४ जेष्ठ २०८१, शुक्रबार

 

मृगौलापीडितलाई गलकोट समाज जापानद्वारा २३ लाख रुपैयाँ सहयोग

गल्कोट नगरपालिका–६ चरौंदी स्थायी घर भई जापानको चिवा केनमा बस्दै आएकी मृगौलापीडित ४१ वर्षीया सीता उप्रेतीलाई गलकोट समाज जापानले आर्थिक सहयोग गरेको छ । समाजले उनलाई बुधबार कार्यक्रम आयोजना गरी २३ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

श्रीमान् यमबहादुर उप्रेतीसँग बस्दै आएकी उनी केही वर्षयता दुवै मृगौलाले काम गर्न छोडेपछि चिवाकेनस्थित कासिवा कोउसेई सोउगोउ ब्योइनमा भर्ना भई डाइलसिसका भरमा बाँचिरहेकी छन् । पारिवारिक आर्थिक स्थिति साह्रै कमजोर भएको भन्दै उनले सहयोगका लागि गल्कोट समाजलाई निवेदन दिएकी थिइन् ।

समाजले जापानमा छरिएर रहेका गल्कोटेसहित अन्य नेपाली समुदायबीच आर्थिक संकलन अभियान चलाई जुटाएको रकम संस्थाका अध्यक्ष दिलु खत्री, सचिव नवीन न्युरेसहितको टोलीले पीडितलाई हस्तान्तरण गरेको हो ।

समाज अध्यक्ष खत्रीले उप्रेतीको कमजोर आर्थिक स्थितिका कारण मृगौला प्रत्यारोपण गर्न मुस्किल परेकाले आर्थिक अभियान चलाइएको बताए । यो रकम उप्रेतीको मृगौला प्रत्यारोपणसहित छोराछोरीको पठनपाठन तथा भविष्य निर्माणमा खर्च गरिने समाजका महासचिव कृष्ण केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्