडको मृत्युका कारण केही युरोपेली देशमा पनि विरोध प्रदर्शन भइरहेको छन्। स्पेनको बार्सिलोनाबाहेक ब्रिटेन र बर्लिनस्थित अमेरिकी दूतावासबाहिर पनि मानिसहरूले प्रहरीको दमनलाई लिएर विरोध प्रदर्शन गरिरहेका छन्।

प्रहरीले घुँडाले थिच्दा फ्लोइडको हत्या अक्सिजनको कमीका कारण भएको एउटा निजी पोस्टमार्टम परीक्षणले पत्ता लगाएको छ। फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेका कारण भएको बताएका हुन् ।

उक्त परीक्षणमा देखिएको कुरा प्रारम्भिक रूपमा देशका स्वास्थ्य परीक्षकले पत्ता लगाएका कारणभन्दा फरक देखिएको छ । पहिला गरिएको परीक्षणमा ‘अक्सिजनको कमी वा घाँटी दबाएका कारण’ भन्ने प्रमाण पत्ता नलागेको बताइएको थियो ।

सरकारी ती अधिकारीले फ्लोइडको हत्या हुनमा उनको पहिल्यैदेखिको स्वास्थ्य अवस्था कारण रहेको बताएका थिए । तर फ्लोइडको परिवारले राखेका दुई चिकित्सकले भने मृत्यु नभई हत्या भएको जनाएको कानुनी टोलीले विज्ञप्तिमा उल्लेख गरेको छ।

‘फ्लोइडको मृत्युको घटनाले अमेरिकाभर अशान्त अवस्था बनाएको छ, ’न्युयोर्कका पूर्वपरीक्षक डा माइकल बाडेनले पत्रकार सम्मेलनमा भने, ‘मेरो विचारमा हत्या घाँटीमा दबाइएकाले भएको हो । त्यसले अक्सिजनलाई दिमागमा जान रोक्छ र ढाडमा दबाउँदा सास फेर्न गाह्रो हुन्छ।’

एक साताअघि सार्वजनिक भिडिओमा प्रहरीले जोर्ज फ्लोइडले सास फेर्न गाह्रो भयो भनेर अनुरोध गर्दा पनि गर्दनमा निरन्तर घुँडाले थिचिरहेको देखिन्छ। अमेरिकाका विभिन्न सहरमा सातादेखि प्रदर्शन भइरहेका छन् ।

देशभरका २० भन्दा बढी राज्यमा कर्फ्यू लगाइएको छ। मिनियापुलिसमा फ्लोइड मारिएकै ठाउँमा प्रदर्शनकारीहरू जम्मा भएका छन् । वासिङटनमा ह्वाइट हाउसनजिकै प्रदर्शनकारीलाई रोक्न दङ्गा प्रहरी खटिएका छन् ।

भिड नियन्त्रण गर्न अमेरिकाभर ५ हजारभन्दा बढी नेसनल गार्डका सदस्य परिचालन गरिएको छ। दोस्रो विश्वयुद्धयता यसरी नेसनल गार्ड परिचालन गरिएको यो पहिलोपटक हो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हिंसात्मक प्रदर्शन भइरहेका बेला एन्टिफासिस्ट मुभमेन्ट एन्टिफालाई आतंकवादी संगठन भनेका छन् ।

ट्रम्प र उनका महान्यायाधिवक्ता विलियम बारले पछिल्ला केही दिन दङ्गामा अराजकता देखिएको र त्यसका लागि वामपन्थी समूहहरू दोषी रहेको आरोप दोहोर्याएका छन्। एन्टिफा आधिकारिक सङ्गठन भने होइन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung