५ जेष्ठ २०८१, शनिबार

 

असार १५ बाट होटल र १७ बाट आन्तरिक उडान खोल्ने सरकारको तयारी

सरकारले असार १५ बाट होटल व्यवसाय खोल्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसका लागि आवश्यक मोडालिटी तयार पार्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सुझाव दिएको छ ।

चमेनागृह, चियापसल र रेस्टुरेन्टहरूलाई सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न दिनुपर्ने पर्यटन मन्त्रालयको जोड छ ।त्यस्तै १७ गतेबाट आन्तरिक उडान र भदौ १ देखि अन्तर्राष्ट्रिय उडान खुला गर्न पनि मन्त्रालयले सुझाएको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने मापदण्ड बनाउन उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो । सोहीअनुरूप पर्यटन मन्त्रालयले होटल र हवाई सेवा खोल्न प्रस्ताव गरेको हो ।

सामाजिक दूरी कायम राख्न त्रिभुवन अन्तर्राष्ट्रियसहित सबै विमानस्थलमा मार्किङ गरिएको छ । आवश्यक सुरक्षा तयारीसमेत पूरा भएकोले सरकारले निर्णय गर्नेबित्तिकै उडान गर्न सकिने मन्त्रालयले जनाएको छ ।आन्तरिक उडान खुला गर्ने विषयमा प्राधिकरणले वायुसेवा सञ्चालकबीच छलफल तीव्र पारेको छ ।

प्राधिकरणले अहिले एउटा जहाजमा ४० प्रतिशत मात्र यात्रुलाई एक पटकमा उडान गर्न प्रस्ताव राखेको छ । तर, वायुसेवा सञ्चालकले यो विषयमा असन्तुष्टि जनाउँदै सामाजिक दूरी कायम गरेर सञ्चालन गर्ने बताउँदै आएका छन् ।

प्राधिकरणले विमानस्थलमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डहरू र एयरलाइन्सहरूले पनि निर्देशिका बनाइसकेका छन् । निर्देशिकाअनुसार जहाजमा अनिवार्य मास्क लगाउनुपर्ने, ज्वरो र रुघाखोकी लागेकालाई यात्रा नगराउने उल्लेख छ । यस्तै जहाजमा शौचालय बन्द गरिएको छ भने पानी पनि नदिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्