६ जेष्ठ २०८१, आईतवार

 

अमेरिकी प्रतिबन्धका बावजुद स्मार्टफोन बिक्रीमा हुवावेले सामसङलाई उछिन्यो

चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ। स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसङलाई पछि पार्दै पहिलोपटक नयाँ रेकर्ड बनाएको हो ।

अमेरिकी प्रतिबन्धको सामना गरिरहेको हुवावेले ५ करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ जबकि सामसङले यही अवधिमा ५ करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको क्यानालिसले जनाएको छ ।

अमेरिकी प्रतिबन्धका कारण हुवावेका मोबाइल सेटहरूको विदेशमा बिक्री घटे पनि चीनमा माग उच्च छ । हुवावेका सेटहरूमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेका छन् । क्यानालिसका अनुसार हुवावेका स्मार्टफोनको निर्यात दोस्रो त्रैमासिक अवधिमा झन्डै एक तिहाइले घटेको छ ।

क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र हुवावेलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रूपमा टिकाइराख्न नसक्ने चेतावनी दिएका छन्।

दूरसञ्चार नेटवर्किङ उपकरण उत्पादनमा वर्चस्व कायम गर्न थालेको हुवावेलाई लिएर अमेरिका र चीनबीच विवाद पनि बढेको छ । अमेरिकाले हुवावेका कारण विश्वमै साइबर सुरक्षामा चुनौती खडा हुने चेतावनी दिँदै आएको छ ।

अमेरिकाले हालै मात्र हुवावेलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ भने यस कम्पनीलाई एक्ल्याउन विश्वव्यापी अभियान नै सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्