२६ बैशाख २०८१, बुधबार

 

कालापानीलाई भारतीय भूमि भन्दै ‘घुसपैठ’ रोकिदिन दार्चुला प्रशासनलाई भारतको पत्र

भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीहरू अवैध तरिकाले प्रवेश गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ ।ती क्षेत्र आफ्नो दाबी गर्दै नेपालीको प्रवेशमा रोक लगाउन भारतको धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले जिप्रका दार्चुलालाई आग्रह गरेका हुन् ।

भारतले पठाएको पत्रमा नेपाली गुट–समूह भारतको गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैधरूपले लुकीछिपी सीमा पार गरी आउने गरेको उल्लेख छ ।

‘जसबाट मिडियाको ध्यानाकर्षण गर्न सकियोस्, जसले दुवै देशको प्रशासनलाई हैरानी होस्,’ पत्रमा लेखिएको छ, ‘अनुरोध छ कि यस प्रकारको कुनै सूचना तपाईंहरूलाई प्राप्त भए त्यसको जानकारी तत्काल दिने कष्ट गर्नुहोला ।

’दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले टिंकर, छाङरु क्षेत्रमा सशस्त्र तथा नेपाली सेना पुगेदेखि चहलपहल बढेका कारण भारतले सशंकित भई पत्र पठाएको हुन सक्ने बताएका छन् ।

‘अहिले टिंकर, छाङरु क्षेत्रमा सशस्त्र, नेपाली सेना पुगेको छ जसकारण चहलपहल पनि बढेको छ । उताको मिडियाले त्यसैलाई आधार बनाई समाचारहरू लेखेपछि सशंकित भएको देखिन्छ,’ उनले भने, ‘कालापानी क्षेत्रमा भने कोही पुगेको देखिन्न ।’

भारतले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच विवाद सुरु भएको थियो । त्यसपछि नेपालले पनि कालापानी, लिम्पियाधुरा समेटेर जेठ ७ गते आफ्नो नयाँ नक्सा जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्