६ जेष्ठ २०८१, आईतवार

 

भारतमा टिकटक प्रतिबन्धले लाखौं प्रयोगकर्ता स्तब्ध

भारतले टिकटकसहित दर्जनौँ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएपछि उनी स्तब्ध भइन्। आफूलाई गीत नामले चिनाउने उनी भारतका टिकटक स्टारमध्ये एक हुन्। पेसाले वकिल । उनी एक करोडभन्दा बढी फलोअरलाई तीनवटा च्यानलमार्फत‘अमेरिकी अंग्रेजी’ सिकाउनुका साथै सम्बन्धबारे सुझाव पनि दिन्छिन्।

एक वर्षयता गीतले आफ्नो खातामा करिब २०,२० सेकेन्डका दैनिक १५ वटा भिडियो पोस्ट गर्ने गरेकी छन्।आफूसँग सञ्चिति कम नहोस् भनेर मोबाइल र व्यावसायिक क्यामेराबाट उनी एक दिनमै १२० वटासम्म भिडियो तयार पार्छिन्।बाँकी दिन स्क्रिप्ट लेख्ने र भिडियो सम्पादनको काममा खर्चिन्छिन् ।

‘प्रतिबन्धबारे समाचार सुनेपछि मलाई विश्वास नै लागेन। यो त अहिले मेरो जीवनको अभिन्न अंग भइसकेको छ। यो त मेरो पूर्णकालीन जागिर भइसकेको छ,’ गीतले भनिन्।उनका फलोअर पनि दुःखी भएका छन्। एकजना लेख्छन्, ‘अब मैले कसरी अंगे्रजी सिक्ने होला?’अर्का फलोअरले लेखेका छन्, ‘अब मलाई कसले उत्प्रेरित गरिरहने होला?’भारतले ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएपछि लाखौँ प्रयोगकर्तास्तब्ध भएका छन्।

प्रतिबन्धमा परेका एपहरूमा विबो, विच्याट र युसी ब्राउजरलगायत छन्।भारतीय सरकारले ‘देशको सम्प्रभुता र सुरक्षाका लागि खतरा’ भएकाले ती एपमाथि प्रतिबन्ध लगाइएको जनाएको छ।

हालै लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सेनासँगको हिंसात्मक झडपमा २० भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेयर र एपहरू बहिष्कार गर्नुपर्ने आवाज उठ्दै आएको छ।भारतको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले भनेको छ, ‘भारतका करोडौँ मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताका डेटा सुरक्षा एवम् गोपनीयतालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।

’तर प्रतिबन्धका कदमबाट ‘निकै चिन्तित’ बनेको भन्दै निर्णयबारे पुनर्विचार गर्न बेइजिङले आग्रह गरेको छ।विज्ञहरूले भारतीय निर्णयलाई राजनीतिक कदम भन्दै दुई देशबीच बढ्दो तनावका रूपमा अथ्र्याएका छन्।

निकै लोकप्रिय टिकटकचाहिँ सबैभन्दा नराम्ररी प्रभावित एपमा परेको छ।सस्तो मोबाइल डाटा र युवा जनसंख्या बढी भएको पृष्ठभूमिमा विगत तीन वर्षमा भारतमा २० करोड प्रयोगकर्ता भएका छन्।टिकटकमा पढाउने लेखक तथा पडकास्टर अमित बर्मा भन्छन्, ‘यो अति नै चाखलाग्दो छ। प्रतिभा देखाउन नपाएका थुप्रै मान्छेले एउटा मञ्च पाएका छन्।

रचनात्मक क्षमता भएका धेरै मान्छे यहाँ छन्।’भारतमा जन्मिएर सियाटलमा हुर्के–बढेकी गीतले टिकटकमै जिन्दगी बन्छ भनेर कहिल्यै सोचेकी थिइनन्।इन्जिनियरिङ पढेकी गीत दिल्ली फर्कनुअघि ल फर्ममा काम गर्थिन्।

आफ्ना आमाबुबासँग सामाजिक कार्य गर्न दिल्ली फर्किइन्।उनले भनिन्, ‘मैले जे गर्थें त्यसको विस्तारित रूप टिकटक हो । एउटा भिडियोमार्फत म थुप्रै मानिसमाझ पुग्न र सहयोग गर्न सक्छु।’

टिकटकको माउ कम्पनी बाइटडान्सले ‘प्रयोगकर्ताहरूको सुरक्षा र समग्रमा भारतसँगको प्रतिबद्धताबारे कुरा गर्न तयार रहेको’ बीबीसीलाई बताएको छ।

टिकटकका भारत प्रमुख निखिल गान्धीले ‘पछिल्लो घटनाक्रमबारे धारणा राख्न र स्पष्टीकरणका लागि सम्बन्धित अधिकारीहरूबाट बोलावट भएको’ ट्विटरमा लेखेका छन्।अरू एप निर्माताहरूले प्रतिबन्धप्रति प्रतिक्रिया जनाइसकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्