फ्रान्समा दोस्रो विश्वयुद्धयता सर्वाधिक समय बन्द भएको आइफल टावर फेरि खुलेको छ। कोरोना संक्रमणसँगै लकडाउनका कारण उक्त विश्वप्रसिद्ध स्थान तीन महिना अघि बन्द गरिएको थियो ।
अहिले सीमित सङ्ख्यामा आगन्तुकलाई प्रवेश दिने गरी खोलिएको हो । त्यहाँ प्रवेश गर्दा ११ वर्षमाथिका सबैले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । जुलाई १ सम्म लिफ्ट नचलाइने भएकाले सबैले सिँढी प्रयोग गर्नुपर्नेछ।
सन् १८८९ मा निर्माण सम्पन्न भएको उक्त टावरमा प्रत्येक वर्ष ७० लाखभन्दा बढी मानिस जान्छन्। तीमध्ये तीन चौथाइ व्यक्ति विदेश हुने आइफल टावरको आधिकारिक वेबसाइटमा उल्लेख छ।
फ्रान्स कोरोना महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये एघारौँ स्थानमा छ। त्यहाँ जुन १५ मा राष्ट्रपतिले लकडाउनका बेला लगाइएका केही प्रतिबन्ध खुकुलो बनाउने घोषणा गरेका थिए।
अहिले त्यहाँ क्याफे र रेस्टुराँ खुलेका छन् भने युरोपभित्र यात्रा गर्न पाइन्छ। फ्रान्समा अहिलेसम्म झन्डै दुई लाख जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये २९ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्यांक जोन्स हप्किन्स युनिभर्सिटीले संकलन गरेको छ।













































































































































































































