११ कार्तिक २०८३, मंगलवार

 

कोरोनामा खोइ कहाँ छ सरकार ?

कोरोना भाइरसको महामारी हुनेखानेभन्दा हुँदा खाने वर्गलाई विपत्तिको क्षण बन्न पुग्यो । त्यसैमा पराई भूमिमा पसिना बगाएर आएका दाजुभाइ तथा दिदीबहिनीलाई झनै कष्टकर बन्न पुग्यो ।

सरकारले लकडाउन गरे पनि पराई भूमिबाट केही जन्मभूमि फर्की आए, केही आउने तयारीमा छन् । यही अवस्थामा सीमापारि भारतबाट आएका नागरिक स्थानीय तहका क्वारेन्टिनमा छन् । क्वारेन्टिनमा बसिरहेका बेला कोही बलात्कारको सिकार हुनुपरेको छ । कोही आत्महत्या गर्न बाध्य भएका छन् ।

पछिल्लो पटक अर्घाखाँचीको शीतगंगा नगरपालिकामा क्वारेन्टिनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन् । कोरोनाको आरडीटीमा उनको रिपोर्ट पोजिटिभ आएको थियो । जेठ १० गते भारतबाट आएका उनको स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी गरिएको थियो । स्वाबको पीसीआर परीक्षणका लागि नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छ । तर रिपोर्ट अझै आएको छैन ।

यो समाचारले हाम्रो सरकार आफ्ना नागरिकको स्वास्थ्यप्रति कति सचेत छ भन्ने जानकारी हुन्छ । महामारीको उद्भवस्थल चीनको वुहानबाट उद्धार गरी ल्याइएका नागरिकलाई फाइभ स्टार होटलको सुविधा दिए पनि सीमापारिबाट आउने नागरिकका लागि सामान्य सुविधासमेत प्रबन्ध गर्न नसक्दा असुरक्षित छन् । क्वारेन्टिनमा रहँदा बलात्कार र मृत्यु हुनु भनेको ग्यास च्याम्बरमा हालेर मार्नुसरह हो ।
सरकार, यस्तै बेलामा नै हो जिम्मेवारी देखाउनुपर्ने ।

जति बेला जर्मनीका नाजी शासक हिटलरले आफ्ना विरोधी यहुदीहरूलाई ग्यास च्याम्बरमा हालेर सामूहिक हत्या गरे, उनी इतिहासकै क्रूर शासकका रूपमा चित्रित छन् ।

हामीकहाँ पनि सरकार जनताको जीउधनबारे सचेत छ भनिरहँदा, नागरिकले सरकारको नियम पालना गरिरहँदा पनि ऊ मृत्युका लागि प्रेरित हुनु भनेको शासन व्यवस्था अधिनायकत्वतर्फ उत्प्रेरित छ भन्ने संकेत हो ।

क्वारेन्टिनमा बसेका नागरिकको मृत्युपछि स्वाब परीक्षण हुनु, आत्महत्या गर्न बाध्य हुनु, बलात्कारको सिकार हुनु । यस्ता घटनाले हाम्रो राज्य व्यवस्था र सरकार नागरिकको जीउधनप्रति कति संवेदनशील छन् भन्ने देखाउँछन् ।

कोराना संक्रमणका कारण मृत्यु भएका अधिकांश नागरिकको उपचार अभावमा मृत्यु भएको देखिन्छ । अहिलेसम्म मृत्यु भएकामध्ये १० जनाको ज्यान गएपछि स्वाब परीक्षण गरिएको स्वयं स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

एकातिर सरकार आफ्नो कार्यप्रणाली चुस्त र नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ भन्ने देखाउन उद्यत छ । अर्कातिर नागरिक सामान्य उपचार अभावमा मृत्युवरण गर्न बाध्य छन् । सरकारले यस अवधिमा खर्च गरेको भनिएको १० अर्ब रुपियाँ सकियो, पारदर्शिता छैन । अर्कातिर क्वारेन्टिनमा बसेका नागरिक सामान्य मनोपरामर्शको अभावमा आत्महत्या गर्न बाध्य छन् ।

क्वारेन्टिनमा बसेका गर्भवतीका लागि सामान्य स्याहार पनि पुग्न सकेको छैन । अबोध महिलाका लागि शान्ति–सुरक्षाको प्रत्याभूति हुन सकेको छैन । रोगीहरूका लागि उपचारको प्रबन्ध हुन सकेको छैन । यही अवस्थामा उपचार अभावमा ३० भन्दा धेरै सुत्केरी व्यथा लागेका महिलाले मृत्युवरण गर्नुपरेको छ ।

आत्महत्याका कारण मृत्यु हुनेको संख्या झनै भयावह छ । कारण पहिल्याउन न सरकारले चासो देखाउन सकेको छ न त स्थानीय जनप्रतिनिधिहरू जिम्मेवार छन् । यस्तो गैरजिम्मेवार शासन प्रणालीमा कसको भरोसा गर्ने र ?

अझै मध्यपूर्वका देशहरूमा रोजगारीमा गएका नेपालीजन ल्याउन सुरु नै गरिएको छैन । उनीहरूलाई ल्याएर पनि यही अवस्थामा राखिए भयावहता झनै बढ्ने सम्भावना छ । किनकि एकातिर घरपरिवारबाट बिछोडको पीडा एकातिर रहन्छ, अर्कातिर ऋणधन गरेर गएकाहरू आफूले सोचेजस्तो आर्जन गर्न नसकेर बीचमै स्वदेश फर्किनुपर्दा उनीहरूलाई परेको मार बाहिर व्यक्त हुन सक्दैन ।

अव्यक्त उनीहरूको पीडामा राज्यले मल्हम लगाउन सकेन भने अर्घाखाँचीका ती पुरुषले जस्तै जीवन समाप्तिको मार्ग नसमात्लान् भन्न सकिन्न । त्यसैले अहिलेको महामारीका कारण आइपर्ने चुनौतीका लागि सजगता अपनाउन आवश्यक छ । त्यो जिम्मेवारी सरकार, स्वास्थ्य मन्त्रालय, स्थानीय जनप्रतिनिधि र नागरिक समाजले सहकार्य गरेर आउन सक्ने भवितव्यबारे समाधान निकाल्न तयार हुनुपर्छ ।
अहिलेसम्मको जानकारीअनुसार करिब ३ लाख नेपाली मध्यपूर्वका देश र मलेसियाबाट फर्किन तमतयार छन् । उनीहरूलाई राख्न सरकारले २६ वटा होटलमा क्वारेन्टिनस्थल व्यवस्था गरे पनि उनीहरूको स्वास्थ्य परीक्षण कुन तरिकाबाट गर्ने भन्नेबारे स्पष्ट हुन सकेको छैन ।

उनीहरूलाई आफैं तिर्ने गरी राजधानीका होटलमा राखिए उनीहरूले उक्त खर्च गर्न सक्ने अवस्था रहन्छ वा रहँदैन, त्यसतर्फ पनि ध्यान जानु आवश्यक छ ।

अर्कातिर स्थानीय तहले अहिलेको भयावह अवस्थामा उनीहरूलाई स्थानीय क्वारेन्टिनमा राख्ने धृष्टता गरे तनाबको अवस्था आउन सक्छ । त्यसतर्फ पनि बेलैमा सोच्ने कि ? अर्घाखाँचीमा आत्महत्या गरेका पुरुष र कैलालीको क्वारेन्टिनमा बलात्कारमा परेकी महिलाको घटनाबाट सरकार र स्थानीय तहले पाठ सिक्ने कि ?

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung