४ श्रावण २०८३, सोमबार

 

असार १ देखि सेयर बजार खोल्ने तयारी

धितोपत्र बोर्ड असार १ देखि सेयर बजार खोल्ने तयारीमा जुटेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण सरकारले जेठ ३२ सम्म लकडाउन गरेको छ । तर यसबीचमा लकडाउन केही खुकुलो बन्दै गएपछि बोर्ड बजार खोल्नेतर्फ जुटेको हो ।

तर, कुन मोडलमा बजार खोल्ने भन्ने अझै निर्णय हुन सकेको छैन । यसको लागि नेपाल स्टक एक्सचेन्ज नेप्से, मर्चेन्ट बैंक, ब्रोकर एसोसिएसन र लगानीकर्तासँग छलफल गरिने बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । ‘हामी सबैसँग शनिबार वा आइतबार आवश्यक छलफल गर्छौं, अब बजार नखुलेर हुँदैन,’ उनले भने ।

यसअघि वैशाख ३० र ३१ गते दुई दिन बजार खुलेको थियो । त्यस बेला दैनिक २ घन्टा ९ देखि १ बजेसम्म कारोबार भएको थियो ।

लकडाउनको बीचमा खुलेको बजारमा प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टि गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुने व्यवस्था गरी समग्र दिनको ३ प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्न नेप्सेलाई बोर्डले निर्देशन दिएको थियो ।

यस्तै नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्न निर्देशन दिएको थियो । दुई दिनको कारोबार सोही अनुसार नै भएको थियो ।

तर अब पुरानै मोडल अर्थात् लकडाउन हुनुअगावैको मोडलमा बजार खोल्नुपर्ने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । अब खुलेको बजारमा ५ घण्टालाई घटाएर ३ वा ४ घण्टा कायम गर्न सकिने भए पनि अन्य व्यवस्था परिवर्तन गर्न नहुने उनको सुझाव छ । ‘हामी पनि अहिलेको समयलाई ३ वा ४ घन्टा कायम गर्न आग्रह गर्छौं,’ उनले भने, ‘अरु कुरा यथावत राखेर नै बजार खोल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung